निराश छन् भने किन ?
निराश छैनन भने किन?
“…चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमि छ
फूल फुलेर के गर्नु भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ।
जोगी आउॅंछन हजुर देवताको भेषमा
जनता भन्दा हजुर नेता छन यो देशमा
फुल फूलेर के गर्नु भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ।
एउटै डर हजुर लाग्दैछ बेस्कनी
छिमेकीले हजुर लान्छ कि देश पनि
फुल फूलेर के गर्नु? भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ।
एअरपोर्टैमा हजुर मान्छेको ताँती
नेपाल रित्तो हजुर हुने भो ए साथी
फुल फूलेर के गर्नु? भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ।”
माथिको चर्चीत, मार्मीक र यथार्थवादी गीतको लींकः
माथिको दानामा कुनै पनि समसामयीक विषय छुटेका छन र! गतवर्ष यो सामाजिक संजालमा भाइरल भएको थियो। यो गीतले वर्तमान नेपाल यथार्थढङ्गले प्रतिबिम्वीत गरेको छ । तर सार्थक जिन्दगी बुझेर बाँच्नेहरु भन्छन,’संघर्ष हो जीवन, जीवन संघर्ष हो। जीवनदेखि थाकेर बस्छु नभन, जीवनदेखि हारेर मर्छु नभन।’
हो! ठ्याक्कै दुइ महिनादेखि मेरो टाउकोमा एउटा प्रश्नले हिर्काएको हिर्काई छ।त्यो हो,’नेपाली समाज के साँच्चिक्कै निराश छ ? यदी निराश छ भने किन छ? यदी निराश छैन भने किन छैन? कतै नेपालमा भएको भनिएको वा ठानिएको आम अवसाद (मास डिप्रेसन) कतै कसैबाट सृजीत त होईन ? वा, वर्तमान नेपालमा जारी निराशा बास्तवीकतामा आधारीत हो?’ सत्य भन्नै पर्छ,’यो प्राज्ञिक अनुसन्धान होईन।तर सामाजिक अध्ययनलाई नियाल्ने एउटा आँखीझ्याल मात्र हो।’
कुरा गत पुस ९ को हो । सपरिवार घुम्न ठमेल पुगेका थियौं । संयोगवश त्यो इसाईको प्रमुख चाड क्रिसमसको अघिल्लो साँझ थियो।तर अनपेक्षीत थियो ठमेलको माहोल । पश्चिमा पर्यटकको उपस्थीति ५ प्रतिशत पनि थिएन। पंक्तिकारले ३५ वर्षदेखि चिनेका ६ जना साथिभाई छन ठमेलमा।तिनीहरु हस्तकला,प्राचिन बस्तुहरु,शिखर आरोहणमा जानेहरुका लागि चाहिने सामाग्रीहरु बेच्ने र चमेनागृह चलाउने ब्यापारी हुन । सोधें,’ठमेलको माहोल आजको साँझ किन सून्य?’ साथीको जवाफ थियो,’कोभीड कालको कुरै नगरौं,ठमेलमा पर्यटकको यस्तो सून्यता कुनैपनि क्रिसमसको अघिल्लो साँझ देखिएको थिएन ।’ नेपालको पर्यटकीय मौसम अनुसार पुस महिना पर्यटक भित्रीने समय होईन । तरपनि यस्तो सुन्यता हुँदैनथ्यो ।उता पोखरा लेकसाईडका पर्यटन व्यवसायीको भनाईमा भने १० प्रतिशत जति पर्यटक थिए।यस्तो अवस्था किन आयो त? जवाफ सिधा छ,’विश्वमै जारी छ-आर्थिक मन्दी।नेपाल घुम्न चाहने पश्चिमा पर्यटकको गोजी रित्तो छ।मन्दिकै कारण उपभोग्य बस्तु पनि त्यहाँ अत्यन्तै महङ्गो भएका छन्।’ प्रायः इशाई आफ्नो प्रमुख चाड आफ्नै देशमा नाता,गोता र आफन्तकै समीपमा मनाउँछन्। जेभएपनि पश्चिमा पर्यटक समेत चरम महङ्गी र मन्दीकै कारण खुम्चीएका छन। संसारका सबैजसो धनी देशहरुका नागरिक मन्दी र महँगीले अत्तालिएका छन्। अमेरिकाको मासाचुसेट राज्यको राजधानी वोस्टोन बस्ने र सूचना प्रविधिक्षेत्रमा काम गरेर राम्रै आम्दानी गर्ने अजय खतिवडा चरम महँगीले दिक्क मान्दै सामाजिक संजाल एक्समा पोखिए,’महँगीले आकाश छोयो, ट्रम्प सरकार, राजीनामा दे।’ अष्ट्रेलियाको सिडनी बस्ने मदनमणि अधिकारीले सहमति जनाऊँदै भने,’अष्ट्रेलियामा पनि महँगी डरलाग्दो सँग बढेको छ।’ त्यसोत संसारको एउटा हिस्सा न हो- नेपाल। यहाँ पनि मन्दी र महङ्गीले सबै अत्तालीएका छन। आर्थिक अवस्था साँच्चिक्कै चीन्ताग्रस्त छ भन्छन, ‘नेपाली समाजबारे बुझेका धेरै मानिसहरु।’ किन हुन गयो त यस्तो? अब त्यता जाउँ ।केही दृष्टान्तहरु हेरौंः (नीजि गोपनीयताको हक जोगाउन नाम परिवर्तन गरिएको छ )
ढुकुटीले सुकुटी
॰मध्यपुर थिमीका ४४ वर्षीय प्रकाश बोगटीले एक दशक अघि ढुकुटीले गर्दा आत्महत्या गरे ।
॰पूर्वी पहाडका चर्चित पूर्व मन्त्रीको लिम्बू पत्नीले ढुकुटीमा लाग्नाले उनको परिवार लगभग सडकमै आइसकेका छन्।
॰३५ वर्षीय उर्वशी परियारको फेन्सी पसल, थानका कपडा पसल र टेलर राम्रै चलेको थियो । गठ्ठाघरमा एकतले सानो घरपनि थियो । ढुकुटीले ती कारोवार र घर सबै सकिएर डुबीन ।
॰झापा दमकका ४५ वर्षीय बसन्त अधिकारीलाई ढुकुटीले उनलाई धोती न टोपी बनायो ।गठ्ठाघरमा रहेको तीनतले घर बेचेर पनि ढुकुटीबाट उम्कन सकेनन्। अचेल भक्तपुर ससुरालीमा आर्थिक शररार्णाथी बनेका छन ।
