बिजुक्छेँद्वारा कभर्ड हलको उद्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले खेलजगत्बाट पनि देशको नाम विश्वमा उच्च राख्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर नपा–८ लिबालीस्थित कभर्ड हलको आज उद्घाटन गर्दै उहाँले खेलकुदको विकासलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राख्न सके राष्ट्रिय खेलाडी जन्माएर देशको नाम उच्च राख्नुपर्ने बताउनुभयो ।

खेललाई शारीरिक अभ्यास रुपमा पनि लिन सकिने भन्दै उहाँले युग सुहाउँदो खेलकुदको विकास अहिलेको आवश्यकता हो भन्नुभयो । अध्यक्ष बिजुक्छेँले कृषि उत्पादन घट्दै जानु, विदेशबाट खाद्यान्न आयात वृद्धि हुँदै जाँदा देश आर्थिक सङ्कटतर्फ धकेलिँदै गएको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य सृजना सैँजुले प्रदेश सरकारमा व्याप्त विकृति विसङ्गति रहेको भन्दै सरकारले जनताका आधारभूत आवश्यकतासमेत पूरा नगर्ने तर भ्रष्ट ठेकेदारलाई लगाएर अर्थहीन भ्यू टावर निर्माणमा अर्बाैं रकम खर्च गरेको उल्लेख गर्नुभयो ।

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको विकास निर्माणका गतिविधिमा उपभोक्ता मोडल सफल भएको भन्दै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर भक्तपुर नपाले नगरका २३ वटा ठाउँमा खुल्ला व्यायामशाला स्थापना गरेको जानकारी दिनुभयो ।

उहाँले शहीद स्मृति खेलमैदान र महेश्वरी खेलमैदानको स्तरोन्नतिका लागि आवश्यक पहल भइरहेको बताउँदै व्यक्तिको शारीरिक र मानसिक विकासका निम्ति खेलकुदको अत्यन्त ठूलो भूमिका रहेको बताउनुभयो ।

भक्तपुर नपा–८ का वडाध्यक्ष महेन्द्र खायमलीले पाँच वर्षको अवधिमा करिब ८३ वटा योजना सम्पन्न गर्दै लिबाली क्षेत्रमा खानेपानी पाइपलाइन विस्तार गरेको छ । लिबाली कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर बासीले कभर्ड हल निर्माणको कूल लागत रु एक करोड दुई लाख ९७ हजार ९५ खर्च भएको बताउनुभयो ।

Facebook Comments