विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सेनाको तयारी

वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै उद्दार कार्यको योजना, फौजको प्रभावकारी परिचालन, उद्दार तथा प्रतिकार्यका निमित्त विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायहरुबीच छलफल एवं समन्वय गर्न आवश्यक भएकाले नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा नेपाली सेनाले जङ्गी अड्‍डामा संचालन गरेको “विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक-२०७९” आज मिति २०७९ श्रावण ०३ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको छ ।

 बलाध्यक्ष रथी श्री सरोज प्रताप राणाको स्वागत मन्तव्य सहित शुरु भएको उक्त समन्वयात्मक बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले आ-आफ्नो मन्तव्य राख्‍नु भएको थियो । उक्त बैठकको दौरान नेपाली सेना, श्री युद्धकार्य निर्देशनालयले विपद् व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा प्रस्तुतीकरण गरेको थियो ।

 मन्तव्यको क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख श्री अनिल पोखरेलले यस प्रकारका विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमहरु आयोजना गरेकोमा नेपाली सेनालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । वहाँले, विपद् प्रतिकार्यमा Key Responder को रुपमा मात्र नभई जोखिम न्यूनीकरण गर्ने विविध क्रियाकलापमा समेत नेपाली सेनाले सक्रिय भूमिका निर्वाह गरिरहेको बताउनु हुँदै प्रशंसा गर्नु भएको थियो । साथै वहाँले, भविष्यमा आइपर्न सक्ने विपद्का दौरान सम्पूर्ण सुरक्षा निकाय एवं सरोकारवाला निकायहरुले एक-आपसमा समन्वयकारी भूमिका निर्वाह गरी सूचनाको आदानप्रदान लगायत Plan Together Work Together को अवधारणा अनुरुप विपद् प्रतिकार्यमा एकजुट भई अघि बढ्न समेत सुझाव दिनु भएको थियो ।

Facebook Comments