॰गठ्ठाघरमा स्टुडीयो चलाईरहेकी ४५ वर्षीय मन्दीरा राई पनि ढुकुटीले आर्थिकरुपमा सुकुटी भइन ।अहिले पनि ऋण तिर्दैछिन ।
॰झापा दमकका ५५ वर्षीय विष्णु घिमीरेको गट्ठाघरमा साँढे दुइतले घर र दुइवटा कपडा पसल बेच्दा ढुकुटीको मिटर ब्याजी ऋण तिर्न नसक्ने भएर सपरिवार जापान गएको पनि एक दशक नाघीसक्यो ।
॰ईलामकी ३७ वर्षीय कमला अधिकारीको गोंङ्गबुको पाँच तले घर ढुकुटीले गर्दा मासिए। कमलाको सपरिवार अष्ट्रेलिया पलायन भएको ७ वर्ष हुन लाग्यो ।
॰काठमाडौं कपनको ४३ वर्षीय मेनका थापाको १ तले घर मासिएर ढुकुटीकै कारण सडकमा पुगीन ।
॰काठमाडौं चावहील निवासी ५८ वर्षीय सुरबीर खडकाको ४ वटा घर र धेरै रोपनी जग्गा थियो ।उनलाई अहोरात्र खरबपती बन्ने लोभले लागे ढुकुटीतिर अनि जिन्दगीनै झर्यो भीरतिर ।
॰रौतहटका ४५ वर्षीय कुमार शर्मा र ब्युटी पार्लर चलाउने पत्नीलाई विना मेहनत र संघर्ष करोडौंपति बन्न मन लाग्यो ।पैतृक सम्पतीकोरुपमा रहेको जग्गा सबै ढुकुटीले सिध्यायो ।अहिले पनि ऋण तिर्दै छन ।
॰काठमाडौं जोरपाटीको रैथाने ४३ वर्षीय गोमा शर्मामा एकरातमै धनी बन्ने भोक जाग्यो। ढुकुटीले लागेको ऋण तिर्न कति जग्गा बेचीसकिन । भन्दीनन् ।चेक अनादारको मुद्दामा कैंयनपटक प्रहरीको खोरमा पनि परि सकिन।
॰सोही थलोको ५२ वर्षीय जीवन शर्मा ढुकुटीमा लागे । कति जग्गा बेचे ढुकुटीले डुब्दा भन्न चाहँदैनन्।उनको अगुवाइमा संचालीत एउटा सहकारीको बचत रकम हिनामिना गरेर बेपत्ता छन्।
भनिन्छ,’आमाको थुन चुसेर भएन, बुवाको घुँडा चुसेर हुन्छ त?’ त्यही भएको हो ढुकुटीको खेलो।
त्यसो ढुकुटी असरका दृष्टान्त प्रतिनिधिमूलक संख्या मात्रै हुन। नेपालमा व्यबस्थीत तथ्याङ्क प्रणाली राख्ने चलन नै छैन।तर ढुकुटीकै कारण सकसपूर्ण रुपमा बाँचीरहेकाहरुको संख्या अहिले ५ लाख जती हुनु पर्छ ।अन्दाजी १ सय जती महिला र पुरुषले ढुकुटीकै कारण आत्महत्या गरे।विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष संसारभर ८ लाख मानिसले आत्म हत्या गर्छन। नेपाल प्रहरीद्वारा २०८१ मा प्रस्तुत तथ्याङ्क बताउँछ, ’दैनिक १९ जनाले आत्महत्या गर्छन। जसमध्ये ८ प्रतिशतले आर्थिक समस्याका कारण आत्महत्या गर्छन।’ तथ्याङ्कले दुखद सत्य बोले पनि ढुकुटीले सुकुटी बने करिव ५ लाख नेपालीहरु। नविर्सनुहोला।किनभने यो आलेखको पहिलो ब्यथा हो ।त्यसपछि…!
दुःख पाइस मङ्ग्ले, आफ्नै ढङ्गले
एकताका को चाहिं लागेको थिएन नेपालमा घरजग्गा कारोबारमा ? ठुला रियल स्टेट देखि स-साना जग्गा दलाल लगेका थिएनन् कि! बैंकहरुको कार्यकारी प्रमुखदेखि, सहकारी र लघुवित्तमा हालीमुहाली गर्ने सम्म, नेपालका उच्च धनी साहु देखि निम्न मध्यम वर्गसम्म सबै लागेका थिए। उच्च ओहदाका कर्मचारी,सैनीक र प्रहरी पनि लागेका थिए ।उद्योगपति बिनोद चौधरी, कान्तिपुरका साहु कैलाश सिरोहिया, नव धनाढ्य अजय सुमार्गी, भाटभटेनीको साहु मीनबहादुर गुरुङ्ग, अन्नपूर्णका साहु रामेश्वर थापा, ब्यापारी चन्द्र ढकाल देखि ताप्लेजुङ्ग दोभानको स्वास्थ्य सेविका देखि भोजपुर ट्याम्के डाँडाका शिक्षक देखि दोधारा चाँदनीको सानो होटल वा किराना पसले देखि रौतहट चन्द्रपुरका सामान्य ब्यापारी सम्म सबका सब लागेका थिए-कारोबारमा ।अर्थात, सिङ्गो देशको ५ प्रतिशत जती लागेका थिए होलान ‘माटोमा रोपेपछि फल्छ’ कारोबारमा। यसको अर्थ १५ लाख नेपालीहरु यो कारोबारमा लागेका थिए।
एकताका संसारलाई नै कुरीकुरी गर्ने गरि नेपालमा यसरी घरजग्गाको कृतिम कारोबार बढ्यो भनी साध्य छैन। लस एन्जलस,लन्डन,न्युयोर्क,टोरोन्टो,टोकियो,मुम्बई,न्यु दिल्ली, ओस्लो, कोपेनहेगन, पेरिस,बर्लिन,सिओल, ताइपेअ र हंगकंग जस्ता ब्यस्त,रोजगारी,सुरक्षा,स्वास्थ्य सुबिधा र अनेकौं सामाजिक सुरक्षा भएका ठूला शहरहरुमा भन्दा काठमाडौँको जग्गा र घरको मूल्य महँगो थियो। त्यस्तो अवस्था अहिले पनि छ। यस्तो लज्जास्पद घर जग्गाको कृतिम कारोबार हुने स्थीति सृजना हुनुमा नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले अपनाएको गलत ऋण प्रवाह नीति नै थियो। जसले अनुत्पादक क्षेत्रमा
बेप्रवाह ऋण प्रवाह गरेको थियो ।किनभने यो कृतिम कारोबारमा नेपालका राजनीतिक दलहरुका नेताहरु लगायत धन बनाउन खोज्ने सबका सब लागेका थिए।नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत डिसेम्बरसम्म घर जग्गा र रिअलस्टेटमा मात्र २ खर्ब ७७ अर्ब ३४ करोड लगानी भएको देखिन्छ।
