गाईजात्रा विशेष मुक्तकहरू

मुक्तकहरू

देशमा साँढेजात्रा चलिरहेछ गाईजात्रा पुरानो भयो
बबुरो त्यो गाई यता ढलिरहेछ गाईजात्रा पुरानो भयो
भताभुङ्ग देशमा लथालिङ्ग समाज एनजीओको डलरले
राष्ट्रियता क्रमशः क्रमशः गलिरहेछ गाईजात्रा पुरानो भयो ।।१।।

 

 

एउटा उचाल्छ अर्को पछार्छ यतै गाईजात्रा
न्यून उचाली लर्को पछार्छ यतै गाईजात्रा
कहीँ नभएको राजनीतिको जात्रा नेपालमा
सधैँ भिक्षा थाप्न बर्को पछार्छ यतै गाईजात्रा ।। २।।

 

 

जो मन्त्री भयो उसैको अध्यादेश कस्तो गाईजात्रा
अध्यादेशले क्रमशः सिध्या देश कस्तो गाईजात्रा
संसारमा नै उत्कृष्ट बन्यो भन्थे संविधान देशको
अध्यादेशमा नै सबैको भयो रेस कस्तो गाईजात्रा ।। ३।।

 

 

एकातिर पार्टीको हुँ भन्छ अर्कातिर ह्वीप मान्दैन यतै गाईजात्रा
देशको मन्त्रीले अक्सिजन कार्बनको काम जान्दैन यतै गाईजात्रा
सायद विश्व मै १ नं नमुना होलान् हाम्रा देशका राजनीतिज्ञ
तर पनि मूर्ख आफूलाई कहिके ठान्दैठान्दैन यतै गाईजात्रा ।। ४।।

 

 

आफ्ना तानातान छ भ्याक्सिन हानाहान छ हेर गाईजात्रा
नजानेर हुँदैहोइन सबै कुरा जानाजान छ हेर गाईजात्रा
असी वर्षको वृद्ध लाइनमा चार घण्टा देखि खडा यो कतै
आवाज उठे एकले अर्को दोषी ठानाठान छ हेर गाईजात्रा ।। ५।।

Facebook Comments