जुम्ला/जिल्लास्थित कृषि विकास कार्यालयले यहाँका किसानलाई अनुदानमा जैविक मल वितरण गरेको छ । किसानको मागअनुसार कार्यालयले जैविक मल वितरण गरेको हो ।
कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले यही जेठ १८ गतेदेखि किसानलाई अनुदानमा प्राङ्गारिक जैविक मल वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म हालसम्म १५ हजार ४५० क्विन्टल मल एक सय २६ जनालाई वितरण गरिसकिएको छ ।
प्रमुख अधिकारीले भन्नुभयो, “सबै कागजात पुगेका किसान, कृषि फार्म, कृषक समूह तथा कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा प्रतिकिसानलाई ५० किलोका दरले मल वितरण गरिरहेका छौँ ।” उहाँका अनुसार चार हजार ३५० क्विन्टल मल मौज्दात छ ।
स्याउ बिरुवा, अन्नबाली, तरकारीखेतीमा आवश्यक पर्ने मल अनुदानमा पाउँदा किसानलाई राहत पुगेको चन्दननाथ नगरपालिका–६ का स्थानीय गणेश रावलले बताउनुभयो । “पटकपटक जैविक मलको खोजी गर्दा पनि पाइएको थिएन । अन्नबाली, फलफूल र तरकारीखेतीका लागि जैविक मलको उपयुक्त मानिने भएकाले यसको प्रयोगमा जोड दिएका हौँ”, उहाँले भन्नुभयो ।
मल लिन कार्यालयले सातदिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा उल्लेखित समयभित्र दर्ता हुन आएका किसानलाई मल दिँदै आइएको कार्यालयले जनाएको छ । जैविक मल वितरण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु छ लाख ८० हजार रकम विनियोजन भएको कृषि विकास कार्यालयले जनाएको छ ।
रासायनिक मल र विषादी प्रयोग भइरहेको जनगुनासो बढेकाले जैविक मल उपलब्ध गराइएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । रैथाने उत्पादन वृद्धि गर्न, जैविक मलको प्रयोग बढाउन, विषादीको प्रयोगलाई रोक्न र अर्गानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गरिएको कार्यालयले जनाएको छ । विसं २०६४ मा १४औँ जिल्ला परिषद्ले जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिसकेको छ ।