यो तथ्यांकले बताउँछ अहिले नेपालका ठूला लगानीकर्ता र कारोबारी समेत करिब १५ लाख मानिस घर जग्गा कारोबारी, लागनिकर्ता, जग्गा दलाली, लेखनदास, मालपोत र नापीमा काम गर्ने कर्मचारीहरु प्रभावीत छन।मन्दिकै कारण घर जग्गाको कारोबार लगभग ठप्प छ।काम विशेषले गत हप्ता काभ्रेको धुलिखेल पुगेको थिएँ। त्यहाँ लेखनदास, मालपोत र नापीका कर्मचारीका ओठ मुख सुकेको देखिन्थ्यो।उनीहरु एक किसिमको तनावमा थिए। कोरोबार ठप्प भएर अतिरीक्त आम्दानी नहुँदा तनावग्रस्त देखिन्थे ।तनावको कारण पैसै थियो। घर-जग्गाको बढी कारोबार हुने काठमाडौं उपत्यकाका सबै मालपोत र नापी कार्यालयहरुको अवस्था छिमेकी जील्ला काभ्रेपलान्चोकको धुलिखेलभन्दा धेरै भिन्न छैन । देशभरि अन्यत्रको अवस्था पनि उस्तै भएको अनुमान गर्न सकिन्छ।यथार्थमा नेपालको घर जग्गाको कारोबार हिजो कृतिम थियो र अहिले पनि कृतिम नै छ। त्यसैले तिनको मूल्य सँधै कृतिम रहयो।यो कारोबारले करिब १५ लाख नेपालीलाई गाँजेको हुनु पर्छ।अर्थात १५ नेपालीको हालत आर्थिक झन्झट र संकटकै कारणले भिरमा फलेको फर्सी जस्तो भएको छ। फर्सी टिप्न जाउँ लडेर मरिएला भन्ने डर। झट्टारो हानेर फर्सी झारौं फर्सी भिर मुन्तिर पुगेर फुट्ला र केहि पनि हात नलाग्ला भन्ने डर। फर्सीलाइ भिरमै छोडदिउँ त्यसै कुहिएर कामै नालाग्ला भन्ने डर।भनिन्छ, ‘दुखः पाइस मङ्गले, आफ्नै ढङ्गले।’ यही उखान चरितार्थ हुन्छ जग्गाको कारोबारको हकमा पनि। अब जाउँ अर्को समस्याको पहाडतिर।
दशा बाजा बजाएर आउँदैन
नेपालमा जारी आर्थिक संकट अन्यत्र समेत धेरै गहिरिंदै छ। भनिन्छ,’दशा बाजा बजाएर आउँदैन।’ संकट ढुकुटी र घर-जग्गा लगानीमा मात्रै होइन, ग्रामीण भेग र शहरका जनताहरुले आशा भरोसा गरेका सहकारीहरुमा पनि झनै महासंकट छ। नेपालभरी ३१ हजार ३ सय ७३ सहकारीहरु छन्। संघीय सांसद सूर्य थापाको नेतृत्वमा २०८१ साल जेष्ट १५ गते सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी बिशेष छानबिन समिति बन्यो। त्यसले गम्भिरतापूर्वक गरेको अध्ययन र अनुसन्धान गरेको छ। त्यो प्रतिवेदन अनुसार ४० वटा सहकारीबाट ८७ अर्ब ८९ करोड रुपैयाँ अपचलन भएको छ।सर्वसाधारणले खाई नखाई बचत गरेको अर्बौं रकम ठगी गर्ने सहकारी संचालकहरुले विदेशमा विलासी जीवन बिताएर मध्यम,निम्न मध्यम र दैनिक गुजारामा बाँचेका बचतकर्ताहरुलाई घरको न घाटको बनाएका छन्। छानबिन समितिले ४० सहकारीको ८७ अर्ब ८९ करोड अपचलन भएको निष्कर्ष निकालेको छ। समितिले छानबिन गरेका २२ ओटा समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका १८ गरी ४० सहकारीमा ७१ अर्ब ३० करोड बचत रकमसहित ८७ अर्ब ८९ करोड रुपैयाँ दायित्व देखिन्छ।ऋण उठाउनपर्ने ब्याज, अन्यत्र गरिएको लगानी र गैरबैङ्किङ्ग सम्पतिको उठ्ने आधार भने कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ।प्रतिवेदनले सुझाएको कार्यकारी सारांशमा भनिएको छ,’देशभरीका ७३ लाख ८० हजार सहकारी सदस्य र बचतकर्ताको ४ खर्ब ८० अर्ब रुपैयाँ परिचालनमा समस्या आउन सक्छ।’
सहकारीका मनोमानीको बर्णन गर्न नै नसकिने गरी जारी छ।यद्यपी देशैभरिका सहकारिहरुमा समस्या आएको होइन। सहकारीको उद्देश्य, सिद्धान्त, मूल्य, मान्यतामा अडिग भएका सँस्थाहरुमा कुनै समस्या रहेको देखिदैन। तर सहकारीको बेलगाम मनपरीतन्त्र जारी रहनुमा राष्ट्र बैङ्कको प्रणालीभित्र अनुगमन, सुपरिवेक्षण र निरिक्षणभित्र बचत तथा ऋण सहकारीलाइ नसमेटिनु प्रमुख कारण थियो। त्यसबाहेक बलियो र प्रभावकारी अनुगमन गर्ने निकाय नहुनु अर्को कारण थियो। राज्य र सरकारका तर्फबाट गम्भीर गल्ति त भै नै सक्यो। किनभने नेपालको राजनीतिक दल र नेताहरु ‘फोहोर गरेपछि दैलो देख्ने’ कूलतमा वर्षौंदेखि छन्।‘नचिनेको मान्छे भन्दा, चिनेको नै काम लाग्छ, चिनेको मान्छे भन्दा किनेको नै काम लाग्छ, यहाँ पैसै ठूलो छ’ गीत लागू भएर पटके सरकार र राजनीतिक दलहरुले सहकारी समस्यालाई बेलैमा सम्बोधन गर्नुको सट्टा आर्थिक अपराध गर्नेहरुलाई काखी च्याप्दा यो महासंकट जन्मेको हो ।
अँध्यारो होईन उज्यालोतिर हेरौं ।आशा गरौं ।अब केही समयपछि अब सुध्रेला। तर बिग्रेका सहकारीहरुको कारणले गम्भीर संकटमा त बचतकर्ता परेका छन्। सहकारी पिडित नेपालीको सङ्ख्या कति होला? सांसद सूर्य थापाको प्रतिवेदनले देशैभरीको सहकारीका १०औं लाख बचतकर्ता नेपाली घर परिवार समस्यामा पर्ने खतरा औंल्याएको छ।तर के गर्नु ! अर्को पहाडको टाकुरामा लरखराई रहेको अर्को थप समस्यालाई केलाऔं।
