कवि रामनाथ अधिकारी ‘सङ्गी’लाई अभिनन्दन

कवि रामनाथ अधिकारी ‘सङ्गी’लाई पोखरामा अभिनन्दन गरिएको छ । रामनाथ अधिकारी ʿसङ्गीʾ नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उहाँको अभिनन्दनसँगै अभिनन्दन ग्रन्थ पनि लोकार्पण गरिएको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, गण्डकी प्रज्ञा प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पद्यराज ढकाल, समारोह समितिका अध्यक्ष प्रा डा बलराम उपाध्याय रेग्मीले संयुक्तरूपमा कवि सङ्गीको अभिनन्दन एवं अभिनन्दन ग्रन्थको लोकार्पण गर्नुभएको हो ।

उक्त अवसरमा श्रीपति कोइराला गुठी, गीजञ्जली साहित्य परिवार, माधव वियोगी वाङ्मय प्रतिष्ठान, विश्व हिन्दू महासङ्घ, राष्ट्रिय धर्मसभा नेपाललगायतले संस्थागतरूपमा कवि सङ्गीलाई अभिनन्दन गरेका थिए । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले अधिकारी सच्चा जनकवि भएको बताउनुभयो ।

अभिनन्दन ग्रन्थको समीक्षा गर्दै समालोचक डा जगन्नाथ रेग्मीले सङ्गीलाई अन्तरदृष्टि भएको व्यक्तित्वका रूपमा चर्चा गर्नुभयो । कार्यक्रममा गीताञ्जली साहित्य परिवारका वरिष्ठ उपाध्यक्ष भानुभक्त भण्डारी क्षितिज, केशवराज भण्डारी, छन्दमणि त्रिपाठी, सचिव असफल गौतमलगायतले कवि सङ्गीको साहित्यिक योगदानको चर्चा गर्नुभयो ।

कास्कीको गोर्जेमा विसं २००५ माघमा जन्मिनुभएका कवि सङ्गीले महाकाव्य, खण्डकाव्य, शोककाव्य, कविता सङ्ग्रह, उपन्यासलगायत गरी करिब तीन दर्जन कृति रचना गर्नुभएको छ । शैक्षिक, सामाजिक, साहित्यिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका कवि सङ्गी चार दर्जन बढी सङ्घसंस्थाबाट सम्मानित भइसक्नुभएको छ ।

Facebook Comments