निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्रका लागि काम थालिएको छ । बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर काममा आएको छ ।
साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्न सडक डिभिजन कार्यालयले गरेको ठेक्का आह्वानमार्फत कर्ण विल्डर्सले निर्माणको जिम्मा पाएर काममा आएको छ । अहिले सडक चौडा पार्न र सडक मिलाउनका लागि निर्वाण व्यवसायीको तर्फबाट सर्भेको काम भइरहेको सर्वेयर भाष्कर बरामले बताउनुभयो ।
“दशैँपछि निर्माणको काम हुनेछ, अहिले लागत अनुमानअनुसार सडकको डिजाइनको विषयमा निर्माण व्यवसायीको तर्फबाट सर्भेको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “दशैँ अघिसम्म सबै सर्भेको काम सकेर निर्माणमा जुट्ने योजना छ, सडक समयमै कालोपत्र सक्ने गरी ठेक्का सम्झौतालगत्तै निर्माण व्यवसायी काममा आएको हो ।”
बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट १० किमी सडक कालोपत्र गरिने छ ।
लामो समय बजेट अभावले कालोपत्रका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर कालोपत्रको चरणमा प्रवेश गरेको हो । यो ठेक्काअन्तर्गत बागलुङ बजारबाट बोक्सेसम्म सडक कालोपत्र भइसकेका कारण बोक्सेबाट बौडैचौरको आलडाँडासम्म सडक कालोपत्र हुने भएको छ ।
निर्वाचन क्षेत्र एक रणनीतिक सडक सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरूको सिफारिसमा छनोट हुने गरेको छ । अहिले सडक कालोपत्र नहुँदा सिगाना हुँदै बरेङ शान्तिपुर जाने सडकमा यात्रुले सास्ती खेप्दै आएका छन् ।
बागलुङमा थपिए दुई हजार ८०० मतदाता
बागलुङमा स्थानीय निकायको निर्वाचनपछि दुई हजार ८०० बढी मतदाता थप भएका छन् । निर्वाचन आयोगले सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय आन्तरिक तयारीमासमेत जुटेका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदाता सङ्ख्या भन्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई हजार ८०० मतदाता थपिएका छन् । स्थानीयतहको निर्वाचनमा एक लाख ९३ हजार छ सय २४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार दुई सय ९७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता छन् ।
एक वर्षभित्र दर्ता भएर १८ वर्ष उमेर नपुगेर स्थानीय तहमा मतदान समेत गर्न नपाएका मतदाता र नयाँ दर्ता भएका मतदातासहित १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न पाउनेछन् । यस्तै स्थानीय तहको निर्वाचनपछि असार १ गते देखि साउन १९ गतेसम्म दुई हजार आठ सय मतदाताले मतदाना नामावली दर्ता गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी गकुल शर्माले जानकारी दिनुभयो ।
“स्थानीय तहको निर्वाचनमा रहेको मतदाता सङ्ख्याको आधारमा जम्मा दुई हजार आठ सय मतदाता थपिएका हुन्, तर उमेर नपुगेर स्थानीय तहको निर्वाचनमा मतदात गर्न नपाएका र नयाँ थपिएका गरी १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न सक्नेछन्”
उहाँले भन्नुभयो “अहिलेको प्रदेश र सङ्घीय निर्वाचनको तयारीमा जुटेका छौँ, मतदाता अध्यावधिकपछि केही मतदाता घट्लान, भदौ महिनामै अन्तिम नामावली प्रकाशन गर्नेछौँ तर त्यसअघि वडातहमै मतदाता नामावली लगेर छलफल गर्नेछौँ ।” गत असार १ गते देखि साउनको १९ गतेसम्म जिल्ला प्रशासन कार्यालय , इलाका प्रशासन कार्यालय बुर्तिबाङ र निर्वाचन कार्यालय, बागलुङमा मतदाता नामावली दर्ता गरिएको थियो ।
एक सय तीन मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङ जिल्लामा स्थानीय तहको निर्वाचनको समयमा भएको समस्या, मतदाताको पहुँच लगायतको कारण तीन मतदानस्थल स्थानान्तरण र तीन मतदानस्थल थप गरेर निर्वाचन आयोगमा पठाइएको छ ।
“स्थानीय तहको निर्वाचनमा धेरै स्थान मतदाताको पहुँच भन्दा टाढा रहेको, मतदानस्थल साँघुरो भएको लगायतका समस्याका कारण मतदान केन्द्र स्थानान्तरण र मतदानस्थल थप गरिएको हो” सूचना अधिकारी शर्माले भन्नुभयो “राजनीतिक दलमा सहमति जुटेको स्थानमा मात्रै मतदानस्थल परिवर्तन गरेका छौँ, सहमति नजुटेको थुप्रै मतदानस्थल छन् जुन साँघुरो र मतदान गर्नै सास्ती भएकोसमेत छन् तर सहमति नजुटेको स्थानलाई अहिले यथावत् नै राखिएको छ ।”
थप हुने मतदानस्थलको रुपमा ढोरपाटन नगरपालिका–६ र ढोरपाटन–२ र गलकोट नगरपालिका –१० रहेको छ । यस्तै मतदानस्थल परिवर्तन भएकोमा बागलुङ नगरपालिका–३ बौद्ध बिहारको कालिका कन्या मन्दिर, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल माध्यामिक विद्यालय र बडिगाड गाउँपालिकाको– ८ सिद्धबारी प्राविबाट भृकुटी माध्यामिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।
अन्तिम मतादाता नामावलीका लागि दाबी विरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने गरी भदौ १२ देखि १५ सम्म स्थानीय तहको वडामा मतदाता नामावली पुग्ने निर्वाचन कार्यालयको भनाइ छ ।