शेअर बजार:रुनु कि हाँस्नु
२०८१ पुस मसान्तको विवरण अनुसार नेपालको शेअर बजारको कुल बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ बराबर छ।नेपालमा सूचीकृत तथा कारोबार हुने कम्पनी २सय ९७ र म्युचुअल फण्डसहित कुल ३सय ३४ कम्पनि छन्। गोपनियताको हक खोज्ने शेअर बजारका एक ठूला खेलाडीका अनुसार ५६ लाख नेपालीले डिम्याट अकाउण्ट प्रयोग गरेर शेअर कारोबार गर्छन।यसमध्ये १५ लाख शेअर कारोबारी सक्रिय छन्।तर लगभग १ हजार ठूला शेअर कारोबारीले शेअर मूल्य तल माथि गर्न नियमीत चलखेल गर्छन। १ हजार ठूला शेअर कारोबारी मनग्गे पैसा कुम्ल्याएर तर मारिरहेका छन्। तिनीहरु शेअरको ‘तर मारा’ वर्गमा पर्छन ।तर सक्रिय रहेका १५ लाख शेअर कारोबारी भने शेअरको मूल्य घटेर रोएर बसिरहेका छन्।र, ठूलो पिडामा छन।सिधै भन्दा १ हजार तर मार्न र खेलो फड्को गर्न खप्पीस ठूला शेअर कारोबारी बाहेक अरु सबै रोइरहेका छन्।
यस्तो हनुमा अर्थमन्त्री पिछे नै शेअर धितोको सिलीङ्ग तोकीनु हो ।यसलाई नियमन गरेर शेअर धितो राखेर लिनसक्ने ऋणको सिमा घटाएर यथार्थपरक गर्ने हो भने शेअर कारोबार र सूचकाङ्क अस्वभावीकरुपमा घट्न सक्छ । जारी कारोबार कृतिम हो । ऋणको रकम सिमा तर्कसम्मत, यथार्थपरक र जनहितलाई ध्यानमा राखेर घटाउने वितिक्कै नेपालमा यथार्थवादी शेअर कारोबार हुन्छ ।अर्थमन्त्रीपिच्छे तय हुने शेअर धितोको शिलीङ्गले नै शेअर क्षेत्रको कारोबार बरवाद भएको सत्य-ओपन सेक्रेट जस्तै हो।अब फेरी समस्याको अर्को देउरालीतिर चढौं है ।
न घरबार न रोजगार
रोजगारी दिनेकुरा चुनावको बेलामा सबैले आफ्नो घोषणापत्रमा सँधै उल्लेख गर्छन।तर कुनैपनि दल गत तिन दशकदेखि गम्भीर छैनन् मात्र होइन रोजगारी सृजना गर्ने मुद्दालाई समेत मतलबै गर्दैनन्। रोजगारी सृजना भनेको लोकसेवा आयोग, नेपाल प्रहरी,नेपाली सेना,लगायत अन्य निकायहरुको बिरलाकोटी निस्कने बिज्ञापनमै चित्त बुझाउँछन्।तर तिन दशकदेखि बनेका र स-साना कुरामा अल्झीएर बसेका छन-पटके सरकारहरु।
भन्नै नपर्ला रोजगारीको मुद्दा नेपालमा सबैले बेवास्ता गरेर रक्षानमा फालेका छन्।परिणाम भोगिरहेका छौं। फलत: १८ वर्ष देखि ४० वर्ष उमेर समुहको नेपाली मिलेर पाएसम्म बिदेशिन चाहन्छन।यो क्रम सैनिक,प्रहरी, चिकीत्सक र स्वास्थ्य परिचारीका (नर्स) को जागीर छोडेर विदेशीने संख्याले पनि पुष्टी गर्छ । उच्च स्तरको काम, शिक्षा र रोजगारीको लागि नेपालीहरु धमाधम देश छोडिरहेका छन्।हेल्विटास अनुसार एकदिनमा १५ सय देखि ३ हजार नेपालीले रोजगारी,शिक्षा र उच्च जीवन यापनको लागि देश छोडिरहेका छन्। यो तथ्याँकले देश शनै-शनै देश रित्तो हुँदै गएको बताउँछ।
त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल विदेशबाट आउने हवाई जहाजहरुमा बाहिरबाट फर्कने नेपालीहरु टन्नै हुन्छन ।नबिर्सौं शदियौंदेखि नेपाल लाहुरेबाट धानीएको देश हो।तर त्यसरी फर्कने नेपालीहरुको यकिन तथ्याङ्क अध्ययागमन विभागसंग छैन। हो! समस्या यहिँनेर छ। अब जाउँ विदेशतिर बसीरहेका नेपालीहरुलाई नियाल्न।
यो मन त मेरो नेपाली हो
‘लाहुरे हुन् नजाऊ है अब त। खेर गयो नेपाली रगत।’ यो गीत नेपालका बामपन्थीले लाँखौ लाख पटक गाए होलान। देशमै बसौं। देशमै रोजगारी गरौँ।देश बनाऔं भन्ने अभिष्ट थियो गीतमा। कता गए ति उद्देश्य? कता गए त्यसअनुरुपको नीति? कता गए गीत अनुरुपको कार्यान्वयन? तर अहिले आधा जति नेपाली विदेश बस्न बाध्य छन्। करले वा रहरले कहाँ पुगेका छैनन् नेपाली।यो पंक्तिकार पनि १० वर्ष क्यानडा बसेर फर्केको हो।२ वर्ष अध्ययन गर्न अष्ट्रेलिया पनि बसेको हो।अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड, इस्टिमोर, जापान, जर्मनी, फ्रान्स, बेल्जीयम, पोर्चुगल, नर्वे, इटली, स्विजरल्याण्ड, डेनमार्क, स्पेन, नेदरल्याण्ड,रुमानिया, चेक रिपब्लिक, हंगेरी, साइप्रस, माल्टा, स्विडेन, अर्मेनिया, पोल्याण्ड, युक्रेन, रुस,फिनल्याण्ड, दक्षिण कोरिया, क्रोएसिया, कङ्गो, कोस्टारिका, केन्या, लक्जेम्बर्ग, अस्ट्रिया, आयरल्याण्ड, भ्याटिकन सिटि, कुवेत, कतार, लेबनान, जोर्डन,दोहा, माल्दिभ्स, ब्राजिल, घाना, नाइजेरिया, लाओस, थाईल्याण्ड, हंगकंग, मलेसिया लगायत १ सय ११ वटा देशमा पुगेका छन अहिले नेपालीहरु ।
