गाजामा भएको इजरायली आक्रमणमा पाँच पत्रकारको मृत्यु

२२ महिनाको युद्धमा करिब २०० जना मिडियाकर्मीहरु मारिए

गाजा सहरमा अवस्थित आफ्नो शिविरमा भएको इजरायली आक्रमणमा अलजजिराका एक प्रमुख रिपोर्टर, तीन क्यामेरामेनसहित दुई संवाददाताको मृत्यु भएको अल जजिराले जनाएको छ ।

इजरायली सेनाले हमाससँगसम्बद्ध पत्रकार अनस अल–सरिफलाई लक्षित गरी आक्रमण गरेको स्वीकार गरेको छ ।

गाजामा २२ महिनाको युद्धमा पत्रकारहरूलाई लक्षित गरिएको आक्रमणमा करिब २०० जना मिडियाकर्मीहरु मारिएको जनाइएको छ ।

अल जजिराका पत्रकार अनस अल–सरिफ गाजा सहरमा पत्रकारहरूलाई लक्षित गरी इजरायली आक्रमणमा चार सहकर्मीहरूसँगै मारिएको कतार मिडियाले जनाएको छ ।

अस्पतालको मुख्य गेट बाहिर पत्रकारहरूका लागि राखिएको शिविरमा प्रहार भएपछि २८ वर्षीय अल–सरिफको मृत्यु भएको थियो । मृतक अल जजिराका प्रसिद्ध अरबी संवाददाता रहेको बताइएको छ ।

च्यानलले गाजा सहरस्थित शिविरमा आक्रमण गर्दा पाँच जना कर्मचारी मारिएको पुष्टि गरेको छ ।

इजरायली सेनाले अल जजिराका पत्रकार अल–सरिफलाई ‘आतङ्कवादी’ को संज्ञा दिदै लक्षित गरी प्रहार गरेको पुष्टि गरेको छ ।

“अल–सरिफले हमास आतङ्कवादी सङ्गठनमा आतङ्कवादी सेलको प्रमुखको रूपमा काम गरेकाले इजरायली नागरिक र सेनाविरुद्धका आक्रमण बढाउनका लागि जिम्मेवार रहेको आरोप लगाएको छ ।

अल–सरिफ नियमित कभरेजमा दैनिक रिपोर्ट गर्दै गाजामा काम गर्ने च्यानलका योग्य पत्रकार रहेको जनाइएको छ ।

“विश्वसनीय प्रमाण विना पत्रकारहरूलाई आतङ्कवादीको आरोप लगाई आक्रमण गर्ने इजरायली प्रवृत्तिले प्रेस स्वतन्त्रतामाथि गम्भिर प्रश्नहरू खडा गरेको सिपिजे क्षेत्रीय निर्देशक सारा कुदाहले बताउनुभएको छ ।

प्यालेस्टिनी पत्रकारहरूको सङ्गठनले पत्रकारहरुको हत्या ‘रक्तपातपूर्ण अपराध’ भन्दै निन्दा गरेको छ ।

इजरायल र अल जजिराको वर्षौंदेखि विवादास्पद सम्बन्धबिच इजरायली अधिकारीहरूले देशमा च्यानलमा प्रतिबन्ध लगाएका छन् र गाजामा पछिल्लो युद्धपछि यसका कार्यालयहरूमा छापा मारेका छन् ।

अल जजिरालाई आर्थिक सहयोग गर्ने कतारले वर्षौँदेखि हमासको राजनीतिक नेतृत्वका लागि कार्यालय उपलब्ध गराउँदै आएको र इजरायल र हमासबीचको वार्ताका क्रममा ती कार्यालयहरूलाई प्रयोगसमेत गरिएको छ ।

गाजामा पे्रस पहुँच बन्द भएपछि विश्वभरका धेरै मिडियाहरू प्यालेस्टिनी पत्रकारहरूले प्रदान गरेको द्वन्द्वको फोटो, भिडियो र कभरेजमा निर्भर छन् ।

मिडिया नियमनकारी संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले गत जुलाईमा युद्ध सुरु भए देखि गाजामा अल जजिराका पत्रकारसहित २०० भन्दा बढी पत्रकार मारिएको बताएको थियो ।-गाजा(रासस/एएफपी)

Facebook Comments