ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई अदालतको आदेश उल्लङ्घन गरेको आरोपमा नजरबन्दको आदेश

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक सञ्जालमा कुनै पनि बयान दिन प्रतिबन्ध लगाएको अघिल्लो न्यायिक आदेश उल्लङ्घन गरेपछि नजरबन्दमा राख्न आदेश दिएका छन् ।

यो आदेश चलिरहेको कानूनी कार्यवाहीको एक भागका रूपमा आएको छ जसमा बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाइएको छ ।

अदालतको कागजातअनुसार न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले न्यायिक प्रतिबन्धहरूको पालना गर्न बारम्बार र जानाजानी असफलता भएको निर्णयको कारण बताउनुभयो । उहाँले बोल्सोनारोले आइतबार राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा आफ्ना समर्थकहरूले पुनः पोस्ट गरेको सामग्रीमार्फत फेरि आफ्नो प्रतिबन्धको सर्तहरू उल्लङ्घन गर्नुभएको बताउनुभयो ।

सत्तरी वर्षीय पूर्वराष्ट्रपति पहिले नै इलेक्ट्रोनिक एङ्कल ब्रेसलेट लगाउन, रात र सप्ताहन्तमा घरमै बस्न र सामाजिक मिडिया प्लेटफर्महरू प्रयोग गर्न वा कुराकानी गर्न पूर्ण प्रतिबन्धसहित कडा सर्तहरूमा हुनुहुन्छ ।

बोल्सोनारोले आफ्नो चुनावी पराजयपछि राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको सपथ ग्रहण समारोह अवरुद्ध गर्ने प्रयाससँग सम्बन्धित आरोपहरूको सामना गरिरहनुभएको छ । यी आरोपले लामो जेल सजाय दिन सक्छ । उहाँको मुद्दा आगामी हप्ताहरूमा समाप्त हुने अपेक्षा गरिएको छ ।

यसैबीच, बोल्सोनारोका हजारौँ समर्थक दुई दिनअघि सन् २०२३ जनवरी ८ मा सरकारी भवनहरूमा भएको आक्रमणको अभियोग खेपिरहेकाहरुलाई माफी दिन माग गर्दै साओ पाउलो र रियो डि जेनेरियोमा भेला भएका थिए ।-ब्रासिलिया(रासस\क्युएनए)

Facebook Comments