नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रुपमा अगाडी बढाउने हेतुले विभिन्न सञ्चार माध्यमका ५ जना महिलासहित जम्मा २५ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई मिति २०७९ जेठ २२ गतेदेखि ऐ. २७ गतेसम्म पोखरास्थित श्री मध्य कमाण्ड हेड क्वार्टरमा संचालन हुने ६ (छ) दिने Defence Correspondent Orientation Programme (DCOP) कार्यक्रमको आज मिति २०७९ जेठ २२ गते उक्त कमाण्ड हेड क्वार्टरका कमाण्ड सेनापति उपरथी श्री बाबुराम श्रेष्ठले प्रथम प्रवचन गर्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।
उक्त अभिमूखिकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारी लगायत अन्य विविध विषयहरुमा प्रस्तुतिकरण एवं अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै तनहुँस्थित तनहुँ हाईड्रो पावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना समेत रहेको छ ।