कतै बाडीपहिरो कतै खडेरीको पीर

पानी अभावले रोपाइँ हुन सकेन

साउन लाग्नै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन् । धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन । किसान बनेर आकाशतिर हेरिरहन्छन् । बर्खाको भरमा धान लगाउने किसान यस वर्ष वर्षा नभएपछि निराश छन् ।

अदानचुली गाउँपालिकाका किसान भन्छन्, “धान र कोदो रोप्न बीउ तयार छ, बीउ उम्रिसक्यो, तर पानी छैन । नहरका लागि पानीको मुहान पनि छैन । आकासे पानीका बसेका छौँ ।”

असारभर राम्ररी वर्षा नहुनु र वैकल्पिक सिँचाइ योजना पनि नहुनुले समस्या भएको यहाँका किसान बताउँछन् । अधिकांश ठाउँमा सिँचाइका नहर भए पनि गत वैशाखमा आएको बाढीले क्षतिग्रस्त छन् । आकाशबाट आएको पानीले खोला बढेपछि सोही खोलाको पानीले खेत रोप्नका लागि बनाइएका कुलोमा झारमात्र उम्रिएको छ । योजनाहरू प्रायः व्यक्तिगत छन् । सिँचाइका योजना छैनन् ।

अदानचुली गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय सरकारले हरेक वर्ष करोडौँ रुपैयाँ विकास योजनामा विनियोजन गरेको हुन्छ तर व्यक्तिगत पर्खाल, गेट, मोटरेबल सडक र रङ्गीन बोर्डहरूमा बजेट खर्च भइरहेछ । तर खेतबारीमा पानी पुर्याउने कुनै योजना र कार्यक्रम देखिन्न । खोलाको नाममा तटबन्धन भए पनि आफ्नै जग्गा र पर्खाल बनाउने, व्यक्तिगत फार्महरूको घेरबारलगायत योजना सङ्घ र प्रदेशले बनाएर कार्यान्वयन गरेको पाइन्छ ।

“धान, कोदोलगायत अन्य बालीनाली रोप्न नपाएर बीउ सुक्न लागिसक्यो । किसानलाई योभन्दा ठूलो यातना केही हुँदैन । खेतमा पानी छैन, यसमा कसैको ध्यान जाँदैन”, स्थानीय ललित बुढाले भन्नुभयो । गाउँपालिकाले ‘कृषिमा आधुनिकीकरण’ भनेर बजेट सार्वजनिक गरेको छ । सोलारपम्प, डिपबोरिङ वा कुलो निर्माण र मर्मतजस्ता जीवन्त योजना अझै फाइलमा अड्किएका छन् ।

“खेत सुक्छ, किसानको आवाज सुनिँदैन । बीउ वितरण, अव्यवस्थित सिँचाइ प्रणालीले समस्या भएको छ”, उहाँले भन्नुभयो ।

खडेरीले सम्झाउँदै ‘डाक वचन’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले पनि खेतीपाती र मौसमका कुरा उप्किँदा पाका किसान ‘डाक वचन’ सम्झन्छन् । अनुकूल/प्रतिकूल मौसम र खेतीपातीका सन्दर्भमा सिद्धपुरुष ‘डाक’ले करिब तीन सय वर्षअघि गरेका भविष्यवाणी उमेर घर्केका मैथिल (मिथिलाका बासिन्दा) लाई कण्ठस्त छ । मौसमवेत्ता र भविष्यवेत्ता मानिने ‘डाक’ मैथिल जनजीवनका सम्झिरहने पात्र मानिन्छन् ।

“अखाढ सुक्खा, सावन दुखद, भादो भैंसल, अगहन झखत” (असारमा पानी नपर्दा साउन दुःखकै हुन्छ, अनि भदौ पनि राम्रो हुँदैन, सारमा मङ्सिर टोलाएर बस्नुपर्ने हुन्छ) यसपालि पानी नपरी असार बित्दा दिक्क हुनुभएका भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय दीपनारायण चौधरी थारू डाक वचन सम्झँदै भन्नुहुन्छ, “अखाढक मार सालभर खेप परैय” (असारमा पानी नपरेको मार (मर्का) वर्षभरि झेल्नु पर्छ) ।

मिथिलामा प्रायः मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको व्यावहारिक प्रचलन हुँदा सौरमासभन्दा चन्द्रमासको गणनामा महिना गनिन्छन् । चन्द्रमासले शुक्रबार नै साउन लागेपछि चौधरीले डाक वचन सम्झँदै साउनको पनि छन्द निको नदेखिएको बताउनुभयो । “सावन सुक्खासँगे चलै, किसानक भाग्य अधरमें टलै” (साउनमा पानी नपर्दा किसानको कर्म पासोमा भुन्डिएजस्तै हुन्छ) डाक वचन सम्झँदै चौधरी भन्नुहुन्छ, “सावनक रुइख सेहो निक नई दिखाइय” (साउनको छाँट पनि निको देखिन्न) । शुक्रबार साउन कृष्णपक्ष सुरु भए पनि जेठको प्रचण्ड राप बिस्र्याइरहेको उहाँ बताउनुहुन्छ । यसपालि पानी नपरेर धानबाली लगाउन नपाएका चौधरीजस्तै पाका किसान अहिले दिक्दार देखिन्छन् ।

यहाँ ‘डाक वचन’ पढेर भनिएका होइनन् । एक अक्षर पढ्न÷लेख्न नजान्ने भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतरलाई ‘डाक वचन’का थुप्रै पङ्ति कण्ठस्त छन् । यो भन्ने, सुन्ने प्रक्रियाबाट पुस्तान्तरण हुँदै आएको छ । यद्यपि अहिलेका नयाँ युवा पुस्ताले भने यी पुराना कुरामा ध्यान नदिने गरेका बाँतरको गुनासो छ । आफूले बाजेको काखमा खेल्दैदेखि उहाँबाट डाक वचन सुनेको बाँतर बताउनुहुन्छ ।

