डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने

अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा ‘ठूलो बैठक’ को अध्यक्षता गर्नुहुने घोषणा गर्नुभएको छ ।

बैठकमा युद्धपछिको गाजाको व्यवस्थापनबारे ‘व्यापक योजना’ मा छलफल हुनेछ । टाइम्स अफ इजरायलले फक्स न्युजलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

टाइम्स अफ इजरायलका अनुसार, विटकफले युद्धपछिको व्यवस्थापनका लागि अमेरिकी योजनाको अस्तित्व सार्वजनिक गर्नुभएको यो पहिलो पटक हो ।

“धेरै मानिसले यो योजना कति बलियो छ र यसको अर्थ कति राम्रो छ भनेर हेर्नेछन् । यसले राष्ट्रपति ट्रम्पको मानवीय उद्देश्यहरूलाई प्रतिबिम्बित गर्छ”, विटकफले फक्स न्युजलाई दिनुभएको अन्तर्वार्तामा भन्नुभयो ।

उहाँले युद्धविराम सम्झौताबारे ट्रम्प प्रशासनको आधिकारिक धारणा दोहोर्‍याउँदै आंशिक गाजा बन्धक सम्झौताका विपक्षमा रहेको बताउनुभयो ।

यसअघि, हमासले अगस्ट १८ मा अरब मध्यस्थकर्ताहरूको पछिल्लो प्रस्ताव स्वीकार गरेको थियो । तर, ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ‘हमासलाई पूर्ण रूपमा ध्वस्त पारेपछि मात्र बन्धकहरूलाई मुक्त गर्नुपर्छ’ भन्ने धारणा राख्दै आंशिक सम्झौताविरुद्ध समर्थन जनाउनुभएको थियो ।

यद्यपि, टाइम्स अफ इजरायलका अनुसार ह्वाइट हाउसले पछिल्लो चरणबद्ध बन्धक सम्झौता प्रस्तावको समीक्षा गरिरहेको बताएको छ ।

हमासले ६० दिनको प्रस्ताव स्वीकार गरे पनि विटकफले सम्झौताको ढिलाइका लागि लडाकू सङ्गठनलाई दोष दिनुभयो । उहाँले भन्नुभयो, “उनीहरूले गत महिना प्रक्रिया ढिलो पार्न खोजे ।”

उहाँका अनुसार इजरायलले तीव्र दबाब दिएपछि मात्रै हमासले यो प्रस्ताव स्वीकार गरेको हो । “अब हामी त्यो सम्झौता स्वीकार गर्छौं भन्ने कुरा हमासले गरिरहेको छ । मलाई लाग्छ उनीहरूले यसरी भन्नुको कारण इजरायलीहरूको तीव्र दबाब हो”, उहाँले फक्सलाई भन्नुभयो ।

तर, इजरायलले यो सम्झौता स्वीकार गर्ने वा नगर्ने विषयमा उहाँले केही टिप्पणी गर्नुभएन ।

इजरायलले हालसम्म सम्झौता स्वीकार गरेको छैन र आफ्नो गाजा निकासी योजनाको एक अंशका रूपमा हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने उद्देश्यसहित स्थल अभियान चलाइरहेको छ ।

सोमबार बिहानदेखि गाजामा भएका इजरायली आक्रमणले कम्तीमा ६१ जनाको मृत्यु भएको छ, जसमा सात जना सहायता खोज्ने क्रममा मारिएका थिए ।

गाजाको नागरिक सुरक्षाले अगस्ट ६ देखि इजरायलले गाजा सहरमा एक हजार भवन ध्वस्त पारेको बताएको छ । सयौँ मानिस भग्नावशेषमा फसेका छन् भने निरन्तर गोलाबारी र अवरुद्ध मार्गका कारण उद्धार तथा सहायता कार्यमा गम्भीर अवरोध भएको छ ।-वासिङ्टन(रासस/एएनआई)

Facebook Comments