प्लास्टिक प्रदुषणको समस्यासँग जुध्नका लागि ऐतिहासिक सम्झौता गर्ने विषयमा संयुक्त राष्ट्रसङ्घमा भएको वार्तामा प्रगति अपर्याप्त भएको शनिबार बताइएको छ ।
प्रदुषणको समस्यासँग जुध्नका भएका पहल अपर्याप्त भएको वार्ताको नेतृत्व गरिरहनुभएका समितिका अध्यक्ष लुइस भायस भाल्डिभिसोले बताउनुभएको हो ।
उहाँले सम्झौताका लागि भएका उल्लेख्य प्रयास भएपनि यो अझै अपर्याप्त रहेको मध्यमार्गी आँकलन गर्नुभएको हो ।
मङ्गलबारदेखि सुरु भएको वार्तामा वातावरण मासिने बढ्दो समस्यासँग जुध्न कानुनी रूपमा बाध्यकारी उपायमा सहमति खोज्न चार दिन बाँकी छ ।
इक्वेडरका कूटनीतिज्ञ भाल्डिभिसोले १८४ देशका सबै प्रतिनिधिमण्डल मुख्य सभाहलमा भेला भएका बेला प्रतिनिधिहरूलाई सारांशमा भन्नुभयो, “प्रगति पर्याप्त भएको छैन।”
उहाँले भन्नुभयो, “हामी एक महत्वपूर्ण चरणमा पुगेका छौँ । बिहीबारको समयसीमा अघि हाम्रो साझा लक्ष्य हासिल गर्न अझै ठूलो प्रयास आवश्यक छ।”
उहाँले अगाडि भन्नुभयो, “अगस्ट १४ हाम्रो कामको लागि मात्र समय सीमा होइनः यो एउटा यस्तो मिति हो जुन दिन हामीले नतिजा दिनैपर्छ ।”
शनिबारको अधिवेशनअघि सार्वजनिक रूपमा सार्वजनिक गरिएको मस्यौदाको पाठ अहिले २२ पृष्ठबाट बढेर ३५ पृष्ठमा पुगेको छ र पाठमा कोष्ठकको सङ्ख्या ३७१ बाट बढेर एक हजार ५०० पुगेको छ।
यसले कुन देश वा समूहले प्रस्तावित पाठ घुसायो भनेर निर्दिष्ट गर्दैन । यसको अर्थ परिवर्तनहरू बहुमतद्वारा समर्थन गरिएको वा एक देशले मात्र अघि सारेको हुन सक्छ।
“केही बिषयहरूमा अझै पनि नसुल्झिएका मुद्दाहरू छन् र साझा समझदारीमा पुग्ने दिशामा थोरै प्रगति देखिन्छ,” भाल्डिभिसोले भन्नुभयो ।
“हामीले प्रतिनिधिमण्डललाई प्रस्ताव राख्ने साढे दुई वर्षको अवसर पाएका छौँ,” उहाँले भन्नुभयो, “हस्तक्षेपका लागि अब समय छैन।”
दक्षिण कोरियाको बुसानमा गत डिसेम्बरमा बिना सहमति टुङ्गिएको पाँचौं तथा अन्तिम चरणको वार्ता असफल भएपछि जेनेभास्थित संयुक्त राष्ट्रसङ्घमा विश्वभरबाट प्रतिनिधिहरू पुनः भेला भएका हुन् ।-जेनेभा(रासस/एएफपी)