फङ–वोङ चक्रवातले यस हप्ताको अन्त्यमा ताइवानमा अवतरण गर्ने जनाइएको छ । जसका कारण अधिकारीहरूले सावधानीका लागि विद्यालय तथा कार्यालयहरू बन्द गर्न आदेश दिएका छन् । केन्द्रीय मौसम विभाग (सीडब्लुए)का अनुसार सोमबार देखि टापुको उत्तरी र पूर्वी भागहरूमा भारी वर्षा हुने अपेक्षा गरिएको छ ।
चक्रवातका कारण समुद्री चेतावनी सोमबार पछि जारी हुन सक्ने मौसम विभागले जनाएको छ ।
चक्रवात ताइवानबाट करिब ५८० किलोमिटर दक्षिणबाट उत्तरपश्चिममा ताइवानतिर सर्दै गएको उल्लेख गर्दै सीडब्लुएले फङ–वोङ उत्तरपूर्वमा ताइवानतर्फ फर्कने र बिस्तारै कमजोर हुने अपेक्षा गरिएको बताएको छ ।
सोमबार देखि मङ्गलबार सम्म, चक्रवात कडा उत्तरपूर्वी हावासँग मिलेर, कीलुङ, ग्रेटर ताइपेई क्षेत्र, पूर्वी ताइवान र दक्षिणमा हेङ्चुन प्रायद्वीपमा भारी वर्षा हुने सम्भावना रहेको सीडब्लुएले जनाएको छ ।
बिभागले बुधबार मध्य र दक्षिणी ताइवानमा थप वर्षाको चेतावनी दिदै बिहीबारसम्म मौसम सहज हुने अपेक्षा गरेको छ भने फोकस ताइवानका अनुसार उत्तरका केहि क्षेत्रमा भारी वर्षा हुन सक्ने अपेक्षा गरिएको छ ।
ताइवानका अधिकारीहरूले आँधीबेहरी नजिकिँदै जाँदा गुआङ्फु टाउनसिपका विद्यालय र कार्यालयहरू बन्द गर्ने आदेश दिएका हुन् । बाढी र पहिरोको खतराका कारण तल्लो क्षेत्रका बासिन्दाहरूलाई खाली गर्न सल्लाह दिइएको छ ।
गुआङ्फु टाउनसिपका डामा, डापिङ, डोङ्फु, दातोङ, दान, दाहुआ र बेइफु, साथै फेङ्लिन र वानरुङ टाउनसिपसहित धेरै गाउँहरूमा पहिरोको चेतावनी जारी गरिएको फोकस ताइवानले रिपोर्ट गरेको छ ।
उक्त क्षेत्रका बासिन्दाहरूलाई तुरुन्तै खाली गरी सुरक्षित स्थानमा सार्नका लागि ह्वालिएन काउन्टी सरकारले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा अधिकारीहरूले क्षतिग्रस्त माटाइन क्रिक र अन्य क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई आवश्यक कागजातहरू, औषधि लगायतका सामान लिएर तुरुन्तै खाली गर्न आग्रह गरेका छन् ।- ताइपेई(ताइवान)(रासस/एएनआई)