नेपाल सरकारको राष्ट्रिय अभियान तथा प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन-२०७५ मा उल्लेख भए बमोजिम “सफा हिमाल अभियान” कार्यक्रमको निरन्तरता स्वरुप प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरुलार्इ न्युनिकरण गर्न सगरमाथा सहित अन्य पाँच हिमालहरु (लोहत्से, मकालु, धवलागिरी, पुमरी र आमादब्लम) को सफाई गर्ने उद्धेश्यका साथ “सफा हिमाल अभियान २०२१” संचालन गर्ने तयारी अनुरुप जङ्गी अड्डामा हिमाल सफाई कार्यक्रमसंग सरोकार राख्ने सरकारी निकाय तथा अन्य संघ/संस्थाहरु बीच समन्वय, सहकार्य तथा एकीकृत कार्य योजना निर्माणको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको आयोजनामा एक दिने समन्वयात्मक गोष्ठी संचालन भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकको संयजकत्वमा भएको उक्त कार्यक्रममा अभियान संचालन सम्बद्ध विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय/संघ-संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुबाट आ-आफ्नो संस्थाको विशेषता अनुरुप रायसुझाव तथा अभियानप्रति ऐक्यबद्धता जनाउनु भएको थियो ।
राष्ट्रिय अभियानको रुपमा सम्बद्ध सबै निकाय तथा संघ संस्थाहरुलाई समेटेर सबैको संयुक्त प्रयास तथा पहलताबाट नेपालको गहनाका रुपमा रहेका मुख्य हिमालहरुको सफाई गर्ने जस्तो पवित्र कार्यलाई सफलतापूर्वक संचालन गरी कोभिड-१९ महामारीको कारण शिथिल भएको नेपालको पर्वतारोहण तथा समग्र पर्यटन व्यवसायलाई उकास्न सफल हुने नेपाली सेनाले विश्वास लिएको छ ।