ति मध्ये धनी वा मध्यम धनी देश पुगेका नेपालीहरु फुर्सत हुँदा शुक्रवार, शनिवार वा आईतवार प्रायः भोज गरिरहन्छन्। मदिराको मात्रा अत्याधिक भएपछि देशप्रेम प्रलयसँग उर्लेर आउँछ। ‘आँधी खेला उर्लेर आयो, आउने थिइन, मायाले बोलायो’ भन्ने गीतमा भनिए झैं।उनिहरु बस्छन संयूक्तराज्य अमेरिका, क्यानडा, अष्ट्रेलीया, न्यूजील्याण्ड, फ्रान्स, जर्मन,बेलायत, नर्वे,डेनमार्क,स्विजर्ल्याण्ड, फिनल्याण्ड,स्विडेन,माल्टा, इटली, वेल्जीयम लगायतका अनेकौं देश । मादकता थपिँदै जाँदा जादुको चमत्कार जसरी नेपाल तत्काल आफू बसिरहेको देश जस्तै बनोस भनठान्छन । त्यसपछि प्रयोग गर्छन सामाजिक संजाल । ‘यो मन त मेरो नेपाली हो’ सुरु हुन्छ ।अनि ‘नकारात्मक कुरा र नेपाल वरवाद वा खत्तम भो’ भन्न र लेख्न थाल्छन । त्यो अक्षम्य गल्ती यो पंक्तिकारले क्यानडाको एडमन्टनमा सोमरस पिऊँदा हजारौं हजार-हजार पटक गरेको छु ।त्यसो गरेर मैले कसैको चित्त दुखाएको छु र त्यसले कसैको मन पोलेको छ भने यो आलेखबाटै हृदयदेखि माफी माग्छु।संयमीतरुपमा झील्केपानी पिउनेहरुमा खाशै समस्या हुँदैन । तर अधिक मदिरा सेवन गर्नेहरुले नेपालका बारेमा सामाजिक संजालमा नकारात्मक बाहेक सकारात्मक र राम्रो कुरा सामन्यतया कमै लेख्छन र बोल्छन । अझ नेपाल देशलाई नै गाली गर्नेहरु पनि कति छन कति । विचरा आफू जन्मे हुर्केको माटोको के दोष ।देश भनेको निश्चित सिमाको भूगोलभीत्र बस्ने जनता हुन ।सामाजिक संजालको प्रयोग वा दुरुपयोग गर्ने क्रम उपक्रमले पनि ‘नेपाल वरबाद वा खत्तम’ छ भन्ने भाष्य बनाउन बल पुर्याएको छ ।तर कहाँ कुरा यतिमात्रै छ र! अब जाउँ नेपालका पहाडहरु विचरण गर्न ।
रित्तीदो पहाडःसिद्धीदो पहाडी बस्ती
नेपालका राजनीतिक दलहरु र तिनका नेताहरुका नालायकी, अक्रमन्यता र अयोग्यताको परिणाम नेपालले अहिले भोग्दैछ ।हिजो पहाडमा नेपालीको बसोबास बाक्लै राम्रै थियो।विगतमा दुई चार दिनहरु हिँडेर चाडपर्व मान्न नेपालीहरु घर जान्थे । त्यसैगरी नुन, तेल, घरेलु अत्यावश्यक सामाग्रीहरु ढाकर वा डोकोमा कैयन दिनहरु बोकेरै आफ्नो बस्ती पुर्याउँथे । विगतमा बाटो थिएन । न विजुली, न स्वास्थ्य केन्द्र, न यातायात, न विद्यालय, न प्रहरी चौकी न अन्य सुविधा थिए पहाडमा । तर गाह्रो-साह्रो भएपनि दुख जिलो गरेर पहाडमै बसेका थिए नेपालीहरु। अहिले पहिलेको तुलनामा लगभग सबै सुविधा पुगेको छ । तर नेपाली पहाडहरुका बस्तीहरु लगभग रित्तो हुने अवस्थामा पुगेको छ ।
किन यस्तो भयो त? नेपालको अहित हुने परचक्री देशको हित हुनेगरी जब कथित थोपरीएको जनयूद्ध भयो । देशको अहित गर्ने ध्येयले थालिएको जनयूद्धले पहाडमा दुई छाक खान लाउन पुग्नेलाई शोषक देख्यो । र, ति नेपालीहरुलाई विस्थापीत गर्न थाल्यो। त्यो प्रतिशतमा भन्दा करिव १५ प्रतिशत पहाडमा बस्नेहरुलाई विस्थापीत गर्यो नेकपा माओवादीले । यसको परिणाम पहाडी बस्तीहरुमा देखासीखी गर्ने प्रवृति बढ्यो । त्यसपछि त पहाडै खाली गर्ने जस्तो अभियान चले झैं धेरै पहाडमा बस्नेहरुले आफ्नो थात थलो छोड्न थाले । जसले गर्दा पहाडमा बस्तीहरु खाली भए । बस्तीमा मानिस भेटीएपनि बुढाबुढी र केटाकेटी मात्र भेटिन्छन । खेतबारी लगभग सबै बाँझो छन ।यस्तो अवस्था सृजना हुनुमा कथित जनयूद्ध नै हो। यसको सम्पूर्ण अपजस र अक्षम्य गम्भीर अपराधको संपूर्ण जिम्मा नेकपा माओवादीले लिनुपर्छ ।विना पूर्वाग्रह सोच्दा यो पंक्तिकारलाई लाग्छ,’नेपालको पहाड पूर्णतः खाली गराउन नेकपा माओवादीलाई एउटा काम पनि लगाईएको थियो कि!’ यस्तो किनभने कथित हिँसात्मक जनयूद्ध दक्षिणी छिमेकीले नै थोपरी दिएको थियो ।लामो रणनीति अपनाएर पहाडमा भूगोलको भन्दा जनसंख्या र बसोबासको आधारमा सांसद संख्या भसक्कै घटाईदिने । तराईमा सांसद संख्या बढाईदिने । त्यसपछि कालान्तरमा संसदबाटै बिनारक्तपात नेपाललाई नेपाली संसदबाटै भारतको हिस्सा बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित गराउने ।अर्थात नेपाललाई सिक्कीमीकरण गर्ने ।नपत्याए रिसर्च अनाळाईसिस विङ्गका पूर्व प्रमुख आर के यादवले लेखेको Mission R & AW पढदा हुन्छ । र, आर के यादवको अन्तरवार्ता यो लिङ्कमा हेर्नुहोस । https://youtu.be/6gvDlim-2Iw?si=Mx99tkGE7FoJacQw
कालान्तरमा पहाड किन खाली भयो त? भन्ने प्राज्ञिक अनुसन्धान कसैले गर्यो भने शायद निश्कर्ष पनि यस्तै-यस्तै होला जस्तो लाग्छ ।एक अर्कोलाई दोष देखाएर आफू भाले पल्टने खेलमा वा लेखनमा म कहिलै विश्वास गर्दिन ।’पत्रकारहरु कहिलै बिक्दैनन्, बिक्नेहरु पत्रकार हुन सक्दैनन्’ भन्नुहुने अष्ट्रेलियाली प्राध्यापक मेरा गुरु डेभीड कोनलीको पक्का चेलो हुँ।यसर्थ दोषारोपणको खेलमा म विल्कुलै विश्वास गर्दिन । तर नेपालको मौजुदा अवसाद, भद्रगोल र लथालिङ्गेपनको प्रमुख कारण र श्रोत कथित जनयूद्ध नै हो जस्तो लाग्छ ।
