मैले लिस्नो समाइदिएपछी
लुगलुग गोडा कमाउँदै तलो चढे रामवीरहरू
टेकेको ढाड समाएर
अखेडामाथि पुगे आङनिमाहरू
मलाई भने हामी माथि पुगेपछी
तिमीलाई पनि उँभै तान्छौ
भोकै हुन्नन् तिम्री श्रीमती
नाङौ हुन्नन् तिम्रा छोरा छोरी
म फुर्के मान्छे फुरुक फुर्के ।
रोकेर सास थापेर ढाड
निहुर्याएर गर्दन उठाएर शिर
चढाई दिए माथिल्लो तलामा
आउँला भनेको नुन चामल
बुट आयो, लौरो आयो
चिरियो छाति, टुटुल्कियो टाउको
रिङगटा लाग्यो घुमो सारा पृथ्वी
टन्टलापुर घाममा अँध्यारो भो निष्पट्ट भो
तर, आएन नुन चामल ।
झरो आँसुको भेल
काप्यो शरीर आँसुु बर्षाएर
के गर्नु रोएर केही हुँदोरहेनछ
सोचे, दह्रो बनाए
मुटु माथिबाट तल झर्दा
तानिदिन्छु लिस्नु र पछारी दिन्छु भूइँमा
कहिल्यै नउठ्ने गरी ।
तर, उनीहरू त वयलगाडामा पुगि सकेछन्
अमेरिका रकेटमा पुगिसकेछन
मंगलग्रह कुन विजयराजले
हो लाईदिएछ पोल धम्क्याउदै छ
फोनबाट रामवीर भन्दै छ पठाउँछु
क्षेप्यास्त्र हान्छु एटम बम धस्त गर्छु
तँ र तेरो परिवार अन्त्य गर्छु ।
गरिबी म सहँदै निर्भिक उभिएको छु
सगरमाथा झै
दुनियाँले टेकेर होला उस्तै लाग्छ
लिस्नोको अखेटा र मेरो ढाड
उस्ले बम हान्योे भने मेरो ढाडमा ठोकिएर
भकुन्डो झैँ उफ्रिएर ध्वस्त गर्छ
उसैलाई मैले तान्नु पर्दैैन
लिस्नो झैं बाँच्छन् मेरा परिवार
पुरै आयू भोकै भए पनि
नाङ्गै भए पनि स्वतन्त्रता पूर्वक
म बाँच्ने छु हेरिरहेको छु
अखेटा छामिरहेको छु
ढाड कामिरहेको छ
तरपनि हातले म
समाई रहेको छु लिस्नो ।
खोटाङ