नेपाली सेनाको व्यवस्थापनमा एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यस आयोजनाले विभिन्न व्यवधानहरुको सामना गर्दै अगाडी बढेको छ जसबाट निर्धारित समयसीमा भित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ । ७२.५ कि.मी. लामो यो आयोजना बागमती र नम्बर २ प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर-काठमाण्डौं-मकवानपुर-बारा) हुँदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ । लामो समयसम्म बवस्तृत परियाेजना प्रतिवेदन उपलब्ध नहुनु र उपलब्ध भइसके पछी पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनौटमा हुन गएको ढिलाई तथा कोभिड-१९ का कारण आशातित् गतिमा अघि बढ्न नसकेको यो आयोजनाले अब अन्तराष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटील पाटोको रुपमा रहेको सुरुङ्ग मार्गको लागि कम्पनिहरुको सूची तयारी तथा मुल्याङ्कन कार्य सम्पन्न भइ निर्माण कार्यले गति लिएको छ ।
काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १०.५९ कि.मी. र ढुङ्गा माटोको काट्ने पुर्ने कामगर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ कि.मी.रहेको छ । जस अन्तरगत आयोजनाको ४४.१ कि.मी. सडक खण्डको आधार तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने कार्यहरु हालसम्म ८८% सम्पन्न भएको छ । २०७७/७८ को आयोजनाको कुल कार्य अंशको थप ५.१०% काम सम्पन्न गराई आयोजनाको कुल कार्यको १६.२१% प्रगति हासिल गर्ने लक्ष राखिएको छ ।
काठमाण्डौं तराई मधेश द्रुतमार्ग सडककाे समष्टिगत कार्य विवरण अनुसार हाल छैठौ चरणमा चलिरहेको छ । गत आ.ब. को वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तीय तर्फ ४२. ८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तीय तर्फ ९.५२ प्रतिशत रहेको छ । यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल वित्तीय खर्च १७ अर्व ८३ करोड भएकाे नेपाली सेनाले बताएकाे छ ।