पर्वतका मुख्य ग्रामीण सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण भइरहेको छ । हिउँदमा गाडी गुड्ने र वर्षात्मा बन्द रहने ग्रामीण सडकको समस्या रही आएको छ । ग्रामीण सडक वर्षात्का करीब तीनसम्म स्थानीय नदी तथा खोलामा पुल नहुँदा ग्रामीण सडकको यात्रा रोकिने गरेको थियो ।
चालू वर्ष मात्रै पर्वतका करीब आधा दर्जन मुख्य खोला नदीमा पुल निर्माण सम्पन्न भइसकेका छन् । केही खोलामा निर्माणाधीन पुल आगामी असारभित्रै सम्पन्न हुने चरणमा छन् । पूर्वाधार विकास कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङले निर्माण थालेका पक्की पुलले मुख्य राजमार्ग तथा कुस्मा जोड्ने सबै स्थानीय तहलाई सहज बनाउने छ । पर्वतका सातै स्थानीय तह आवतजावत गर्ने सडकको यात्रा अब बाह्रै महिना सहज हुने भएको छ ।
गण्डकी प्रदेशको सबै स्थानीय तहमा पक्की सडक सञ्जाल पु¥याउने लक्ष्यकासाथ गत वर्षदेखि शुरुआत भएका सबैजसो पक्की पुल आगामी २०७८ असारभित्रै सम्पन्न हुने तयारीमा छन् । केही पुल यसअघि नै सम्पन्न भइसकेको सडक डिभिजन तथा पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फलेबासको अर्चले–भङ्गरा जोड्ने पुल निर्माण सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष नै कुस्मा–२ छमर्के खुर्कोटको रिठेखोला पुल निर्माण सम्पन्न भइसकेको छ ।
गत महिना कुस्मा नगरपालिका–३ अम्बोटखोला र मोदी गाउँपालिका–६ तिलाहारस्थित रतिखोला पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालयले निर्माण गरेका दुवै पुलले कुस्मा तथा मोदी गाउँपालिकालाई मध्यपहाडी राजमार्गसँग जोड्छन् ।
मोदी गाउँपालिका–१ तथा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ जोड्ने भुरुङ्दी खोला पुल यसै वर्षभित्र सम्पन्न गर्नेगरी तीव्र गतिमा निर्माण भइरहेको छ । कास्कीको नयाँ पुल हुँदै म्याग्दीको घोडेपानीसम्म पुग्ने सडकमा भुरुङ्दी खोलाको पुल निर्माण भएपछि देशी विदेशी पर्यटकको यात्रामा सहज हुनेछ ।
पूर्वाधार कार्यालयले चालू वर्षमा सकिने गरी पैँयु गाउँपालिका–७ मा शेरा खोला, पैँयु–४ मा गेडी खोला, मर्दी खोला र शिब्दी खोला पुल निर्माण गरिरहेको छ । कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीका अनुसार चालू वर्षमा नै सक्नेगरी तीव्ररुपमा अघि बढिरहेका पुलमध्ये सबैको प्रगति ७५ प्रतिशत नाँघीसकेको छ ।
कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार भुरुङ्दी खोला पुलको काम विगतदेखि नै ढिलाइ भए पनि यस वर्ष सक्नेगरी ताकेता गरिएको छ । शेरा खोला, गेडी खोला, मर्दी खोला र शिव्दी खोलाको काम तीव्र गतिमा अगाडि बढाइएको छ ।
कोरोनाका कारण गरिएको लकडाउनले काम समयमै सम्पन्न गर्न समस्या भएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । शेरा खोला र गेडी खोला पुल निर्माणको जिम्मा लिएको बाइएसएस निर्माण कम्पनीका प्रतिनिधि यज्ञबहादुर थापाका अनुसार गेडी खोला पुल निर्माण सकिएको छ । शेरखोला र गेडी खोला पुलले पैँयु, बिहादी र महाशिला गाउँपालिका जोडिन्छन् ।
सडक डिभिजन कार्यालय बागलुङका अनुसार पर्वतका ग्रामीण सडकलाई सहज हुनेगरी चार वटा पक्की पुल निर्माणको चरणमा छन् । चारमध्ये मोदी गाउँपालिका–५ बाजुङ र कुस्मा नगरपालिका–३ दुर्लुङ जोड्ने अम्बोट खोला पुल निर्माण सम्पन्न भइसकेको छ । डिभिजन प्रमुख रामेश्वर लम्सालले कुस्मा–२ स्थित रिठेखोला, तथा पर्वतको फलेबास र बागलुङको जैमिनी नगरपालिका जोड्न काली गण्डकी पुल निर्माणको चरणमा रहेको बताउनुभयो ।
निर्माणाधीन कालीगण्डकीको पुलका लागि आगामी एक वर्ष लाग्नसक्ने उहाँले जानकारी दिनुभयो । कालीगण्डकी करिडोर अन्तर्गत मोदीखोला र सेतीखोलाको पुल पनि सम्पन्न भइसकेका छन् । पुलले पर्वतको फलेबास नगरपालिका र बागलुङको जैमिनी नगरपालिका जोड्छ । पर्वतमा निर्माणाधीन यी पुलले सबैजसो मुख्य बस्तीलाई समेट्छन् । विगतमा जेठको अन्तिम सातादेखि कात्तिकसम्म अवरुद्ध हुने ग्रामीण सडक आगामी वर्षदेखि बाह्रै महिना सञ्चालनमा आउने स्थानीयवासीको अपेक्षा छ ।
रु १० लाखको जग्गा प्रदान
दक्षिण पर्वतको पैँयु गाउँपालिका वडा नं ६ सरौखोलाको वडा कार्यालय भवन निर्माणका लागि स्थानीय एक व्यक्तिले निःशुल्क जग्गा दान गर्नुभएको छ । सोही वडा निवासी समाजसेवी नीलकण्ठ तिवारीले निःशुल्क जग्गा प्रदान गर्नुभएको हो ।
उहाँले सरौफाँटस्थित सोतोमा रहेको एक रोपनी जग्गा निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभएको हो । उहाँले जग्गा निःशुल्क दिएपछि वडाले भवन निर्माण प्रक्रिया अघि बढाउने भएको छ । अहिले उक्त जग्गाका मूल्य रु १० लाखको हाराहारीमा पर्ने वडा कार्यालयको मूल्याङ्कन रहेको छ ।
वडा सचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको उपस्थितिमा उहाँले निःशुल्क जग्गा दिने घोषणा गर्नुभएको हो । हाल वडा कार्यालय निकै जीर्ण अवस्थामा छ । सोही वडा कार्यालय बनाउन तिवारीले निःशुल्क जग्गा प्रदान गर्नुभएको हो ।
स्थानीय तह र वडालाई भौतिकरुपले संस्थागत गर्न सहयोग पुगोस् भनेर जग्गा निःशुल्क दिने निर्णय गरेको उहाँले बताउनुभयो । जग्गा प्रदान गर्नुभएकामा पैँयु गाउँपालिकाले उहाँलाई धन्यवादसमेत व्यक्त गरेको छ । तिवारी सामाजिक सेवासँगै सञ्चार क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । पैँयुले प्रमुख प्रशासनिक भवनसहित वडा कार्यालयका भवन निर्माणलाई तीव्रता दिएको छ ।