काठमाडौँ/सबै प्राणीप्रति करुणा र वनस्पति भोजनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘भिगन ग्यालरी’ आयोजना गरिएको छ ।
विश्व भिगन दिवसको सन्दर्भ पारेर एनिमल सेभ–नेपालले आज यहाँ बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको एकदिने कार्यक्रममा ४० भन्दा बढी पशुप्रेमी, अहिंसावादी अभियन्ता र कलाकारको सहभागिता रहेको थियो ।
काठमाडौँ एनिमल सेभका रवि थापा मगरले प्रदर्शनीमा ४० भन्दा बढी कलाकृति प्रदर्शन गरिएको, ती कलाकृतिले पूर्ण शाकाहारका विभिन्न आयाम–पाल्तु र वन्य जनावरको दुःखदेखि मानव गतिविधि र जलवायु परिवर्तनका प्रभावबारे चित्रण गरिएको बताउनुभयो । ती कलाकृतिमा जनावर र पृथ्वीप्रति मानव सम्बन्धबारे आत्मचिन्तन, करुणा र संवादसँग सम्बन्धित विषयवस्तु समेटिएका पनि थापा मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा सङ्गीत, नृत्य, प्रस्तुति र शाकाहारसम्बन्धी प्रदर्शनीले आकर्षण थपेको छ । लभिङ हार्ट भिगन रेस्टुरेन्ट, द ह्वाइट लोटस भिगन क्याफे र भिगन फुड एन्ड बेभरेज हाउसजस्ता स्थानीय रेस्टुरेन्टका शाकाहारी खाद्य कक्षले दर्शकलाई स्वादिष्ट वनस्पतिजन्य भोजनको अनुभव दिएका छन् ।
कार्यक्रममा ‘आर्ट र एक्टिभिजम’ शीर्षकमा ‘प्यानल’ छलफल राखिएको थियो । कार्यक्रममा अभियानकर्मी कृष्ण गुरुङ, परम्परागत थाङ्का कलाकार रवि थापामगर, अविशमान शाक्य, अभिनेत्री सरिता राजोपाध्यायलगायतले कार्यक्रमको महत्त्वबारे प्रकाश पार्नुभएको थियो ।
विश्व भेगन दिवसका अवसरमा तीन वर्षदेखि नेपाल भेगन ग्यालरी आयोजना हुँदै आएको छ । कलालाई सहानुभूति र करुणासँग जोड्दै सबै प्रजातिको शोषणमुक्त विश्वको कल्पना गर्न मानिसलाई उत्प्रेरित गर्न यस्तो कार्यक्रम आयोजना हुने गरेको जनाइएको छ ।
माछामासु र दहीदूध मात्र नभई तिनका छाला, रौँ, हाड र प्वाँखसमेत प्रयोग नगर्ने शाकाहारीहरूलाई भिगन (पूर्ण शाकाहारी) भन्ने गरिन्छ । जलवायु परिवर्तनमा पशुजन्य उद्योगले गर्ने हानि र पशुक्रूरता कम गर्ने उद्देश्यका साथ संसारका कतिपय मान्छे भिगन जीवनशैली अपनाउन थालेका त्यस अवसरमा जानकारी दिइयो ।