आशा कि निराशा
‘के नेपालमा निराशा बढेको हो?’ प्रश्न तेर्साउँदै एकजना पठाओ चालकसंग गहिरो सम्वाद गरेको थिएँ ।४७ वर्षीय निरन्जन श्रेष्ठले भने,’ बुढा नेताहरुले नमरेसम्म नछोड्ने भए त्यसले पनि निराशा बढेको हो कि!’ आइकम पढेको चालक श्रेष्ठ ५८ सालमा मलेसिया गएर ४ बर्ष बसेका थिए । त्यो बसाईले खान लाउन मात्र ठिक्क भो उनलाई । त्यसपछि उनि २०६८ सालमा कतार गएर २७ महिना बसेका थिए- चालक श्रेष्ठ ।उनी आफ्नो अनुभव सुनाऊँछन,’कतारको कमाई २ लाख ५० हजार र बुवासंग २ लाख ५० हजार लिएर पछि सहकारीबाट ऋण लिएर ट्याक्सी किनें। अहिले सबै ऋण तिरीयो । देशमा काम गर्नै धेरै अल्छी गर्ने तर विदेशीने देखासिखी बढ्यो ।देश छोडी हाल्न हतार गर्ने र विदेशीई हाल्ने । त्यो देखासिखीले पनि देश छोड्न नखोज्ने यूवाहरुलाई पनि विदेशीन प्रोत्साहीत गर्यो ।विदेशमा नेपालभन्दा कति धेरै दुख छ । भोग्नेलाई मात्र थाहा हुन्छ ।देशको राजनीतिले पनि हो नेपाली वाक्क भएका ।राजनीतिमा एकले अर्काको बिरोधको लागि विरोध मात्र गरेको देखियो । जसले गर्दा गाउॅं रित्तीयो भन्दा भन्दै सहरै रित्तीने बेला भैसक्यो ।’
लौ ! आउनुस हामी अब एउटा हिसाब गरौं ।ढुकुटीले सुकुटी भएकाहरुको संख्या ५ लाख, घर-जग्गाको कारोबारले आर्थिकरुपमा जकडीएका १५ लाख, सहकारीमा बचत गरेर मर्कामा पर्ने जोखिममा रहेका १० लाख र शेअर कारोबारमा शेअर घटेर रोईरहेका १५ लाख नेपाली छन् । अब यसलाई जोडौं।आर्थिक कारोबार अड्कीएर अप्ठयारोमा परेकाहरुको कूल संख्या ४५ लाख हुन आउँछ । यो कूल संख्याको नेपालीहरुले दोहरो तेहरो लगानीमा पो गरेका छन कि? त्यस हिसाबले कूल संख्यालाई आधी ठान्दा २२ लाख ५० हजार नेपालीहरु आर्थिक संकटमा परेको देखिन्छ । ल! मानौं माथि उल्लेखित ४५ लाख नेपालीहरु मध्ये तिन भागको एक भाग मात्र आर्थिक उल्झनमा फसेको ठान्दा १५ लाख नेपालीहरु लगानी र बचतकर्ता आर्थिक महासंकटमा परेको पुष्टी हुन्छ । नविर्सौं,’नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्छन। जसमध्ये ८ प्रतिशतले आर्थिक समस्याका कारण आत्महत्या गर्छन।’ खैर जे होस । आर्थिक महासंकटकै कारण १५ लाख नेपालीहरु तनाव, चिन्ताग्रस्त, चिन्तीत र अवसादलेग्रस्त हुन सक्ने संभावना छ ।
ल! ठानौं यो कुल संख्या नेपालको मध्यम र निम्न मध्यम वर्गीय परिवारका शिक्षीत मानिसहरु नै हुनुपर्छ ।ति नेपालीहरु नेपाली समाजको मेरुदण्ड जस्तै हुन।यसले खप्तड बाबाको विचार विज्ञान पो याद गरायो,’जस्तो सोच्यो,त्यस्तै हुन्छ।’ ति १५ लाख नेपालीहरुले जानेर वा नजानेर आफ्नो आर्थिक अवस्थालाई महासंकटमा पारे ।त्यसले उनिहरुलाई मानसिक दवाब पर्यो । जसका कारण कैयौं मानिसहरुहरु अवसाद, तनाव, ऐंठन, दिक्दारी, चीन्ता, चिन्तीत, र उदासीमा परेका हुन सक्छन ।आफू समस्यामा परेको मानिसले मनोविज्ञका अनुसार शनै शनै कुनै पनि कुराको दोष अरुलाई लगाउँछन ।तिनैले आफ्नो आर्थिक महासंकटका प्रमुख कारण ‘देश बरवाद भो’ र ‘देश खत्तम भो’ भन्न थाले । यो कथन एक कान दुई कान मैदान भयो ।त्यसो भन्नेहरुलाई पत्याउने नेपालीहरु पनि बिशलेष्ण नै नगरी कवि भूपी शेरचनको कवितामा यो हल्लै हल्लाको देश भने झैं कान नछामी हल्ला गर्न तल्लीन भए । त्यसमाथि कतैबाट प्रायोजीत वा आयोजीत टेलीभीजनहरु पनि ‘देश खत्तम र देश वरवाद भो’ भन्ने भाष्य स्थापित गर्न कन्दनीदेखिको वल र वुद्धी लाउन थाले । यसले सृजीत कथनलाई फैलाउन झनै मद्दत गर्यो ।
यसैबिचमा यो पंक्तिकार हाल नेपालीहरुको मानसिक स्वास्थ्यको अवस्था के छ? खोज्दै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको कार्यालय पुगेको थियो । सन् २०२० मा नेपालमा कोभीडको प्रभाव र असरका कारण उत्पन्न नेपालीहरुको मानसिक अवस्था जान्न गरिएको सर्वेक्षणमा आधारीत प्रतिवेदन बाहेक केही पनि फेला पर्न सकेन । यसको अर्थ नेपालमा सरकारका तर्फबाट नेपालीहरुको मानसिक स्वास्थ्यका बारेमा अध्ययन अनुसन्धान गर्ने र प्रतिवेदन प्रकाशन गर्ने चलन नै रहेन छ ।
