काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ ।विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरबाट छानिएका १७ सडकमध्येको एक हो । चवालिस करोड २४ लाख लागतमा निर्मित ४ दशमलव ८६ किलोमिटर सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको नमुना यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका कामसक्ने अभियानमा सरकार रहेकोे बताउनुभयो । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण हुने घोषणा पनि गर्नुभयो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवाको भावनाका साथ महत्वपूर्ण विषयमा निःशुल्क ‘अनलाइन’ कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताउनुभयो ।
आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्नेगरी केही विरोधीले स्पेनमा मान्छे छाडेर आयो भनेर झुटा प्रचार गरेकामा आपत्ति जनाउँदै उहाँले यस्ता विषयमा जवाफ दिन आवश्यक नभएको टिप्पणी गर्नुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरु शेरधन राई, उद्धव थापालगायत सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले खेत नजिकै नदी भए पनि सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आह्वान गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना काम गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।