कथामा परिवेशको छुट्टै महत्व हुन्छ । यही परिवेशलाई चित्रण गर्नका लागि पात्रको आवश्यकता पर्छ । पात्रलाई बोलाउन कथानक बलियो हुनुपर्छ । जतिबलियो कथानक हुन्छ वर्णन त्यति नै राम्रो लाग्छ । कथालाई हिँडाउनका लागि तागत चाहिन्छ । त्यो पुरुषार्थ पात्रले बोक्न सक्ने खालको हुनुपर्छ । अनि मात्र कथाको रौनकतामा पाठक लहरिन सक्छ । फोस्रा गफमा आजको पाठक भुल्याउन गा-हो छ ।

मकै पहाडको प्राण हो । तर, यसलाई हेयको भावले हेरिएको छ । र त ‘जाँबो’ मकै भन्ने गरिन्छ । त्यही मकै सहरमा आइपुग्दा ‘पपर्कन’मा परिवर्तन भएको छ । धुवाँको पिरले गाउँमा मकै नखानेहरू यहाँ बाटोमा राखिएका गाडामा स्वाद मानेर खान्छन् । हरियो मकै आफैमा पोसिलो हुन्छ । अझ् दूधे मकै त अमृत नै हो । सहरमा पोलिएको मकैको मूल्य अहिले तीस देखि चालीससम्म छ । काँचो दशमा फालाफाल पाइन्छ । यहाँ बढी मूल्य पाउन जचिनुपर्ने रहेछ भन्ने सन्देश मकैले दिएको छ ।
यसको उठान श्रीराम राईको पोलेको मकै बालकथा सङ्ग्रहको चर्चा अघिको भूमिका हो । राई बालकथा र लघुकथामा कलम चलाउँदै आएका सष्टा हुन् । उनले ‘टोली नेता’ र ‘पोलेको मकै’ गरी दुईवटा बालकथा सङ्ग्रह प्रकाशित गरिसकेका छन् । आजका लधुकथा संयुक्तसमेत प्रकाशित रहेको छ । विशेष त ग्रामिण परिवेशको चित्रण र आफ्ना भोगाइनको अनुभव उनका कथाको स्रोत हुन । यसमा जीवनका अन्तरंग र सामिप्यताका झलकहरू पर्दामा उदाएका छन् ।

जीवनमा गरिएका अनुभूतीको प्रकाशनबाट प्रेरित भएका राईले बालबालिकाको मनो विज्ञानको चित्रण गर्दै कथाका माध्यबाट आजको समाजमा उनीहरूको अन्तरमनमा रहेको सुसुप्त चेतनाको स्तरको मुल्याङ्कन गरेका छन् । उनले सहरमा मम र चाउमिनमा रहेका बालबालिकाले मकै मन पराउँदैनन् । उनीहरुको स्वाद त सहरीया खानामा बसेको छ । यहाँ ग्रामिण परिवेशसँग उनीहरूको सामिप्यता नहुनुले गर्दा यस्तो भएको हो भन्ने तर्क प्रस्तुत गरेका छन् ।
यस सङ्ग्रहमा ७ वटा कथा रहेका छन् । ‘मुनाको अभियान’ कथाले भुकम्पको समयमा भोग्नु परेको मानवीय जीवनको वेदनालाई उजागर गरेको । यस कथामा भुकम्प भनेको के हो ? भन्ने जिज्ञासा राखेर बाल मनोविज्ञान र जिज्ञासु स्वभावको चर्चा छ । यसमा वैज्ञानिक तर्क प्रस्तुत गरिएको छ । भुकम्प प्रतिरोधी घर बनाउनु पर्छ, जसले क्षतिकम गर्छ भन्ने यो कथाको सन्देश छ ।
‘बलजितको जुक्ति’ अर्को कथा छ । जगमानको होटल राम्रो चल्छ । तर राम्रो व्यापार भएर पनि उसले अरुलाई समयमा गर्नुपर्ने भुक्तानी गर्दैन । ऊ घरभाडा पनि समयमा तिर्दैन । भाडा उठाउनका लागि बलजितले पानीको पाइप नै बन्द गरेको छ । त्यसपछि मात्र जगमानले भाडा दिन्छन् । जगमानको छोरा रामबोध र बलजित मिल्ने साथी हुन् । यो कथाले सजिलो गरि काम भएन भने त्यसलाई बुद्धिले सम्पन्न गनुपर्छ भन्ने शिक्षा दिएको छ ।
