चिनियाँ साहित्यकारको सम्मानमा साहित्य–संवाद

काठमाडौँ/चीनको ‘एकेडेमी अफ साइन्सेस, इन्स्टिच्युट अफ लिटरेचर’ का पदाधिकारीको सम्मानमा नेपाल प्रज्ञा प्रतिष्ठान र देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानले आज साहित्य–संवाद कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा दुवै देशको आपसी तथा साहित्यिक सम्बन्धका आयामबारे विभिन्न विज्ञ एवं वक्ताबाट प्रस्तुतिका साथै नेपाली र चिनियाँ भाषामा कविता वाचन गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको कविता वाचनबाट आरम्भ भएको उक्त कार्यक्रममा देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनीलकुमार पौड्यालले नेपाल र चीनबीचको साहित्यिक सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।

चीनको ‘एकेडेमी अफ साइन्सेस, इन्स्टिच्युट अफ लिटरेचर’ का उपनिर्देशक राओ वाङजिङसहितको टोली चार दिनदेखि नेपाल भ्रमणमा रहेको छ । कार्यक्रममा नेपाली कविहरु विमल निभा, मातृका पोखरेल, बाबा बस्नेत, कृष्ण प्रसाईँ, डा सृजना शर्मा तथा चिनियाँ स्रष्टाहरु लि झे, लि सिकिङ, लि फाङ, हि हाउ, वाङ फङलगायतले रचना एवं प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र चीनका महान साहित्यकार लुुसुनले दुई मुलुकबीचको आपसी सम्बन्धमा थप नयाँ आयाम थपेको बताउनुभयो । कार्यक्रममा चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्केले साहित्य र कलाका माध्यमबाट दुई देशको सम्बन्ध थप सुमधुर भएको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले आफूहरुले नेपाल र चीनका महत्वपूर्ण कृति अनुवाद गराइरहेको जानकारी दिनुभयो ।

Facebook Comments