खानेपानीको चर्को समस्या भोग्दै आएका रामेछाप नगरपालिका–८ वावियार्खक र भंगेरीका ३०२ घरधुरीलाई ५०० लिटरको हिलटेक ट्याङ्की वितरण गरिएको छ ।
मुहान सुक्दै गएपछि खानेपानीको चर्को अभाव झेल्दै आएका उक्त क्षेत्रका बासिन्दाका लागि वर्षातका पानी र पधेँराको पानी जम्मा गर्ने उद्देश्यले सो ट्याङ्की वितरण गरिएको हो ।
रामेछाप नगरपालिका वडा नं ८ कार्यालयले एकघर एक हिलटेक ट्याङ्की वितरण अभियानअन्तर्गत सो ट्याङ्की वितरण गरेको वडाध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७६÷०७७ बाट शुरुवात गरेको यस अभियानअन्तर्गत कार्यालयले पहिलो चरणमा सल्ले र डुम्रीखर्कका १८९ घरधुरीलाई ५०० लिटरको हिलटेक ट्याङ्की वितरण गरेको थियो ।
“यो अभियान चालू आर्थिक वर्षमा पनि जारी रहने छ”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “अभियानअन्तर्गत चालू आर्थिक वर्षमा वादी, लामागाउँ र लामाटोलमा सबै घरधुरीलाई ट्याङ्की वितरण गर्ने योजना छ ।”