ज्ञान, विज्ञान, धर्म र मानवताको सङ्गमस्थलका रुपमा विकास हुँदै उत्तरबाहिनी-वासुदेव पौडेल

गण्डकी/गण्डकी र लुम्बिनी प्रदेशको सिमानास्थित स्याङ्जाको गल्याङ नगरपालिका–१ र पाल्पाको रम्भा गाउँपालिका–१ को सङ्गमस्थल उत्तरबाहिनी क्षेत्रलाई ज्ञान, विज्ञान, धर्म र मानवताको सङ्गमस्थलका रुपमा विकास गर्ने उद्देश्यअनुरुप काम अघि बढाइएको छ ।

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको सक्रियतामा यहाँको प्रवर्द्धन र विकासमा निरन्तर पहल बढाइएको हो । प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्यकृष्ण जी महाराजका अनुसार उत्तरबाहिनी क्षेत्र धार्मिक रुपमा विशिष्ट महत्वको क्षेत्र हो । उत्तरतर्फ फर्केको नदीलाई सर्वतीर्थका रुपमा लिइने उल्लेख गर्दै उहाँले यस क्षेत्रमा कालीगण्डकी उत्तर भएर बगेको हुनाले यस क्षेत्रलाई उत्तरबाहिनी भनिएको हो ।

उत्तरबाहिनीको दर्शन गर्दा पाप नाश हुने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो । यस क्षेत्रको समग्र विकासका लागि प्रतिष्ठानले निरन्तर पहल गरिरहेको बताउँदै उहाँले यस पहलमा राज्यका विभिन्न निकायसँगै आम भक्तजनको निरन्तर साथ र सहयोग भएको जानकारी दिनुभयो ।

“कालीगण्डकीको महिमाका साथै यस क्षेत्रको संरक्षण र विकासको लक्ष्यका साथ २०७२ सालमा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान संस्थागत रुपमा दर्ता गर्दै अघि बढाइएको हो”, उहाँले भन्नुुभयो, “त्यसयता प्रतिष्ठानको सक्रियतामा यस क्षेत्रमा ज्ञान विज्ञान महायज्ञसँगै विभिन्न पूर्वाधार निर्माणका काम सञ्चालन भैरहेका छन् ।”

प्रतिष्ठानले २०७३ असोज २७ गतेदेखि कात्तिक ७ गतेसम्म नेपाल महिमा एवं गीता ज्ञान विज्ञान महायज्ञ सञ्चालन गरेको जानकारी दिदै उहाँले सो क्रममा २१ करोड दीप प्रज्वलन गरिएको बताउनुुभयो । महायज्ञमा रु एक करोड चार लाख सङ्कलन भई करिब रु ५५ लाख खर्च भएको थियो । बाँकी रकमबाट ४० रोपनी जग्गा खरिद गरिएको थियो । त्यस यता सोही जग्गामा विभिन्न किसिमका पूर्वाधार विकासका काम भइरहेका छन् । विसं २०७४ मा रु ५० लाख लागतमा एक हजार जना अट्ने सभाहल निर्माण गरिएको छ ।

प्रतिष्ठानले यस क्षेत्रमा प्राकृतिक चिकित्सालय सञ्चालन गरेको छ । यहाँ १२ वटा कोठाको प्राकृतिक चिकित्सालयको भवन निर्माण गरिएको छ । सङ्घीय बजेटबाट रु दुुई करोड १२ लाखको लागतमा चिकित्सालय भवन निर्माण गरिएको हो । प्राकृतिक चिकित्सा, योग उपचारआदि सञ्चालन भइरहेको उक्त चिकित्सालय यही वर्ष वैशाखदेखि सञ्चालनमा आएको आचार्य चैतन्यकृष्णले जानकारी दिनुभयो ।

मिनि मुक्तिनाथ धाम

प्रतिष्ठानले यस क्षेत्रलाई मिनि मुक्तिनाथ धामका रुपमा विकास गर्नेगरी अघि बढेको छ । उक्त प्रयोजनका लागि २० फिट उचाइको भगवान् शिवको मूर्तिसहित १०८ धारा स्थापना भइसकेको छ । ती धाराबाट कालीगण्डकीको जल आउने गरी व्यवस्था मिलाइएको जानकारी दिँदै आचार्य चैतन्यकृष्णले हालसम्मका पूर्वाधार निर्माणका लागि करिब रु एक करोड खर्च भइसकेको र अन्य थप पूर्वाधार विकासमा रु एक करोड खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो । परिसरमा शङ्खद्वार, नृसिंह गुफालगायतका संरचना निर्माण गरिएको छ ।

प्रतिष्ठानद्वारा गुरुकुल सञ्चालन

प्रतिष्ठानले यस क्षेत्रकै कालीगण्डकी पारी रम्घा गाउँपालिका–१ पाल्पामा कालिगण्डकी गुरुकुल सञ्चालनमा ल्याएको छ । विसं २०७६ देखि कक्षा ६ देखि १० सम्म सञ्चालन भैरहेको सो गुरुकुलमा हाल ३७ जना विद्यार्थी अध्ययनरत छन् । गुरुकुलबाट दुई शैक्षिक सत्रका विद्यार्थीले एसइई दिइसकेका छन् । सुरुमा चार कोठासहित पठनपाठन सुरु गरिएको गुरुकुलमा रम्भा गाउँपालिकाले माथि थप दुुई तला निर्माण सहयोग गरेको छ ।

