नर्वेको ऐतिहासिक सहयोगः युक्रेनलाई ८ वर्षमा २७ अर्ब डलर भन्दा बढी सहायता

नर्वे सरकारले सन् २०२६ मा युक्रेनलाई प्रदान गरिँदै आएको सहायता यथावत् राख्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री जोनास गार स्टोरेको कार्यालयका अनुसार, आगामी वर्षका लागि ८५ अर्ब नर्वेजियन क्रोनर (झण्डै ८.४ अर्ब अमेरिकी डलर) बराबरको सैन्य तथा नागरिक सहायता प्रस्तावित गरिएको हो ।

उक्त प्रस्ताव प्रधानमन्त्री स्टोरेको युक्रेन भ्रमणको अवसरमा सार्वजनिक गरिएको हो, जुन संसदबाट पारित भएमा सन् २०२३ देखि २०३० सम्म नर्वेले युक्रेनलाई दिने कुल सहायता २७५ अर्ब क्रोनर (२७.१ अर्ब डलर) पुग्नेछ ।

प्रधानमन्त्री स्टोरेले एक विज्ञप्तिमार्फत् भन्नुभयो,“युक्रेनले आफ्नो स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न संघर्ष गरिरहेकै बेला हाम्रो निरन्तर सहयोग अपरिहार्य छ। हामीले सन् २०२६ मा पनि युक्रेनलाई विशेष सैन्य र नागरिक सहायता उपलब्ध गराउने प्रस्ताव अघि सारेका छौं ।”

उहाँले हालको अवस्थामा युक्रेनप्रति दृढ राजनीतिक, आर्थिक र सैन्य समर्थन दोहोर्याउनु आवश्यक रहेको बताउनुभयो ।

यो सहायता प्रस्ताव आगामी अक्टोबर महिनामा प्रस्तुत हुने २०२६ को राष्ट्रिय बजेट मा समावेश गरिनेछ । यद्यपि, प्रस्तावलाई संसदले अनुमोदन गर्नुपर्नेछ ।

नर्वेले सेप्टेम्बर ९ मा संसदीय निर्वाचन गर्न लागेको सन्दर्भमा यो प्रस्ताव सार्वजनिक भएको हो ।

यसबाहेक, नर्वेले आइतबार घोषणा गरेको अनुसार, युक्रेनको हवाई सुरक्षा बलियो बनाउन झण्डै सात अर्ब क्रोनर विनियोजन गरिनेछ । यस अन्तर्गत, जर्मनीसँगको सहकार्यमा दुईवटा पेट्रियट हवाई रक्षा प्रणाली खरिद गरिने योजना बनाइएको छ ।-ओस्लो(रासस/एएफपी)

Facebook Comments