-फलेवास नगर अस्पताल निर्माण सुरु-
पर्वत/एक पालिका एक आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ । अस्पतालको शिलान्यास छ वर्षअघि भएको थियो ।
अस्पताल भवन रु नौ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ । नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे दुईतले हुनेछ । आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
-काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर-
काभ्रेपलाञ्चोक/जिल्लाका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् । रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान रुट मेडिकल पिस क्रप्सको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएका हुन् ।
पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा दुई बेथानचोक र रोशी गाउँ पालिकामा शिविर सञ्चालन भएका हुन् । मङ्गलबार रोशीमा सञ्चालित शिविरबाट पालिकाका ५४७ जना लाभान्वित भएका छन् । तेमाल गाउँपालिकाका केही वडाका स्थानीय पनि शिविरमा सेवा लिन पुगेका थिए ।
शिविरमा दन्तरोग, छाला तथा यौनरोग, आँखा जाँच, स्त्रीरोग परीक्षणका साथै औषधि तथा चश्मा निःशुल्क वितरण गरिएको थियो । कान्छीमाया सामुदायिक अस्पतालका अनुसार शिविरमा परीक्षण गराएकामध्येमा मधुमेह, उच्च रक्तचाप, पेटसम्बन्धी रोग बढी लागेको पाइएको छ ।
-लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन-
लुम्बिनी/बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।
आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारको लगानीमा जडान जारी रहेको एमआरआई मेसिन सञ्चालनपछि चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गराउनुपर्ने बाध्यताबाट सेवाग्राही मुक्त हुने उहाँले बताउनुभयो ।
यसैबीच, लुम्बिनी प्रदेशको सुविधासम्पन्न यो अस्पतालमा थप उपकरण जडान तथा सेवा विस्तारमा अस्पताल विकास समितिले प्रयास गरिरहेको समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताउनुभएको छ । सिटीस्क्यान मेसिन खरिदको पनि प्रारम्भ गरिएको छ । हाल अस्पतालमा सात वर्ष पुरानो १६ स्लाइसको मेसिनबाट सेवा प्रवाह भइरहेको छ ।