काठमाडौं । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले शुक्रबार डिएमडी बैठक डाक्नु भयो । बैठकमा केही विषयमा गम्भीर छलफल भए । उत्पादन र व्यापारको सवालमा भने वास्तवमै पीडादायी तरिकाको व्याख्या भएको थियोे । खासमा तथ्य नै पीडा दिने खालको छ ।
प्राधिकरणका सबै आयोजना बन्दछन् । एउटा कालीगण्डकी ए १४४ मेगावाट आयोजनामा जडित ३ युनिट मध्ये १ युनिट बाट जम्मा ४८ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ । यो कुरा डिएमडीहरुको बैठकमा उठेपछि माहोल अति निराशाजनक बनेको थियो । प्रणालीमा माग घटेककाले प्राधिकरणले आफ्ना आयोजनाहरु बन्द गर्नु परेको हो ।
भारतबाट स्थायी रुपमा आयातित विद्युत र निजी क्षेत्रबाट उत्पादित विद्युतले हालको माग धानेको हुँदा यस्तो स्थिति आएको हो । प्रशारण लाइनको निमार्ण समयमा नहुनु, अन्य संरचनामा सुधार नहुनु र माग भएको ठाउँमा विद्युत दिन नसक्नुले यस्तो अवस्था आएको हो ।
अब मन्त्रीले डोकोमा विजुली बेच्ने
खै उर्जा मन्त्री वर्षमान पुन तत्कालिन एमडी कुलमान घिसिङको पछि लागेर सेतो हेल्मेट लाएर तामाकोसीको सुरुङमा पसेको फोटो ? एउटा मिटर भित्तामा चिप्काउँदैमा प्रधानमन्त्रीसमेत खिसिक्क हाँसेर फलामको सिन्को ट्याक्क पार्ने काम गर्नु भएको थियो । यस्ता कामबाट चित्त बुझाउँदा राम्रो परिणाम कसरी पो आउँला र खै ?
वर्षमान र कुलमानले डोकोमा विजुली बेच्ने शीर्षकको समाचार जलस्रोतले पहिला नै प्रकाशित गरिसकेको छ । खेर गइरहेकाे विजुली डाेकामा नबेचेर के गर्ने त ।
नक्कली नाफा र हिनामिना
महालेखा परीक्षकको कार्यालयले २०७६ असार ३१ गते प्रकाशित गरेको लेखा परीक्षणमा १ खर्ब २३ अर्बको हिसाब नराखेको कुरा सार्वजनिक गरेको छ । अर्थशास्त्रले हिसाब नराखेको रकमलाई हिनामिना भन्छ । डेडिकेट र अप्टिकल फाइवरको १७ अर्ब कथित बक्यौतालाई औँठाछाप लगाएर सदर गर्ने संचालक समितिका अध्यक्ष उर्जा मन्त्री वर्षमान पुनले जुङ्गामा ताउँ लगाउदै ११ अर्ब नाफा घोकेर घाँटी नसुक्दै नकारात्मक परिणाम निस्कदा थोरै भएपनि शंकोच मान्नु पर्ने होइन र । त्यही काइते हिसाब निकाल्न नायकको भूमिका निभाउने लेखा प्रमुख हाल निमित्त कार्यकारी निर्देशक हुनुहुन्छ । अब नक्कली नाफाको बोसो पग्लिन थालेकाे छ ।
कार्यकारीको स्टेटमेन्ट
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला भन्नुहुन्छ: डिमाण्ड अनुसार उत्पादन हुन्छ । माग र आपूर्तिको व्यालेन्स छ । प्राधिकरणका आयोजनाहरुबाट उत्पादन भइरहेको छ । व्यालेन्स मिलाउन कुनै बेला उत्पादन कम भएको होला मैले सबै अपडेट गरेको हुन्छु । अहिले प्राधिकरण र निजी क्षेत्रको उत्पादनले पुगेको अवस्था हो माग बढी भएको बेला भारतबाट पनि आयात हुन्छ । तर अहिले आयात गर्नु परेको छैन । फेरि पहिला जस्तो छैन । जुन बेला चाहियो त्यही वेला ल्याउन सकिन्छ । घण्टा घण्टामा ल्याउने वा नल्याउने गर्न सकिन्छ । डिएमडी मिटिङ भएको हो । हाम्रा सबै उत्पादन बन्द गर्नु परेको स्थिति छैन । कालीगण्डकीको १३० मेगावाट उत्पादन गरेको छ ।
याे आंकडामा परिवर्तन भएकाे छैन ।
डिमाण्ड र सप्लाई पक्ष कस्तो छ त ? पिक आवरमा विहान ५ बजे देखि १० बजे सम्म ११५० मेगाबाट माग रहेको छ । बिहानको १० बजे देखि साँझ ५ बजेसम्मकाे माग ८०० मेगावाट रहेको छ । यसले ७ घण्टामा ३५० मेगावाट विद्युत खेर गएको कुरालाई पुष्टि गर्दछ । यसलाई प्राधिकरणका इन्जिनियरहरु ३५०˟७˟ १०००=२४,५०,००० युनिट हिसाब गर्ने गर्नुहुन्छ । यो युनिट भनेको खेर जाने विजुली हो । राती ११ बजेबाट विहान ५ बजेसम्म अफ पिक आवरमा ४०० मेगावाट विद्युतको माग रहेको छ । यसरी ६ घण्टामा ७५० मेगावाट विजुली खेर जान्छ । यसलाई पनि यसरी नै हिसाब निकालेर ७५०˟६˟ १०००=४५,००,००० युनिट खेर गएको विजुली मानिन्छ ।
अब यसरी हेर्दा प्रत्येक दिन खेर जाने विजुली भनेको २४,५०,००० युनिट र ४५,००,००० युनिट को कुल ६९,५०,००० युनिट हुन्छ । विद्युत नियमन आयोगले हालै जारी गरेको विद्युत महशुल दर औषतमा १०.५० पैसा प्रति युनिट रहेको छ । यसरी खेर गएको विजुलीलाई रुपैयाँमा तुलना गर्दा ६९,५०,००० युनिट ˟ १०.५० = रु ७,२९,७५,००० (सात करोड उन्तीस लाख पचहत्तर हजार) दैनिक नोक्सानी देखिन आउँछ । यो वास्ताविकता हो ।
(याे समाचार नेविप्रा तथ्य लुकाएर मन्त्रीलाई बैरी र जनतालाई गुमराहमा राख्दै शीर्षकमा असारमा नै प्रकाशित भइसकेकाे छ । )