नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाको पूर्ण तयारी गरेर लगानी सम्मेलनको आयोजना हुनसके त्यसबाट उचित प्रतिफल प्राप्त हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “तयारी नगरी लगानी सम्मेलनलगायतका कार्यक्रम आयोजना गर्दा त्यो अपेक्षाकृत सफल हुन सकेको छैन, अब तयारी आयोजनासहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ ।” अन्तरराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार समारोहलाई सम्बोधन गर्दै उहाँले लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छाडेर हेर्ने हो भने अपेक्षितरूपमा विदेशी लगानी आउन नसकेको यथार्थ चित्रण गर्नुभयो । महासङ्घले भारत, चीनलगायतका बाह्य लगानी आउनसक्ने देशका यहाँस्थित दूतावाससँग पनि यस विषयमा छलफल अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष गोल्छाले भन्नुभयो, “नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ ।” महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका कारणको गहिरो अध्ययन जरुरी रहेको बताउनुभयो । महासङ्घका कार्यकारिणी समितिका सदस्य आनन्दकुमार बगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार गरिएको छ । समितिका सदस्यमा शक्तिकुमार बेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समीर शर्मा, समीक्षा राई, दिलीप अग्रवाल र दिपीका श्रेष्ठलगायत हुनुहुन्छ ।
Facebook Comments