‘करार र ज्यालादारी सेवामा कार्यरत राससकर्मीलाई पेन्सनसहितको सुविधा’

काठमाडौँ/योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने राससका ज्यालादारी तथा करार सेवामा कार्यरत जनशक्तिले पेन्सनसहित सामाजिक सुरक्षा पाउने भएका छन् । कोषमा आवद्ध हुने सार्वजनिक संस्थामा कार्यरत अस्थायी, ज्यालादारी तथा करार सेवाका जनशक्तिले पेन्सनसहित अन्य सुविधा प्राप्त गर्ने व्यवस्था भएबमोजिम राससकर्मी लाभान्वित हुने भएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कोषमा आबद्ध राससकर्मीलाई परिचयपत्र वितरण गर्दै मन्त्रालयको निर्देशनबमोजिम सम्बद्ध सबैलाई आवद्ध गराइ राज्य मातहतको पहिलो सञ्चार गृह बन्न सफल भएकामा राससलाई धन्यवाद दिनुभयो ।

आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीको विशेष उस्थितिमा रासस र कोषबीच अस्थायी, ज्यालादारी तथा करार सेवामा कार्यरत राससका जनशक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल सरकारले सार्वजनिक संस्थामा कार्यरत जनशक्तिलाई पनि कोषमा आबद्ध गराउने व्यवस्था लागू गरेपछि राससमा कार्यरत १७ जना ज्यालादारी तथा करार सेवामा कार्यरत जनशक्ति लाभान्वित भएका हुन् ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससप्रति समर्पित भई अमूल्य योगदान दिइरहेका अस्थायी तथा ज्यालादारी सेवामा कार्यरत जनशक्तिको बृहत्तर हितलाई ध्यानमा राखी सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक व्यवस्था गरिएको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषमा आबद्ध भएका कर्मचारीलाई राहत दिने उद्देश्यका साथ समितिको चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

कोषमा आबद्ध हुने योगदानकर्ताले पाउने पारिश्रमिकको ६० प्रतिशतलाई आधार मानी त्यसको २० प्रतिशत रासस र ११ प्रतिशत योगदानकर्ताका तर्फबाट गरी मासिक ३१ प्रतिशतका दरले कोषमा सञ्चय हुनेछ । योगदानकर्ताले कोषबाट औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अपाङ्गता सुरक्षा, आश्रित परिवार सुरक्षालगायतका सुविधा पाउनेछन् । हाल नेपालमा करिब २६ लाख ५० हजार योगदानकर्ता कोषमा आबद्ध छन् ।

Facebook Comments