काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँले संविधानसम्मत् राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिनुभएको राजीनामा पत्रमा उल्लेख छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत हुनुभएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो ।
-राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत-
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागूहुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो ।
नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने जिम्मेवारी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।