के हजुरलाई
थाहा थियो सरकार
हजुर कहिले जन्मनुहुन्थ्यो भनेर
आमाको राष्ट्रिय प्रेग्नेन्ट पेटभित्र
भ्रुण रहँदा
कति लात मार्नु भो
आमाको दुई जिउमा
बेस्सरी हजुरको लातको पीडा
थोरै महसुस हुन्छ कि सरकार ?
राखेर कलेजो नजिक दिनानुदिन
अड्याउदै धड्कनमा हजुरकै स्वास
खेलाएर आन्द्रासँग नौ महिना
बगाउँदै रगतसँग आफ्नो शरीरको
पीडामा आकाश हेरेर
बगाउँदै समुद्रको एक आमाशयबाट
उतार्नुभयो
धुमिल धर्तिको खैरो किनारामा
ती आमाको कलेजो नजिक
डेरा बसेको नौ महिनाको भाडा
आमाको केही सपनाहरूको सानो संसारको अपेक्षा
संसार देखाउन,संसार चिनाउन र संसार निर्माण गर्न
आमाले गर्नुभएको रगतको खर्च
ऋण हो कि फजुल हो सरकार ?
अब त हजुर ठूलो हुनु भो
र बन्नु भो विगत भन्दा बडा र मान्य
पढ्नुभा’छ राष्ट्रनिर्माणका ठेलिका ठेली पुस्तकहरू,
निकाल्नुभा’छ नयाँ राष्ट्रिय स्वरूपका स्ट्रीमेटहरू
र,बस्दै हुनुहुन्छ आगतमा सत्ताको थ्रोनमा
हजुरको बोलिमै मुहुनी, हजुरको भाषणमै मुहुनी
मधेसमा–अगणितीय मधेसी एजेन्डाहरू
तराईमा –थारुहटको एजेन्डाहरू
मुसहर वस्तिमा–मुसहरका एजेन्डाहरू
हिमाल पहाड तिर–आदिवासीका एजेन्डाहरू
भएन,चेपाङ वस्तिमा,चेपाङहरूकै एजेन्डा
कसरी सम्झनुहुन्छ यति धेरै एजेन्डाहरू
सम्बोधन गर्दै गर्दा यी एजेन्डाहरू
आमाको पनि कुनै एजेन्डा थियो कि भन्ने
सम्झना हुन्छ कि हुँदैन सरकार ?
यता वर्ग र जातीयताका एजेन्डाहरू,
उता पहिचान र संघीयताका एजेन्डाहरू,
हातमा –धर्म निरपेक्षता र संस्कृतिका एजेन्डाहरू ,
टाउकोमा –राष्ट्रियताको एजेन्डाहरू,
छातिमा–देश मानचित्रका एजेन्डाहरू,
घाँटीमा–समृद्ध सुखी नेपालका एजेन्डाहरू,
पेटमा–भ्रष्टाचार अन्त्यका एजेन्डाहरू,
नपुगेर खुट्टामा,बेरोजगारका एजेन्डाहरू,
आदि आदि यी एजेन्डाहरूको क्रमशमा
कैल्य पुर्णबिराम लाग्छ सरकार ?
सरकार
हजुर मोड्नु हुन्छ स्ट्यरिङ राष्ट्रको
जुन राष्ट्रको नेपाल बसमा
कहिँ कतै सुरक्षित छैनन आरक्षण सिटहरू
कहिले दस,कहिले बाह्र र कहिले पन्ध्र
यस्तो उमेरमै निमोठिइन्छन कोपिला बैनिहरू
कहिले निर्मला, कहिले सर्मिला त कहिले बिमला
अनि जताततै भेटिइन्छ्न कलिला लासहरू
कुनै नालिमा,कुनै गोठमा र कुनै उखुघारीमा
हुँदाहुँदा अब त सुरक्षित छैनन्
कुनै दुधे नानी र आमाहरू पनि
पिपाशुहरूलाई राज्यले घाँटी रेट्ने दण्ड कैल्य बनाउँछ
हजुरको प्रशासनले
अपराधीको खोज कि बचाऊँ गर्छ
हजुरको अदालतमा
पीडितलाई न्याय छ कि छैन सरकार ?
एकचोटि भनिदिनुस सरकार
के ती कोपिला बैनिहरूलाई
तिर्नु थिएन आमाको गर्भको भाडा
चुकाउनु थिएन आमाको रगतको मुल्य
अरु त तपशिल
हजुर खेल्नुहुन्छ राजनीति
पल्टाउनुहुन्छ तासको पत्ता झै सत्ता
पलट मारेर निस्कनु हुन्छ बादसाह
र,पहिरनुहुन्छ ताज सरकारको
अब,
हजुरबाट मुख्य एउटै प्रश्नको उत्तर चाहान्छु
सत्ता गर्भवती हुन्छ कि सरकार ?।।
साँझा वस्ती, खोटाङ