‘सुम्निमाको भ्रमण’ कथाले भ्रमणले बालबालिकामा स्थानबारे ज्ञान हुने र त्यो दृष्य कक्षामा पढाएको भन्दा छिटो बुझ्न सहज हुने देखाएको छ । यसमा शिक्षकले दृष्यको बारेमा लेख्न लगाएर यसको परीक्षण गरेका छन् । बालबालिकालाई घुमाउँदा उनीहरूमा आनन्दमात्र हैन, अनुभव र बुझाइ पनि राम्रो हुने यस कथाको अभिप्राय हो ।
‘पोलेको मकै’मा ग्रामिण जीवन र सहरीया जीवनमा खानेकुराले पारेको स्वादको बारेमा बयान गरिएको छ । हामी स्वादका लागि खान्छौ, जसले हाम्रो स्वास्थ्य विगारेको छ । गाउँले परिवेशको खाना खादा हात कालो भएको संझिने चाँदनीलाई यसको पौष्टिकता र फाइदाबारे ज्ञान छैन । आफ्नो दाँत बिग्रिएको र जण्डिस भएको र यसको कारण बुझेपछि ऊ मकैप्रति सकारात्मक भएकी छे । यस कथाले खाना भन्दा स्वास्थ्य महत्वपूर्ण कुरा हो त्यसमा ध्यान दिनुपर्छ भन्ने चेतना बाँडेको छ ।
‘फूल फुलून, चरी उडून्’ गीति कथा हो । यसले बालबालिकालाइ मनोरञ्जनका साथै फूल रोप्नु पर्ने सन्देश दिएको छ । फूलका कारण नै मौरी र पुतली फूलवारीमा नाच्न आउँछन् । जसले बालबालिकालाई मनोरञ्जन दिन्छ । खुसीले रमाउन सहयोग गर्छ भन्ने विषय उठाएको छ ।
‘पारुको पढाइ’ मा पढ्ने र नपढ्ने बालबालिका बिचको चित्रण गरिएको छ । ज्ञान र अज्ञानता बिचको फरकलाई कथाले राम्रोसँग चित्रण गरेको छ । पढ्नेको गृहकार्य र अन्य कामको समय निर्धारण भएको र नपढ्नेकोमा झगडा जस्ता द्वन्द्वात्कम परिवेश देखाएर विद्यालय भर्ना गरेको दृष्टान्त छ । यसले पढाइलाई अगाडि बढाउनुपर्छ । पढाइले मात्र भविष्यको बाटो निर्धारण गर्छ, यो कथाको मर्म यही हो ।
‘बाबुको एसएमएस’ कथाले गाउँ र सहरको जीवनमा संवाद कति महत्वपूण छ भन्ने कुराको दूरावस्थाको चित्रण छ । यहाँ घर गएको बाबुप्रति छोराको सद्भाव व्यक्त भएको छ । छोरा बाबुको एसएमएसको पर्खाइमा बसेको छ । उसको शंका बाबु घर पुगे पुगेनन् भन्ने मात्र हैन, अभिभावकीय साथ र सहयोग कति अपरिहार्य छ बालबालिकाको लागि भनेर देखाउन खोजिएको छ । यो कथा प्रभाव युक्त कथा हो । हामीले वास्ता नै नगरेको भएपनि बाल मनस्थितिमा चिन्तको स्तरको मापन कसरी हुन्छ भन्ने कुरा यो कथाले देखाएको छ ।
समग्रमा, कथाले परिवेशमय जीवनको चर्चालाई आत्मसात गरेका छन् । स्थानीय राई जातिमा बोलिएका लवज, पात्र र बोधगम्यतालाई शिल्पी सियोले बिनियका फूललाई माला बनाएका छन् । जो यी थुङ्गाको स्पर्श गर्छ, हार उसैको गलामा पहिरिने छ । सकृय लेखन यात्राको कामना श्रीराम ।