भूमिगत जलस्रोतको संरक्षण गर्न माग

मानव जीवनका लागि अत्यावश्यक पानी व्यवस्थापनका लागि भूमिगत जलस्रोतको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।

विश्व पानी दिवसका अवसरमा स्मार्ट वास सोलुसन्सले राजधानीमा सोमबार आयोजना गरेको कार्यक्रममा ‘मूल्यवान् पानी ः भूमिगत पानीको महत्व’ विषयमा आयोजना गरिएको सो कार्यक्रममा नेपालमा खानेपानी क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी, सामुदायिक र निजी संस्थाका पदाधिकारीले स्रोत संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

वाटर एड नेपाल, एसएनभी नेपाल, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट, स्मार्ट पानी र नेपाल नगरपालिका सङ्घको सहयोगमा आयोजित सो कार्यक्रममा वाटर एड नेपालका कवीरदास राजभण्डारीले भूमिगत जल पुनर्भरण आयोजनाबाट सिकिएका पाठबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कुलेसा, पोखरी, इनार आदिका माध्यमबाट सरल प्रविधि, सामान्य जनशक्ति, सामुदायिक सहभागितामा पानीको पुनर्भरण गर्ने प्रयासका सकारात्मक नतिजा आएको उहाँले बताउनुभयो । रानीबारी पुनर्भरण आयोजनाबाट त्यस वरपर भूमिगत पानीको सतह दुई सेमी बढेको पाइएको राजभण्डारीले सुनाउनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका सहप्राध्यापक डा मोतिलाल रिजालले ‘भूमिगत पानी पुनर्भरण ः अहिले हामी कहाँ छौँ ?’ भन्ने विषयमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्दै भूगर्भमा रहेका माटो र चट्टानको प्रकृतिअनुसार जमीनको पानी सतहमुनि जाने बताउनुभयो ।

कहीँ चट्टानको प्रकृतिअनुसार पानी माथिल्लो सतहमा फिजिएर बसेको छ भने स्यालो ट्युबवेलबाट सहजै निकाल्न सकिने र चट्टान छेडेर भित्र पसेको छ भने डिप बोरिङ गर्नुपर्ने उहाँले बताउनुभयो । जहाँ जसरी भूमिगत पानी बसेको छ त्यसको पुनर्भरणका लागि पनि त्यस्तै प्रविधि अपनाउनुपर्ने यस क्षेत्रका विज्ञको भनाइ छ ।

कार्यक्रममा जलभूगर्भविद् सुरेशराज उप्रेतीले नेपालमा भूमिगत पानीको स्रोत उपयोगसम्बन्धी नीतिगत र संस्थागत व्यवस्था आव २०६८÷६९ देखि नै शुरु भएको बताउनुभयो । “नेपालमा नीति, ऐन, नियम, कार्यविधि र संरचना नभएका होइनन् तर आफ्नो सहुलियतअनुसार परिवर्तन गर्ने कार्य भएकाले तिनको काम प्रभावकारी देखिएन”, उहाँले भन्नुभयो । नेपालको भूमिगत जलभण्डारको आङ्कलन गरेर त्यसको नक्सासमेत निस्किएको धेरै भए पनि त्यसलाई अद्यावधिक गर्ने कार्यमा विलम्ब भएको उहाँको भनाइ थियो ।

नयाँ जलस्रोत नीतिले पानीका सबै पक्षलाई समेटेको हुनाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने सहभागीको विचार थियो । पानीको तथ्याङ्कआधार सिर्जना गर्ने, यस क्षेत्रका विकास र अनुसन्धान गर्ने, नीति, नियम, कार्यविधि तय गर्ने काम गर्न जल तथा ऊर्जा आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता पनि कार्यक्रमका वक्ताले औँल्याउनुभएको थियो ।

कार्यक्रममा एसएनभीका खानेपानीसम्बन्धी परियोजना प्रमुख रतन भण्डारीले दैलेख र सर्लाही जिल्लाका चार–चारवटा पालिकामा खानेपानीको परिमाण, गुणस्तर, पहुँच, पर्याप्त र भरपर्दो सेवा प्रदान गर्न गरिएका प्रयासका बारेमा जानकारी गराउनुभयो । सो अवसरमा आकासेपानीको व्यवस्थापन र भूमिगत पानी पुनर्भरणमा त्यसले पु¥याएको योगदानका बारेमा स्मार्ट पानीका प्रमुख सञ्चालन अधिकृत अनिशा कर्णले प्रस्तुति दिनुभएको थियो ।

Facebook Comments