काठमाडौँ/नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाले यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार’ अङ्ग्रेजी समाचार सहसम्पादक पवित्रा गुरागाईं र वरिष्ठ समाचार सम्पादन सहायक रेशमा शाक्यलाई प्रदान गर्ने भएको छ ।
शाखाको आज बसेको बैठकले राससको ६५औँ वार्षिकोत्सवका अवसरमा जनही रु १० हजार राशि र सम्मानपत्रसहितको पुरस्कार उहाँहरूलाई प्रदान गर्ने निर्णय गरेको शाखा अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सहसम्पादक गुरागाईं राससमा आबद्ध भई विगत १८ वर्षदेखि अङ्ग्रेजी समाचार सम्पादनमा हुनुहुन्छ । शाक्य करिब तीन दशकदेखि समाचार उत्पादन सहयोगी भूमिकामा हुनुहुन्छ ।
त्यस्तै, शाखाले पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई ‘पूर्वकर्मचारी सम्मान’ प्रदान गर्ने भएको छ । उहाँ विगत तीन दशक राससमा आबद्ध भएर पत्रकारिताको क्षेत्रमा योगदान दिनुभएको छ ।
यस वर्षको ‘उमाकान्त गीतादेवी चन्द्रमणि स्मृति पुरस्कार’ नवलपुरका स्थानीय समाचारदाता टेकराज पोखरेललाई प्रदान गरिने भएको छ । रासस दाङ कार्यालयकी प्रमुख नारायणी रजौरेले आफ्ना माता, पिता र भाइका नाममा स्थापना गर्नुभएको सो पुरस्कारको राशि नगद रु पाँच हजार रहेको छ । पोखरेल विगत छ वर्षदेखि एजेन्सी पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
शाखाले राससको यही फागुन ७ गतेको आयोजना हुने वार्षिकोत्सव कार्यक्रमार्फत उहाँहरूलाई सम्मान र पुरस्कार प्रदान गर्दैछ ।