भोजपुरमा ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’

टक्सार (भोजपुर)/भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको सबैभन्दा होचो स्थान कोप्चेदेखि टेम्केमैयुङ गाउँपालिकाको तावा भञ्ज्याङसम्म ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ को आयोजना हुने भएको छ ।

आगामी मङ्सिर २० र २१ गते दुई दिन ६० किलोमिटरको दूरीमा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक मुन्धुम अल्ट्रा ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिनुभयो । जिल्लाको मुन्धुम पदमार्ग तथा पर्यटकीय स्थालको प्रचारप्रसार गरी पर्यटन आवागमन सहयोग गर्दै धावक उत्पादन गर्ने लक्ष्यका साथ अल्ट्रा ट्रेलको आयोजना गरिएको सचिव थापाले बताउनुभयो ।

जिल्लाको हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको आर्थिक सहयोग र स्वीस सरकार विकास सहयोग नियोग, हेल्भेटास नेपाल र पदमार्गमा आधारित पर्यटन विकास परियोजनासँगको समन्वयमा दुई दिने अल्ट्रा ट्रेल रेसको आयोजना गरिएको हो ।

स्थानीय संस्कृति, परम्परा र मुन्धुम दर्शन तथा संस्कृतिको प्रचार–प्रचार गर्ने, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा शारीरिक स्वस्थता, स्थानीयको आयश्रोतमा वृद्धि, अन्तरराष्ट्रिय सहभागिता जस्ता उद्देश्य कार्यक्रमको रहेको छ । सो सम्बन्धमा आज सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक पक्षले कार्यक्रम सफल बनाउन सबै पक्षसँग आग्रह समेत गरेको छ ।

हतुवागढी गाउँपालिकाका अध्यक्ष तथा निर्देशक समितिका संयोजक प्रेम कुमार राईले पर्यटन प्रवर्द्धन, अर्थतन्त्र विकास, किराती संस्कृति तथा परम्पराको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकासलगायत क्षेत्रका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । पुरुष तथा महिला अल्ट्रा ट्रेल रेसमा १०० जनाको सहभागिता हुने आयोजकले जनाएको छ ।

यो रेसले जिल्लाको पर्यटन, खेलकुद तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको रेस सञ्चालन समितिका अध्यक्ष सन्दीप किरावाले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमको मुख्य उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक एकता र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचार गर्नु हो, साथै प्रतियोगितमार्फत भोजपुरका पहाडी क्षेत्रका सुन्दर पदमार्ग, गाउँघरका सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।”

प्रतियोगिता तयारीका लागि ट्रेल म्यापिङ, स्वयंसेवक तालिम, सरसफाइ तथा प्रचार अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जानकारी दिएको छ ।

Facebook Comments