गण्डकी/जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । जयन्तीका अवसरमा समाजले गीतकार हरिहर खनियालाई इन्द्र–हुमा वाङ्मय सम्मान अर्पण गरेको छ ।
वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानिया, डा नारायणप्रसाद अधिकारी, कोष संस्थापक सीता जिसी र पूर्वसम्मानित प्रतिभा डा पुष्पा केसी भण्डारीले उक्त सम्मान अर्पण गर्नुभएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार बानियाले पूर्वीय र पाश्चात्य साहित्यको महत्वपूर्ण सम्पत्तिका रूपमा नाट्यसम्राट समका सिर्जना रहेका बताउनुभयो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले सबै स्रष्टालाई माया गर्ने समाजसेवी व्यक्तित्वका रूपमा रहनुभएका खनियालाई संस्थाले सम्मान गरेर संस्था आफैँ सम्मानित भएको बताउनुभयो ।
प्रा डा यमबहादुर पौडेल क्षत्रीले समका हरेक सिर्जनामाथि विमर्श आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले सम बहुआयामिक र कालजयी प्रतिभाका रूपमा रहनुभएकाले उहाँको योगदानको चर्चा जति हुनुपर्ने त्यति हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
डा नारायणप्रसाद अधिकारीले साहित्य सिर्जनाको भाषा र सङ्गीत विश्वले बुझ्ने भाषा भएकाले साहित्य र सङ्गीतले युगको प्रतिनिधित्व गर्ने बताउनुभयो । सिर्जनाबाटै जीवनदर्शन अनुभूत गर्न सकिने बहुमुखी प्रतिभाका धनी नेपालका अविस्मरणीय महान् स्रष्टा सम रहनुभएको उहाँको भनाइ छ ।
कार्यक्रममा पूर्वसम्मानित प्रतिभा डा भण्डारी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेल, सम्मानित प्रतिभा गीतकार खनिया, इन्द्र–हुमा वाङ्मय कोषका संस्थापक सविन जिसी, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष देवेन्द्र केसी, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, साहित्यकार असफल गौतमलगायत वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।