पर्साका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

काठमाडौँ/पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाइएको विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानेपनी मन्त्रीज्यूको निर्देशनपश्चात् विभागबाट आवश्यक सामग्रीसहित प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएका छौँ । टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्य सुरु गरिसकेको छ।”

वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।

हैजा नियन्त्रणका लागि सरकार संवेदनशील छ

यसैगरी खानेपानीमन्त्री प्रदीप यादव पनि हैजा प्रभावित क्षेत्रमा पुग्नु भई त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । त्यस क्रममा उहाँले हैजा नियन्त्रणका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा पुगेपछि मन्त्री यादवले भन्नुभयो, “हामी हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरेर काम गरिरहेका छौँ । सरकार यस विषयमा निकै गम्भीर छ ।”

मन्त्री यादवले हैजा प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणसँगै त्यहाँको नारायणी अस्पताल, तराई हस्पिटल, वीरगञ्ज हेल्थ केयरलगायत अस्पतालमा उपचाररत सङ्क्रमित बिरामीहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

-झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु-

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताउनुभयो ।

यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको बताइएको छ । स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ ।

-‘डेडिकेटेड बेड’ छुट्याई उपचार गरिने-

जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई यहाँका सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन दिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले हैजाको सङ्क्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्याई उपचार गर्न र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको हो ।

बैठकले झाडापखाला रोकथामका लागि सबै सरोकार भएका निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुुरु गर्ने निर्णय गरेको निमित्त प्रजिअ कार्कीले जानकारी दिनुभयो ।

यस्तै, सरसफाई प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला निकायलाई प्रभावकारी परिचालन गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।

झाडापखाला, हैजाका लागि जिम्मेवार मानिएको भिब्रिओ कोलेरा जीवाणु रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थालगायतको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन गरी जागरण अभियानसमेत सञ्चालन गरिने जनाइएको छ ।

Facebook Comments