रसिकको ‘हनुमानको करामत’ बालकथा सार्वजनिक

स्रष्टा जीतेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ आजदेखि बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालीले बजारमा ल्याएको हो । उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । चित्रकथामा बालबालिकाले सजिल बुझिने गरी सरल भाषा र चित्रकोे प्रयोग गरिएको छ ।

ऐतिहासिक विषयलाई जति पढ्यो त्यति नै पढुँपढुँ लाग्ने गरी कथा प्रस्तुत गरिएको छ । कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास गरिएको छ । राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

कृति पढेपछि बालबालिकाले भरपुर मनोरञ्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयबारे पनि जानकारी लिन सकिनेछ । कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुगेको र हनुमन्ते खोलामा हनुमान र रामबीच भएका गतिविधिको चित्रण गरिएको छ । ऐतिहासिक सांस्कृतिक कथा भएकाले बालबालिकाले चित्र कथा हेरेर र पढेर भरपुर रमाइलो मात्र गर्नेल छैनन् उनीहरुले कथाभित्रै परापूर्वकालका घटनाको ज्ञानसमेत राख्न सक्नेछन् ।

कृतिको आवरण चर्चित चित्रकार प्रज्वल थापाको रहेको छ । विद्यालयका विद्यार्थीलाई लक्षित ‘हनुमानको करामत’ चित्रकथा प्राथमिक तहका बालबालिकाका लागि उपयोगी पुस्तक रहेको प्रकाशनले जनाएको छ । हनुमानको करामत’ रसिकको १३औँ कृति हो ।

यसअघि बाल साहित्यका कृतिमा एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह–२०७२) हावा फल्ने रुख ‘बालचित्र कथा–२०७३’ एङ्ग्री बर्ड ‘अङ्ग्रेजी बालकथा सङ्ग्रह–२०७४’ बेलबहादुरसँग बिहे ‘चित्रकथा–२०७७’ गुलेली र ‘बालकथा सङ्ग्रह २०७७’ प्रकाशित छन् ।

बालकथाबाहेक उपन्यास, गीत, गजल, कवितालगायत विविध विधामा सशक्त कलम चाउँदै आएका रसिकका काफिया ‘गजल सङ्ग्रह–२०७३’, लज्जावती ‘उपन्यास–२०७३’, अलकापुरी भक्तपुर ‘सम्पदा नालीबेली–२०७५’, सर्वरत्न ‘पद्मरत्न तुलाधरको जीवनी–२०७६’ र पब्लिक स्पिकिङ ‘उद्घोषण तथा सञ्चार सिकाइ पुस्तक–२०७७’ लगायत प्रकाशित छन् ।

Facebook Comments