हालै पत्रकार टिकाराम यात्रीसँगको अन्तरवार्तामा काठमाडौंका रैथाने पत्रकार सौरभले भनेका थिए, ‘नेपाल सिङ्गो देश नै साइक्रेटीक वार्ड (मानसिक उपचार कक्ष) जस्तो लाग्छ। कोही आफ्नो कपाल लुछीरहेका, कोही त्यसै हाँसीरहेका, कोही ऐना हेर्दै गाली गरिरहेका छन जस्तो लाग्छ।’ यो भनाई कतिको अतिरञ्जना हो? कतिको यथार्थपूर्ण हो ? छुट्याउने जिम्मा पाठकहरुमै छोडें ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले हालको राष्ट्रिय मानसिक स्वास्थ्य अवस्था बारे हात लाग्यो सुन्य बनाएपछि अर्को उपाय अपनाएँ ।पूर्व स्वास्थ्य सचिव र बरिष्ठ मनोचिकीत्सकलाई सोधेको थिएँ,’के छ नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य अवस्था?’ तर उनले जवाफ अघि नै एउटा सर्त तेर्स्याए र भने,’मेरो नाम उल्लेख नगर्नुहोला।’ सर्त स्विकारें । त्यसपछि पूर्व स्वास्थ्य सचिव एवं बरिष्ठ मनोचिकीत्सकको प्रष्ट जवाफ थियो,’जनताले मरी-मरी काम गरेर सरकारलाई कर तिर्ने।तिरेको करले केन्द्र र प्रदेशका ठूलो संख्याका सांसदहरु र मन्त्रीहरुलाई पाल्नुपर्ने ।रोजगारी कतै खुलेका छैनन।जताततै राजनीति छ।ठूलो धनरासी खर्च गरेर संबिधान बन्यो।देश बिगार्ने संबिधान बन्यो।गाउँका गाउँ रित्तो छन्।गाउँका खेतबारी सबै बाँझै छन्।यूवा यहाँ बस्न कोही चाहँदैनन्।दैनिक २/३ हजारको संख्यामा यूवाहरु बिदेशिएका छन्। नेपालमा भ्रष्टाचार बाहेक केही छैन।महँगी त्यस्तै आकासीएको छ।मानिसको आम्दानी छैन।त्यस्तो देशमा आम अवसाद (Mass Depression) वाहेक के हुन् सक्छ ? हो ! सिङ्गो नेपाली समाज अवसादमा (Mass Depression) छ।’ बरिष्ठ मनोचिकीत्सक र पूर्व स्वास्थ्य सचिवको प्रतिक्रियाको सत्य तथ्य मापन गर्ने जिम्मा पाठकलाई छोडें ।
तर माथिका विवरण, तथ्य,सत्य र भनाईहरुलाई ध्यानमा राखेर केलाउँदा नेपालमा १५ लाख मानसिक स्वास्थ्य समस्याको कुनै न कुनै चरणमा परेको हुन सक्ने अनुमान गर्न सकिन्छ। तर यतिकै भरमा सिङ्गो देश नेपाल वरवाद वा खत्तम भैसक्यो भन्ने भाष्य वा कथन स्थापीत हुन सक्दैन ।
महासंकटः कसलाई छैन
नबिर्सौं सन् २००७-२००८ मा संयूक्तराज्य अमेरिका गहिरो आर्थिक मन्दीमा परेको थियो । त्यतीबेला पहिलो र दोश्रो विश्वयूद्धपछि पहिलोपटक करोडौं करोड अमेरीकालीहरु गीर्जाघर, मन्दीर, गुम्बा, गुरुद्वारा, बहाई केन्द्र र विपश्यना केन्द्र नियमीत धाउने भएका थिए । संयूक्तराज्य अमेरिका अहिले चीनसंग लिएको ३५ ट्रिलीयन डलर ऋणले आफ्नो आर्थिक संकट टारीरहेको छ ।प्रायः सबै धनी देशहरु अर्काले दिएको ऋणमै आर्थिक संकट धानीरहेका छन । भर्खरै निर्वाचीत अमेरीकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएड मार्फत विश्वभरी दिंदै आएको सहयोग बन्द गर्नाले पनि अमेरीकाको आर्थिक संकटको पनि संकेत गर्छ ।
हो ।नेपालपनि गम्भीर आर्थिक संकटमा छ । त्यसमाथि वैदेशिक ऋण पनि बढदो छ । सुशासन सुन्य छ । जताततै मनपरितन्त्र देखिन्छ । तर नेपाल यूद्धमा परेर वरवाद भएको होइन । प्राकृतीक विपत्तीमा परेर सिङ्गो भूगोल धुलीमाटी भएको होईन, छैन । ठूलो रोग वा महाब्याधी लागेर आम मान्छे मरेका होईनन् ।ठूलो भूकम्पले देश क्षत विक्षत भएको होईन ।बंगालको भुखमरी जस्तो भोकमरीले असङ्ख्य नेपालीले अकाल मृत्यू ब्यहोर्नु परेको छैन । बजारमा चहलपहल र कारोबार जारी छ । तर पहिले भन्दा मन्दी आएको मात्र हो । जपानको हिरो सिमा र नागासाकीमा संयूक्तराज्य अमेरिकाले फालेको Little Boy जस्तो अणू बम खसेर मटियामेट भएको अवस्था होईन । हो । अहिले आर्थिक मन्दी र त्यसका कारण सृजीत समस्याले समाज अलि कता कता अप्ठारो सामना गर्न बाध्य भएको हो कि जस्तो छ । तर नबिर्सनु समय र संकट पनि नदी जस्तै हो।यो संकट र समय पनि टरेर जानेछ ।
त्यसो त नेपालीहरु २०४६ को जनआन्दोलनले प्राप्त गरेको प्रजातन्त्रपछि पश्चिमा जीवनशैली र खुलापनसंग शनै शनै आमने सामने भए । नेपाली संसारसंग जोडीयौ ।त्यसोत हामी नक्कल गर्न औधि सिपालु छौं ।र, एकहदसम्म दक्षिण एसीयाली देशमा उदार पनि छौं । त्यसले गर्दा सुविधा र जीवन शैली, ढोङ्ग, घाँटी नहेरी हाड निल्ने बढदो चलन, चरम उपभोक्तावादी सोच र देखासीखी बढी गर्ने तर सरल-सहज र निर्वाहमुखी जीवन यापन गर्न छोडेर पनि अलि अत्यास लाग्दो अवस्था सृजना भएको हो । त्यसो त नेपालमा विकासका धेरै कुराहरु राम्रा भएका छन । के होलान त? ति कुराहरु…!
उहिलेको कुरा खुइलिए
अहिलेको कुरा झीक
सर्लाहीको सासापुरका समाजसेवी गंगालाल थिङ्को नेपालको विकासबारे टिपणी घत लाग्यो । उनको भनाई थियो,’भ्रष्टाचार भएरै नेपालमा विकास भएको हो।’ कति निर्मम र कडा छ व्यंग्य ।
ल हेरौं । अहिलेको अवस्थामा नेपालमा के के भएका छन त?
आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार १८ हजार २ सय ४१ किलोमिटर कालोपत्रे, ७ हजार ६सय ९७ किलोमिटर खण्डस्मित र ८ हजार ३सय २९ किलोमिटर कच्ची सडक गरी संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार २ सय ७६ किलोमिटर रहेको छ । नेपालका सबै जिल्लाहरुमा सडक पुगीसकेको छ।संसारसंग जोडीने ब्रोडव्याण्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहमा पुगेको छ ।
देशैभरी स्वास्थ्य केन्द ७ हजार ८ सय ५८ रहेका छन भने अस्पताल २ सय १५ वटा छन ।त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र २ सय १, स्वास्थ्य चौकी ३ हजार ८ सय २०, र आयुर्वेदीक औषधालय ४ सय २६ वटा रहेका छन । अनि उपस्वास्थ्य चौकी / आधारभूत स्वास्थ्य केन्द्र ३ हजार १ सय ९६ छन भने सबै अस्पतालका शैया १६ हजार ५ सय ४१ वटा छन । अर्को खुशीको कुरा राष्ट्रिय ग्रिड, लघु जलविद्युत् र सौर्य उर्जा गरी सबै जिल्लामा विद्युत पुगेका छन । कुल जलविद्युत जडित क्षमता ३ हजार ६० मेघावाट पुगेको छ ।
यदि भ्रष्टाचार र नीतिगत भ्रष्टाचार हुँदैनथ्यो, इमान्दारीका साथ सुशासन कायम राख्न सकेको भए नेपालको विकास अचम्मै लाग्नेगरी हुन सक्थ्यो ।
तर जे होस।के ‘नेपाल खत्तमै वा वरवाद’ भैसकेको हो? बिल्कुल होईन। यो सबै कूप्रचार, दुर्गा प्रसाई जस्ता विवादास्पद व्यापारी, कतैबाट आयोजीत वा प्रायोजीत टेलभीजनहरु, स्वार्थ समूहहरुले चलाएको आमसंचार माध्यम, नेपालमै बसैर आर्थिक महासंकट ब्यहोरी रहेका १५ लाख नेपालीहरु, सार्वजनिक संजालमा हल्लाका पछि कुद्नेहरु, विदेश बसेर रौसी खाएपछि सार्वजनीक संजाल प्रयोग गरेर गाली गर्नेहरु, सरकारमा हुँदा एउटा कुरा प्रतिपक्षमा हुँदा ठ्याक्कै उल्टो कुरा गर्ने राजनीतिक दलहरुका कार्यकर्ता र समर्थकहरु ‘नेपाल वरवाद वा खत्तम’ भैसक्यो भन्ने भाष्य र कथन बनाउन कन्दनीदेखिको वल र वुद्धी खर्च गरिरहेका छन । यो भाष्य र कथन माथिका तथ्याङ्कहरुले गलत हुन भन्ने पुष्टी गर्छ ।
जहाँसम्म नेपालीको मानसिक स्वास्थ्यको कुरा छ । यसको निदान गर्न सरकारले वर्तमान मानसिक समस्या सम्बोधन गर्नेगरी नीति, नियम, विनीयम र कार्यान्वयनमा बिशेष ध्यान दिन ढिलो भैसक्यो । सरकारले बेलैमा यो समस्यालाई समाधान गर्न सम्पूर्ण ध्यान कैन्द्रित गर्न ढिला भैसक्यो ।
यसैपनि मानिस फिरन्ते प्राणी हो । नेपाल छोडने र फर्कनेक्रम जारी रहन्छ । नेपालमा प्रणाली र व्यवस्थामा पूर्णतः सुशासन भएको सुनिश्चितता भएको अनूभुती विदेशमा बस्ने नेपालीहरुले गरे भने अवश्य केही नेपालीहरु तत्काल फर्कन तयार छन ।
नेपालका दुई ठूला दल मिलेर बनेको बलियो सरकारले के साँच्चीक्कै सून्य भ्रष्टाचार र दिगो सुशासन सुनिश्चित गर्न सक्छन त? अहिलेसम्म त्यसो गर्न नसकेकै कारण ‘के नेपाली साँच्चीक्कै निराश छन ?निराश छन् भने किन ?निराश छैनन भने किन?’ जस्तो गम्भीर प्रश्न र अवस्था सृजना भएका हुन ।
वास्तवमा, नलकपकाई भन्ने हो भने यो अहिलेको मात्र होइन, सदाकालको प्रमुख प्रश्न हो । यो हाम्रो पुस्ताका सामु हामी कट्टु नलगाई दौडने बेलादेखि आजसम्म अजर अमर रहेको प्रश्न हो । छाँट हेर्दा लाग्छ, हामी आर्यघाट पुग्दा यो प्रश्न यत्तिकै तरोताजा रुपमा त्यहाँ पनि उपस्थित हुनेछ । हामी नरहँदा पनि यो प्रश्न जीवितै रहनेछ, शायद अर्को पुस्तालाई पनि यसैगरी विदा गर्न !
यसलाई विडम्बना मान्ने कि गौरवको विषय ? विडम्बना मान्नु आफूले आफैंलाई ढाँट्नु हो । किनभने, एकपछि अर्को व्यवस्थाहरुलाई फ्याँक्न र बदल्न हामीले नै काम गरेका हौं । त्यसमा हामी निरन्तर सफल भएका छौं र आफ्नो दृष्टिमा ‘सर्वोत्तम व्यवस्था’ स्थापित गरेका छौं, जसको ‘योभन्दा राम्रो विकल्प’ यो दुनियाँमा छैन । पार्टी कार्यकर्ताका रुपमा पार्टीको नेतृत्वमा र आम जनताका रुपका देशको नेतृत्वमा ‘सर्वोत्तम’ व्यक्तित्वहरुलाई निर्विकल्प रुपमा तीसौं वर्षदेखि निरन्तर स्थापित, अनुमोदित, निर्वाचित गर्दै आएका छौं । ती हाम्रै रुचि, चाहना, आदर्श र अन्तस्का प्रतिनिधि हुन् । यति गरेपछि स्वाभाविक रुपमा जे हुनुपर्ने हो, त्यही भइरहेको छ । यसमा रुन वा हाँस्न त हामी स्वतन्त्र छौं, तर यसको दोष वा श्रेय हामी अरुलाई दिन सक्तैनौं । किनभने, यो हाम्रै आर्जन हो । पूरा होश–हवासका साथ, गौरवबोधका साथ, स्वेच्छाले गरेको आर्जन । किनभने, कार्य–कारण, कर्म–फल वा बीज– उत्पादनको प्राकृतिक–वैज्ञानिक नियमको अपवाद हुँदैन । त्यसैले, यो ‘प्रमुख प्रश्न’ हामीले अरुलाई होइन, आफैंलाई सोध्नुपर्छ । थेत्तरो वा नकच्चरो भएर सोधेनौं भने, ढुक्क हुनोस्, भोलिको पुस्ताले अवश्य सोध्नेछ— अलिकति आक्रोश, अलिकति धिक्कार–भाव र अलिक धेरै घृणाका साथ !