दाङ/तुल्सीपुर उपमहानगरपालिका–११ सलौरा बेलगनारमा करिब ५० बिघा जग्गा छ । तर त्यो जग्गा हिउँदमा बाँझो हुन्छ । वर्षात्मा पनि धान रोप्न अकासे पानीको भर पर्नुपर्छ । तर, अब यी समस्या हट्ने भएका छन् ।
सङ्घीय सरकारको रू ७५ लाख लगानीमा सिँचाइका लागि डिपट्युवेल निर्माण सुरू भएपछि किसान खुसी भएका हुन् । “हामीले पटकपटक यहाँको सिँचाइका लागि माग गर्यौँ, अहिले बजेट आयो, काम पनि अघि बढेको छ”, स्थानीय किसान डिल्लीराज आचार्यले भन्नुभयो, “अब यहाँको जमिन हराभरा हुनेछ ।”
डिपट्युवेल भएपछि बाह्रै महिना खेती हुने किसानको अपेक्षा छ । सधैँ खेत बाँझो राख्नुपर्ने अवस्थाको अन्त्य हुने अर्का किसान बेद बोहराले बताउनुभयो । अब विद्युत् र सडकको व्यवस्था गरिदिन उहाँले माग गर्नुभयो ।
पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले किसानको समस्यालाई समाधान गर्न डिपट्युवेल निर्माणका लागि लामो समयदेखि पहल गरिए पनि हाल आएर त्यसले सार्थकता पाएको सुनाउनुभयो । “कृषि नै समृद्धिको आधार हो”, उहाँले भन्नुभयो ।
निर्माण सुरू गर्ने मात्र नभई यसलाई पूरा नगर्दासम्म निरन्तर निगरानी गरिरहने समेत उहाँले बताउनुभयो । उक्त ट्युवेल निर्माण भएपछि एक सय बढी किसान लाभान्वित हुनेछन् ।