लुब्दीखोलामा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

युवालाई खेलमार्फत एकतामा जोड्ने पहल

काठमाडाैँ । स्याङ्जाको भीरकोट नगरपालिका–६, लुब्दीखोलामा ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नारासहित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आजदेखि सुरु भएको छ।

नव वर्ष २०८३ को अवसर पारेर लुब्दीखोला युवा परिवारको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) सहभागी भएका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र संगठित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय स्तरमा यस्ता प्रतियोगिताले प्रतिभा पहिचान गर्न मद्दत पुग्ने उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मण केसी (रामकाजी) ले यस्ता गतिविधिले वडामा खेलकुद संस्कृतिको विकाससँगै सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्न खेलकुद प्रभावकारी माध्यम भएको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर र मिडल ब्लकरलाई ट्रफी तथा प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। तेस्रो हुने टिमलाई २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्ने टिमलाई ११ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

टिम दर्ता शुल्क ५ हजार १ सय रुपैयाँ तोकिएको छ भने प्रत्येक टिममा ९ जना खेलाडी रहने व्यवस्था गरिएको छ। प्रतियोगिता नेपाल भलिबल संघको नियमअनुसार स्कोरिङ प्वाइन्ट प्रणालीमा सञ्चालन गरिनेछ।

वैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास, युवाबच एकता र स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments