विख्यात भारतीय गायिका आशा भोसलेको निधन

काठमाडौं/भारतीय विख्यात गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । उनी केही समयदेखि मुटु र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिइन् । उनलाई उपचारका लागि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा शनिबार राति भर्ना गरिएको थियो ।

आशा भोसलेको सात दशकभन्दा लामो संगीत यात्रा थियो र उनले नेपाली सहित हजारौँ लोकप्रिय गीत गाइसक्नु भएको छ ।

उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका थिए । उनको अन्त्येष्टि सोमबार अपराह्न ४ बजे शिवजी पार्कमा राजकीय सम्मानका साथ गरिने परिवारले जनाएको छ ।

भारतीय सिनेमाकी निकै सफल, लोकप्रिय र सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो ।

भारतीय संचार माध्यमका अनुसार, सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले नौ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् ।

उनी फिल्मफेयर उत्कृष्ट महिला पाश्र्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । उनको निधनप्रति भारतीय कलाकार, राजनीतिज्ञ समेतका समाजका धेरैले श्रद्धान्जलि अर्पण गरेका छन् ।

आशा भोसलेका नेपाली गीत

नेपाली गीत गायनमा पनि आशा भोसलेको लामो सान्निध्य रहेको छ । उनले चर्चित नेपाली फिल्महरुमा पाश्र्वगान गर्नु भएको छ । उनले नारायणगोपालसँग पनि युगल गीत गाउनु भएको छ ।

उनले गाएका नेपाली फिल्महरुमा लाहुरे, चिनो, फूल भन्छ फुलिरहुँ पनि गीत गाउनु भएको छ ।

आशा भोसलेले चिनो फिल्ममा नारायणगोपालसँग ‘मोहनी लाग्ला है’, रामकृष्ण ढकालसँग ‘फूल भन्दा फुलिरहुँ’ लगायतका चर्चित गीत गाउनु भएको छ । ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ र ‘गैरी खेतको शिरै हान्यो’ जस्ता कालजयी नेपाली गीतहरूमा आफ्नो सुमधुर स्वर दिएकी थिइन् ।

Facebook Comments