नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

प्रधानमन्त्री भदौ १४ गते चीन जाने

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो विषयमा प्रधानमन्त्रीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले यही भदौ १४ देखि १८ गतेसम्म चीनको भ्रमण गर्नुहुने तय भएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गुरुङले भन्नुभयो, “भारत र चीनका विदेशमन्त्रीबीच लिपुलेकका विषयमा भएको सहमति नेपालको सार्वभौमिकताका विरुद्धमा छ । साङ्घाई फोरमका सिलसिलामा छिमेकी शीर्ष नेतृत्वबीच हुने उच्चस्तरीय भेटघाटमा यो विषयमा कुराकानी हुन्छ ।” भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइडलाइन’ भेटवार्ताका लागि दुवै देशका तर्फबाट तयारी भइरहेको उहाँको भनाइ थियो ।

मन्त्री गुरुङले भारत र चीनका विदेशमन्त्रीबीच नेपालको लिपुलेक भएर व्यापारिक मार्ग प्रयोग गर्ने सन्दर्भमा भएको सहमतिबारेमा नेपाल सरकारका तर्फबाट यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट जारी गरिसकेको बताउनुभयो ।

यसैबीच, उहाँले सरकारले नयाँ र ठूला योजना नथप्ने र गर्नसक्ने योजनामात्रै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने नीतिलाई कडाइका साथ अवलम्बन गरिने उल्लेख गर्नुभयो । खस्किँदो अर्थतन्त्र वर्तमान सरकारका नीति र क्रियाकलापले लयमा फर्किएको बताउँदै उहाँले अन्तरमन्त्रालय समन्वयका कारण तीव्रगतिमा हुन नसकेका विकास पूर्वाधारलाई समन्वय गरी अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका कामलाई चुस्तदुरुस्त बनाउन तथा प्रभावित हुन नदिन मन्त्रीको विदेश भ्रमणमा कडाइ गरिएको तथा मन्त्री र सचिव एकैसाथ भ्रमणमा जान नदिने व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

-भ्रमणमा जानुुहुने कार्यतालिका सार्वजनिक-

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुुहुने कार्यतालिका सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवमा सहभागिता जनाउन यही भदौ १४ गते चीनतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री ओलले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्नुहुनेछ । उहाँले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँगसमेत भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुनेछ ।

प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनुहुनेछ ।

Facebook Comments