वितरण केन्द्र प्रमुख सिंहको गैर जिम्मेवारीपन

कार्यालयनै मधुशालामा परिणत

भरतपुर वितरण केन्द्रमा गत मंगलवार भएको कुटपिटमा संलग्न विरुद्ध प्रहरीमा उजुरी परेको छ । राष्ट्रिय समाचार समितिका पत्रकार कृष्ण आचार्यलाई भरतपुर केन्द्रका कर्मचारीले आफुलाई कुटपिट गरेको भन्दै आचार्यले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले कुटपिटमा संलग्न आठ जनालाई प्रक्राउ गरी सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालय लगेको छ ।

पत्रकार आचार संहिता अनुसार आफुलाई केन्द्रका कर्मचारीले अभद्र व्यवहार गरेको भन्दै आचार्यले  प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । नियम अनुसार सरकारी वकिल कार्यालयमा प्रहरीले प्रतिवेदन पेश गरेपछि सो मुद्दा प्रशासनमा दर्ता हुने प्रावधान छ ।

भरतपुर केन्द्रका सबै कर्मचारीले मोवाइल स्वीच अफ गरेका छन् । यहाँ अहिले हडताल चलिरहेको छ । प्रशासन कार्यालयबाट समातिएका व्यक्ति नछोडिएसम्म यो क्रम जारी रहेने एक कर्मचारीले बताएका छन् ।
मंगलवार देखि प्राधिकरणका सयौँ कर्मचारीहरु प्रशासन कार्यालय पुगेर नारा जुलुस गर्दै झुटो मुद्दामा समातिएका कर्मचारीलाई रिहाइ गर्न माग गरेका छन । यस बारेमा जलस्रोत डटकमले जान्न खोज्दा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको फोन उठेन भने इन्सपेक्टरले यो विषयमा बोल्न चाहेनन् ।
कर्मचारीले कार्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिनु सरकारी काममा दखलदिनु हो । विद्युत जस्तो अत्यावश्यक सेवामा हड्ताल गर्न नहुने नेविप्रा प्रशासनस्रोतले बताएपनि उच्च नेतृत्वले यो विषयमा कुनै कदम चालेको छैन ।

घटनामा संलग्न रहेका वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंह, सुपरभाइजर आनन्द बहादुर कुँवर, दिवछ साह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरमेन तुलसी देवकोटा, लेखापाल मन्जिलमान श्रेष्ठ, हरि पौडेल र मिटर रिडर हेम शंकरलाई प्रहरीले पक्राउ गरी कष्टडीमा राखेको छ ।

उनीहरु कार्यालयमा नै मदिरा सेवन गरी बसेको समयमा राससका पत्रकार आचार्य फोटो खिच्न पुगेका थिए । आचार्यले यस अघि नै सूचनाको आधारमा त्यहाँ पुगेको खबर सार्वजनिक भइसकेको छ । उनीहरुले फोटो खिचेको देखेपछि आचार्यमाथि हातपात भएको आचार्यको किटानी निवेदनमा उल्लेख छ ।
भरतपुर केन्द्रका एक कर्मचारीले भने मदिरा सेवन गर्दा आफु त्यहाँ नभएको तर घटनापछि बोलाइएकोले गएको बताए । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा मदिराको मात्रा यथेष्ट रहेको पाइएको थियो ।

केन्द्र प्रमुखका घटनाको श्रृङ्खला

केन्द्र प्रमुखको रुपमा कार्यरत सिंह झापा, वेलबारी, दमक र विराटनगरको प्रमुख हुँदै भरतपुर आइपुगेका हुन् । दमक केन्द्रमा हुँदा रक्सी सेवन गरेर प्राधिकरणकै गाडी आफैं चलाइ धरमपुरमा दुर्घटना गराएर गाडी ध्वस्त पारेका थिए । दुर्घटना भएको गाडी मर्मतका लागि १५ लाख र घाइतेको उपचार गर्न २५ लाख खर्च पनि उनले प्राधिकरणबाट नै लिएका थिए ।

विर्तामोडमा रहेको बेला रक्सीको नशामा रातको १२ बजे सिपी होटल पुगेर ढोका खोल्न भनेका थिए । तर राती ढोका नखोल्ने भन्दै होटल संचालकले प्रतिवाद गरेपछि उनले होटलको लाइन नै काटिदिए । व्यापक जनदवावपछि सो लाइन फेरि जोडिएको थियो ।
यति धेरै हंगामा गर्दापनि सिंहलाई नेविप्राले कुनै कारवाही गरेको छैन । बरु प्रोत्साहन स्वरुप केन्द्र प्रमुखको जिम्मा दिदै आएको छ । यसको कारण के हो भन्दा उनको उच्च व्यवस्थापनसँग राम्रो सम्बन्ध भएको समाचारस्रोत बताउँछ ।

Facebook Comments