चिलिमे जलविद्युत कम्पनी लिमिटेडको धुम्बाराही स्थित कार्यालयकाे कम्पाउण्डमा विगत ५ वर्षदेखि करिब २७ करोड मूल्य बराबरको निर्माण सामग्री बेवारिसे अवस्थामा छ । लामो समय देखि घाम पानी सहेको यो सामानलाई प्लाटिकले छोपेर राखिएको छ । कम्पाण्ड भित्र भएपनि यो सामान बेवारिसे तरिकाले राखिएको छ । यसरी राखिएको सामानका बारेमा छिमेकी र केही कर्मचारी समेत आश्चर्यमा परेका छन् । यो सामान बेवारिसे हुनमा कमिसनको खेल रहेको बुझिएको छ । र कमिसनको खेलका लागि यो काम गरिएको जानकारहरु बताउँछन् । आवश्यक नै नभएको हो भने यति ठूलो परिणाम र रकमको सामान किन खरिद गरियो ? यो गम्भीर प्रश्न हो । जनताको शेयरबाट उठाएको रकमको दुरुपयोग गर्न कम्पनीलाई कस्ले छुट दियो ? एक स्थानीयको प्रश्न छ । यति ठूलाे रकमकाे महत्वपूर्ण सामानलाई सुरक्षित रुपमा नराखि लामाे समय खुल्ला आकासमुनि राख्दा कबाडीकाे मूल्यमा जाने जानकारहरु बताउँछन् ।
यस बारेमा कार्यालयमा बुझ्दा आँगनमा लामो समयदेखि रहेको निर्माण सामग्री उसका भगिनी संस्थाहरुकाे लागि आवश्यक पर्ने बताइएको छ । वेवारिसे जस्तै तवरले राखिएका यी सामग्री के होलान धेरैलाई जिज्ञासा लाग्न सक्छ । ती सामग्रीहरु अरु केही नभएर सुरुङ खन्नुपूर्व त्यहाँको माटो र भू वनोटको बारेमा अध्ययन गर्न अति आवश्यक पर्ने सामग्री हुन । कम्पनीका एक कर्मचारीका अनुसार सम्भाब्यता अध्ययनको लागि यी सामग्रीको आवश्यक पर्छ । हामीले खरिद गरेका सामान ठिक छ कि छैन भन्ने चेक जाँच गर्नका लागि यहाँ राखिएको हो । र आवश्यकताको आधारमा यहीबाट यस कम्पनीका भगिनी संस्थाहरुमा लाने गरिएको छ । आएका सामग्री मध्य ७० प्रतिशत प्रयोगमा आइसकेका छन भने अहिले पनि यस्ता उपकरण ३० प्रतिशतको हाराहारीमा यहाँ रहेका छन् । यिनलाई पनि आवश्यकताको आधारमा फिल्डमा लाने गरिएको छ । ती सामानहरु मुख्य गरेर चिलिमेको भगिनी संस्था बुढीगण्डकी प्रोक तथा चुम्चेत स्यारको लागि ल्याएको जनाइएको छ । तर कम्पनीकाे भनाइसँग सहमत हुने आधार भने देखिदैन । जुन काम वा फिल्डका लागि सामान ल्याइएकाे हाे त्यही लानु पर्ने हाे । तर त्यसाे गरेकाे पाइदैन । जहाँसम्म चेक जाँचकाे कुरा छ । सामान खरिद गर्नु पूर्व चेक जाँच गर्नुपर्ने हाे खरिद गरेर हैन ।
चिलिमे पावर हाउसको मर्मतमा गम्भीर लापरवाही
२२ मेगावाटकाे चिलिमे जलविद्युत केन्द्र विगत १५ दिन देखि पूर्ण रुपमा बन्द गरी मर्मत संभार थालिएको छ । करिब ६ करोडमा भारतको NELUMBO कम्पनीलाई उक्त मर्मतको ठेक्का दिइएको हो । चिलिमे कम्पनीकाे इलेक्ट्रोमेकानिकल सम्बन्धी उपकरण जर्मन प्रविधिमा आधारित छ । उक्त मर्मत कार्यपनि जर्मन कम्पनीबाट गराउनु पर्नेमा दीर्घकालिन असर पर्ने गरी भारतीय कम्पनीको छनोट गरी मर्मत कार्य सुरु भएको छ । यस क्षेत्रमा उक्त भारतीय दक्ष मानिदैन । यसरी मर्मत संभार सुरु भएपछि जर्मन कम्पनीले भविष्यमा कुनै समस्या आयो भने आफु जिम्मेवार नहुने भनी चेतावनी समेत दिएको छ । भविष्यमा पूरै संरचना भारतीय कम्पनीलाई एकलौटी रुपमा भित्र्याउने उद्देश्यले यो प्रपञ्च गरिएको हुन सक्छ । यसले अन्ततोगत्वा चिलिमे ध्वस्त हुने चिन्ता त्यहाँका कर्मचारीले व्यक्त गर्न थालेका छन् ।