प्रतिष्ठानले रेडियो जनकल्याण पनि सञ्चालन गरिरहेको र यसलाई रेडियो उत्तरबाहिनीका रुपमा सञ्चालन गर्ने योजना अघि सारेको छ ।

कालीगण्डकी महिमासँगै यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्नका लागि प्रतिष्ठानले २०५९ सालदेखि निरन्तर दामोदर धार्मिक उत्सव सञ्चालन गर्दै आएको छ । यस वर्ष गत असोज ११ गतेदेखि यही कात्तिक १९ गतेसम्म उत्तरगण्डकी महामेला दामोदर धर्मोत्सव सञ्चालन भइरहेको छ ।

धर्मोत्सवका लागि हरिद्वारलगायतका नेपाल र भारतका विभिन्न स्थानहरूबाट प्रसिद्ध सन्तगुरुहरू सहभागी हुनुभएको आयोजकले जनाएको छ । महामेलामा सहभागी हुने भक्तजनलाई देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथलगायतका तीर्थस्थल दर्शनको व्यवस्था मिलाइएको अध्यक्ष चैतन्य कृष्णले बताउनुभयो ।

महामेला अवधिभर तुलसीदल, गण्डकीजलद्वारा सवालाख शालग्राम भगवान्को अभिषेक पूजन, दीपदान तथा शृृङ्गारिक गङ्गा आरती, विश्वविख्यात संत एवं गुरुहरूद्वारा प्रवचन, उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजनलगायतका गतिविधि गरिँदै आइएको छ ।

महमामेलाकै अवसरमा राष्ट्रिय लोकभजन प्रतियोगिता, राष्ट्रिय वतृत्वकला प्रतियोगिता, धार्मिक तथा सांस्कृतिक हाजिरीजवाफ, निबन्ध लेखन, कविता प्रतियोगिता पनि सञ्चालन भइरहेको जनाइएको छ । महायज्ञमा हालसम्म करिब रु दुई लाख भक्तजन सहभागी भैसकेको र यहाँको समग्र विकासका लागि करिब रु दुई करोड दान सहयोग समेत प्राप्त भएको आचार्य चैतन्यकृष्णले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञकै क्रममा १५ कोठासहित ध्यानकक्ष निर्माणका लागि रु पाँच करोड सहयोगको घोषणासमेत भइसकेको छ ।

गण्डकी र लुम्बिनी प्रदेश सरकारको चासो

उत्तरबाहिनी क्षेत्रको समग्र विकासका लागि गण्डकी र लुम्बिनी प्रदेश सरकारले चासो दिएका छन् । यसै क्षेत्रमा गत भदौ १६ गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यबीच सम्पन्न मुख्यमन्त्रीस्तरीय बैठक सम्पन्न भई दुवै प्रदेशको समग्र विकासमा साझा प्रयत्न गर्ने निर्णयसहित नौ बुँदे घोषणापत्र जारी गरिएको थियो ।

उक्त बैठकमा ‘दामोदरकुण्ड कृष्णागण्डकी ‘उत्तरवाहिनी’–लुम्बिनी मुक्तिमार्ग’ विकासका लागि अवधारणा पत्र तयार गर्न दुवै प्रदेशको पर्यटन हेर्ने मन्त्रालयको समन्वयमा प्रक्रिया अघि बढाउने निर्णय गरिएको थियो ।

सो बैठकमा उत्तरबाहिनी क्षेत्रमा सञ्चालन हुने कात्तिक महास्नान तथा दामोदर धर्मोत्सव भव्य रूपमा सफल बनाउन प्रदेश सरकारबाट सहजीकरण गर्ने र स्थानीयस्तरमा सहजीकरणका लागि आ–आफ्नो प्रदेशका स्थानीय तहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुरोध गर्ने निर्णय गरिएको थियो ।

त्यस्तै कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिका लागि दुवै प्रदेशका योजना आयोगको समन्वयमा संयुक्त रुपमा कार्यान्वयन गर्न सकिने कार्यक्रम पहिचान गरी आगामी पुस मसान्तभित्र दुवै प्रदेश सरकारमा पेस गर्ने उल्लेख गरिएको थियो ।

यस्ता धार्मिक महत्वका स्थलको प्रवर्द्धन र विकासका लागि राज्यका साथै सबैको साथ र सहयोग अपरिहार्य हुने समाजसेवी एवं उत्तरगण्डकी महामेलाको प्रचारप्रसार समिति गण्डकी प्रदेशका संयोजक चन्द्रकान्त बरालले बताउनुभयो ।

धर्मोत्सवका माध्यमबाट नेपालका ऐतिहासिक एवं धार्मिक महत्वका तीर्थहरूको पनि उजागर गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका सहसचिव एवं महामेला आयोजक समितिका सचिव विवेक बस्यालले बताउनुभयो ।

Facebook Comments