बिजुली पुगेपछि स्थानीयवासी खुशी

वर्षौँसम्म अन्धकारमा जीवन बिताउँदै आउनुभएकी तनहुँको घिरिङ गाउँपालिका–१ निवासी पार्वती शाहीको मुहार आजभोलि उज्ज्यालो छ । टुकी र मैनबत्तीको सहारामा जीवनयापन गर्र्दै आउनुभएकी उहाँको घरमा अहिले बत्ती बल्न थालेको छ । “बिजुली बत्तीको आसमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना लामो समयपछि पूरा भएको छ”, शाहीले भन्नुभयो, “बत्ती बलेपछि सहज हुने भयो ।”

घिरिङ गाउँपालिका–४ गलकोटकी श्रीमाया थापाले ‘बत्ती बाल्न पाइएला र ?’ जस्तो लाग्ने गरे पनि अहिले बत्ती बलेको देख्दा खुशीको सीमा नै नरहेको बताउनुभयो । “यत्तिका वर्षसम्म बत्ती नआउँदा अब बत्ती बाल्न पाइँदैन होलाजस्तो लाग्थ्यो तर अहिले त घर नै उज्यालो भएको छ”, उहाँले भन्नुभयो ।

स्थानीयवासी दीपक थापाले विगत लामो समयदेखि बिजुलीको आसमा बसेका स्थानीयवासीको मुहारमा खुशी छाएको बताउनुभयो । “बत्ती कहिले बल्ला भनेर लामो समय कुर्यौँ तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै गाउँपालिकामा विद्युतीकरण अभियानले तीव्रता पायो”, उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनपश्चात् गाउँपालिकामा आएका जनप्रतिनिधिको प्रयासबाट घिरिङका सबै घरधुरीमा विद्युत् सेवा पुगेको छ । सबै घरधुरीमा विद्युत् सुविधा पुगेपछि घिरिङ गाउँपालिका अँध्यारोमुक्त बन्न सफल भएको छ ।

घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले लामो समयको प्रयासपछि सबै घरधुरीमा बत्ती बाल्न सकिएको जानकारी दिनुभयो । “बत्ती नपुगेका घरहरुमा बत्ती पुर्याउन निरन्तर काम गर्यौँ, कोभिडको महामारीका बीचमा पनि कतिपय गाउँहरुमा बत्ती बाल्न सफल भयौँ”, थापाले भन्नुभयो, “हालसम्म अँध्यारोमा बस्दै आएका स्थानीयवासीको मुहारमा खुशी ल्याउन सफल भएका छौँ ।”

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाले विभिन्न वडामा विद्युत् सेवा विस्तारलाई तीव्रता दिएको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न भएको बताउनुभयो । जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आएपछि करिब एक हजार ५०० भन्दा बढी घरमा विद्युत् सेवा विस्तार भएको उहाँले जानकारी दिनुभयो ।

“गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पुर्याउने प्रतिबद्धता पूरा भएको छ”, उहाँले भन्नुभयो, “विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत् आयोजना, नेपाल विद्युत् प्राधिकरणले पनि सहयोग पुर्यायो ।” अध्यक्ष रानाका अनुसार गाउँपालिकामा जनप्रतिनिधि आउनु अगाडि १० प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको थियो । “हालसम्म टुकी, मैनबत्तीको भरमा बस्दै आएका स्थानीयवासीलाई अँध्यारोबाट मुक्त पार्छौँ भनेर प्रतिबद्धता जनाएका थियौँ, उक्त प्रतिबद्धता पूरा गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशतभन्दा बढी घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी छ ।

वितरण केन्द्रले गत आर्थिक वर्षमा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सबस्टेशन निर्माण गरिएको छ । उक्त सबस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्याइनेछ । साथै सोही सबस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्याइनेछ ।

Facebook Comments