सङ्खुवासभा/यहाँस्थित खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबलको फाइनलमा झापाको चुलाचुली क्लब प्रवेश गरेको छ ।
चुलाचुलीले मङ्गलबार हुने फाइनल खेलमा आयोजक तीनपोखरी क्लबसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । आज खाँदबारी रङ्गशालामा भएको दोस्रो सेमीफाइनलमा एपिएफ कोशी प्रदेशलाई टाइबे्रकरमा ४–२ गोलले हराउँदै चुलाचुली फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा पुगेको थियो ।
फाइनलमा पुगेको आयोजक तीनपोखरी क्लबले मोरङको बुल्स ११ लाई १–० गोलले हराएको थियो । प्रतियोगितामा आठ क्लब सहभागी थिए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद रु दुई लाख २५ हजार प्राप्त गर्नेछ । उपविजेताले नगद रु एक लाख १० हजार पाउने छ ।
माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई रु एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गर्नुभएको हो । चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उहाँले छलफल गर्नुभएको थियो । उक्त छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले सो संस्थाको प्रशंसा गर्नुभयो । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा उहाँले सन्तोष व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुुललगायतको अवलोकन गर्नुभयो ।