“हिमालमा हिउँ नटुटे झैँ
जिन्दगीका अनेकौँ मोडहरूमा
एकपछि अर्को दोसाँध आइरहँदा रहेछन्”
कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने एकपछि अर्को दोसाँधले मानिस स्वयंलाई अलमल्याइरहेको चित्रण गरिएको छ । हालै बजारमा आएको विभिन्न ५१ वटा कविताको यस सङ्ग्रहमा कविले जीवन र जगत्का विविध पक्षलाई उतार्नुभएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस र यसले समाजमा पारेको प्रभाव, माया प्रेमदेखि मातृत्व र मातृभूमि आदिलाई कविताहरूमा समेटिएको छ । वर्तमानमा समाजमा कोरोनाले पारेको प्रभावबारे चर्चा गर्दै कवि शाहले ‘कोरोना’ शीर्षकको कवितामा भन्नुभएको छ,
“विश्व मानचित्रमा
सन्त्रास फैलाउन सफल
अदृश्य कोरोनाले
मानव जीवनमा
अविस्मरणीय घटना निम्त्याइरहेछ”
यही कवितामा कोरोनाले विश्वलाई नै क्वारेन्टिन र आइसोलेशनमा ठप्प पारेको चर्चा गर्दै उहाँ लेख्नुभएको छ, “विना सर्त, विना अनुमति अदृश्य शक्तिका रुपमा मानव क्षमता र घमण्डलाई चुनौती दिँदै विश्वलाई आइसोलेशन र क्वारेन्टिनमा ठप्प पार्न अग्रसर छ कोरोना” हिमाल, पहाड र तराईले भरिपूर्ण हाम्रो मातृभूमि गर्व गर्न लायक भएको उल्लेख गर्दै ‘मातृभूमि’ कवितामा उहाँले भन्नुभएको छ,
“जन्मँदै सगरमाथाको चुचुरोबाट
विश्वलाई नियाँल्न पाउनु
हिउँ जलमा डुबुल्की मार्दै
नेपाल आमाको काखमा
प्राकृतिक छटासँग
लुटुपुटु हुँदै रमाउन पाउनु हाम्रो अहोभाग्य”
बढ्दो भ्रष्टाचारका विरुद्धमा आवाज उठ्न नसकेको भन्दै कविले बतासे विकास शीर्षकको कवितामा भन्नुभएको छ, “योजनाको भर्याङ चढेर विकासका नाममा भरिरहेछन् आफ्ना ढुकुटी चखाइरहेका छन् ।