युवा अवस्थामा प्रेममा पर्नु नौलो कुरा होइन । भविष्य बनाउने समय पनि यही आउँछ । भविष्य बनाउनुका लागि संघर्ष गर्नुपर्ने हुन्छ । त्यसका लागि परिवारको सहयोग र माया आवश्यक पर्छ । संघर्षको कथामा जोडिन्छ प्रेम । जीवनका यिनै आरोह अवरोहको प्रतिबिम्ब हो विस्मरण । जुन कुरा संझेर पनि बिर्सिएकाछन् र बिर्सिएर पनि संझिरहेका छन् । यस्तै समस्याहरुलाई लेखिका सरु अर्यालले एउटा भुक्तमान जीवनको कथालाई पर्दा खसाएर दृष्यावलोकनको गर्ने अवसर पाठकहरुका लागि प्रदान गरेकिछिन् ।
आफूले मन पराएको केटा पाउनका लागि कतिसम्मको मेहनत गर्नुपर्छ भन्ने कुरा यसको मुख्य कथानक हो । बिहे गरेपछि एउटा बच्चा जमिन्छ, त्यसपछि घरमा सुरु हुन्छ संघर्षको कथा । त्यही संघर्षलाई पूरा गर्नका लागि ऊ अष्ट्रेलिया जान्छे । ऊ त्यता पुगेपछि समकक्षी साथीसँग भेट हुन्छ । उसले फेरि अर्को केटा साथीसँग परिचय गराउछे । त्यो केटा केटीको प्रेममा फस्छ । अनु र अरुण दुबै बिबाहित छन् । एकतर्फि प्रेमले अन्धो भएको अरुण अनुलाई मन पराउछ । तर अनुले घरमा श्रीमान अरुणलाई नानी छोडेर यहाँ आएकी छे । नानीको चिन्ताले कति रात ऊ निदाउन सक्दिन ।
अरुणले उसलाई पाउनका लागि हर कोशिस गर्छ । अन्त्यमा उसलाई नपाउने देखेपछि आफ्नो स्वार्थ पूरा गर्नका लागि आफ्नो र अनुको फोटो जोडेर हाम्रो बिबाह भइसक्यो भन्ने देखाउनका लागि अरुणलाई पठाउँछ । यो कुराले अरुण आहात हुन्छ । पहिले राम्रोसँग चलिरहेको परिवारमा समस्याका चाङहरु चुलिन थाल्छन् । यहीबाट कथाले अर्को मोड लिन्छ । मायालु वातावरण र सुखमय जीवनको खोजीमा परदेश जानेहरुको हालको अवस्थाको कथा हो यो । सबैको यस्तै अवस्था छ । विस्मरणले पनि यही कथा बोल्छ ।

यसरी राम्रोसँग चलिरहेको परिबारमा एक्कासी तुषारापात हुन्छ । यही समस्याका कारण विक्षिप्त छ अरुण । उता बाह्य देशमा बसेर आफूले भोगेका समस्याहरुको समाधान गर्दै घरको ऋण तिर्ने र आफू पुनः घर फर्कने अनुको संघर्ष पनि उस्तै छ । अझ घरमा आफ्नो फोन कल उठन छोडेपछि चिन्ताले सताएको छ ।
परदेशमा बस्दा आफन्तको मृत्यु भएपनि आउन पाइदैन । काजकिरिया हाँसो खुसी सबै परदेशले लुटेको छ । परिवारको जति नै याद आएपनि त्यसलाई मनको अन्तरकुनामा दबाएर राख्नुको विकल्प छैन । आम परदेशीले भोग्ने नियति भनेको यही हो । यिनै जीवनमा आउने तरंग र अर्थोपार्जनको लोलुप्ताले हामी कसरी घर परिवारसँग पाषण बन्न बाध्य छौ भन्ने कुराको यर्थाथ विवरण यो उपन्यासले दिएको छ ।
परदेश गएपछि श्रीमान् श्रीमतीको सम्बन्धमा कस्ताकस्ता दरारहरु आउँछन् । बाह्य देशमा बस्ने केटी मान्छेलाई समाजले हेर्ने दृष्टिकोणको अवस्था र परिवारले छोरालाई गर्ने विश्वास छोरीलाई किन गर्न नसकेको होला जस्ता समस्याहरुलाई यस उपन्यासले उजागर गरेको छ । साधारण प्रेमबाट सुरु भएको पे्रमिल परिवार पछि बिस्तारै द्वैध भाव राखेर द्वन्द्वात्मक परिववेशमा प्रवेश गरेको देखाएर कथानकलाई रोचक बनाउने काम लेखिकाले गरेको पाइन्छ । यसका साथै हामी प्रेमलाई जुन रुपमा बुझ्छौ र स्वीकार गर्छौ बिबाहलाई त्यसरी गर्न सकिदैन भन्ने कुराले सामाजिक अवस्थाको चित्रण गर्दछ ।
पारिवारिक विश्वास गुम्दाको परिणाक कस्तो हुन्छ ? त्यसलाई बुझ्न किन नसकिएको होला भन्ने कुराले चिन्ता बढाइरहेको भएपनि विश्वास गर्ने आधार र अरुबाट पाएको सूचनामा भन्दा आफूले यर्थाथतालाई बुझ्न सक्नु पर्ने कुरा उपन्यासले देखाएको छ । जीवनमा हुने उतार चढाव भनेको हाम्रै लोभ र समस्याका कारण आएका हुन । तिनको निराकरण गर्न सकिन्छ । त्यसको लागि विश्वास र पारिवारिक सहयोगको आवश्यकता हुने कुरामा उपन्यासले विशेष जोड दिएको पाइन्छ ।
बिएन पुस्तक संसारले प्रकाशनको जिम्मा लिएको यो पुस्तकको सम्पादन सूर्य बि.सीले गरेका हुन । तीनसय पचास रुपैयाँ तिरेर बजारमा किन्न सकिने यो पुस्तक विदेश जानेका मायालुहरुले विदेशमा गरिने मेहनत र परिवारको माया बुझ्नका लागि पनि पढ्नु पर्ने उपन्यास हो ।