साझा प्रकाशनले गरिमा साहित्यिक मासिक पत्रिका पुनः प्रकाशन गरेको छ । प्रकाशनले आज आयोजना गरेको ‘२०९औँ भानुजयन्ती’को अवसर पारेर अध्यक्ष डा विजय सुब्बा तथा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य (बज्राचार्य)ले संयुक्त रुपमा सो पत्रिकाको लोकापर्ण गर्नुभयो ।
सुब्बाले सो पत्रिका २०३९ सालदेखि प्रकाशन सुरु भएको जानकारी दिँदै २०७४ साल कात्तिकदेखि बन्द भएको बताउनुभयो । “अब निरन्तर रुपमा प्रकाशन हुन्छ”, उहाँले भन्न्भयो, “अब यस पत्रिकाले नेपाली साहित्यको विकासमा धेरै योगदान गर्नेछ ।”
स्थापनाकालमा क्षेत्रप्रताप अधिकारी अध्यक्ष तथा कृष्णचन्द्रसिंह प्रधान महाप्रबन्धक एवं विष्णु विभु घिमिरे संस्थापक सम्पादक रहेको सो पत्रिकाको सम्पादन हाल होमप्रसाद भट्टराई, भेषराज घिमिरे र प्रह्लाद पोखरेलले गरिरहनु भएको छ । कार्यक्रममा उपप्रमुख शाक्यले साझाले नेपाली साहित्य जोगाउने काम गरेकोभन्दै प्रशंसा गर्नुभयो ।
प्रकाशनका पूर्वअध्यक्ष डा तुलसीप्रसाद भट्टराईले साझा मुलुककै छवि जोगाउने माध्यम रहेको र नेपाली इतिहास जोगाउन यसलाई बलियो बनाउनुपर्ने जिकीर गर्नुभयो । प्रकाशनका सञ्चालक डिपी अर्यालले भानुभक्तले भाषिक माध्यमबाट मुलुकवासीलाई एकीकरणको सूत्रमा गाँसेको उल्लेख गर्नुभयो ।