अहिलेको मौसम अवस्था पानी पर्ने छाँटको नभएको डाक वचनका आधारमा बाँतरको निष्कर्ष छ । “सावन अन्हार, न बादर न बयार, पिया परदेश किसान लाचार” (साउन न अँध्यारो छ, न बादल न मेघ, प्रियजन परदेश छन्, यस्तो बेला किसान लाचार हुन्छन्) डाक वचनका पङ्ति सम्झँदै बाँतर भन्नुहुन्छ, “सावन जौं रहै निरभ्र गगन, खेत सुखाय, मरय जनमन” (साउनमा आकाश बादलबिनाको देखिनु वर्षा नहुने सङ्केत हो । यसले जग्गा रुखो बनाउँछ र जनजीवन सङ्कटमा पर्छ) ।

सिङ्गो असार पानी नपरी बित्दा खेत रोप्न नपाएका किसान साउन लाग्दा पानी पर्छ कि भनेर गरिएको आश पनि निरर्थक भएको बताउँछन् । अब त चन्द्रमासले साउन कृष्णपक्ष सुरु भएको छ । तर लक्षणहरूले पानी पर्ने छाँट नदेखिँदा ‘डाक वचन’ सम्झँदै महोत्तरीको औरही–७ का ७५ वर्षीय मोहन महतो भन्नुहुन्छ, “सावन जो नभ चटकी रहल, बून्द नई टप्केइ खेत ! धान–पानक सगुन घटै रोपनी होई न हेत !” (साउन लाग्दा पनि आकाश सफा देखिए पानी पर्दैन, खेत रुखा हुन्छन्, खेती चौपट हुन्छ) । अहिले ठ्याक्कै यस्तो लक्षण देखिएको महतोको भनाइ छ ।

मिथिलाको जनमनमा बसेका मौसमवेत्ता डाकको समय एकीनसाथ भन्न नसकिए पनि १९औँ शताव्दीको पूर्वाद्ध हुनसक्ने अड्कल गरिएको छ । गृहस्थ जीवनका सबै पाटामा डाकका भविष्यवाणी छन् । तर मिथिलामा मुख्यतः खेतीपाती र मौसमबारे बढी चासो राखिन्छ । डाकका चौपाइ (श्लोक) का प्रयोग भएका शब्दले यो समय १९औँ शताव्दीको पूर्वाद्ध हुनसक्ने अड्कल गरिँदै आइएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।

यसपालि धानको बीउ राख्नदेखि रोपाइँको समयसम्म अनुकूल वर्षा नहुँदा सिङ्गो मधेस मुख्यबाली लगाउन नपाएर आक्रान्त छ । खडेरीले पिल्सिएका मैथिल दिनको लक्षण र ‘डाक वचन’का उक्ति सम्झेर विरक्तिएका छन् । अन्नको भण्डार मानिने मधेसमा धानबाली लगाउन नपाएपछि किसान विलखबन्द परेका छन् ।

खेतीपाती र मौसमीय अड्कल गरिन केही दशक पहिलेसम्म निकै भरपर्दो मानिने ‘डाक वचन’ पछिल्ला केही दशकयता भने देखिने अवस्था र उक्तिका बीच मेल खान छाडेको कतिपय बताउँछन् । निश्चित समयमा देखिने मोसमीय अवस्था र त्यससँग जोडिएका डाकका वचनमा अब तारतम्य त्यति मिल्न छाडेको भङ्गाहा–७ मेघरोलका बासिन्दा वातावरण तथा चुरे विज्ञ डा विजयकुमार सिंह बताउनुहुन्छ । “अचेल डाक वचनका कतिपय सन्दर्भ मिल्दैनन्, तर यसको कारण डाक वचन गलत भएर होइन, पछिल्लो जलवायु परिवर्तनको असर हो”, सिंह भन्नुहुन्छ, “जलवायु परिवर्तनको असरले पुराना उक्ति र अवस्थाबारे गरिने अड्कल मेल खान छाडेका हुन् ।” अनि प्राकृतिक सम्पदाहरूको संरक्षण अवस्था पनि पहिलेजस्तो नहुँदा अहिले कतिपय सन्दर्भ मेल नखाने देखिने गरेका उहाँको भनाइ छ ।

यसपालिको लामो खडेरीले यहाँको मुख्यबाली धान लगाउन पाइएको छैन । यसैबीच मधेस प्रदेश सरकारले गत बिहीबार नै वातावरणीय असन्तुलनले वर्षा नहुँदा धानखेती गर्न नपाइएपछि प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रदेश सरकारको सुक्खाग्रस्त क्षेत्र घोषणाले मात्र राहत नहुने किसानको पीडा छ । अब तीनै तहका सरकारले यो खडेरीबाट जोगाउन र नयाँ बाली लगाउने काममा किसानलाई उत्प्रेरित गर्न सक्नुपर्ने किसान बताउँछन् ।

“प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा त गर्यो, यति घोषणाले त किसानलाई राहत हुँदैन नि, अब धानबाली लगाउन नपाएका किसानलाई अर्को बाली लगाउन उत्प्रेरित गर्नसँगै साधन स्रोतको पहुँच दिनपर्छ”, महोत्तरीकै बासिन्दा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य लक्ष्मण महतो भन्नुहुन्छ, “यसबीच विभिन्न राहतका कार्यक्रमले जनतालाई जोगाइराख्न तत्काल पहलकदमी बढाइनु पर्छ ।”

मिथिला क्षेत्रमात्र नभएर यसपालि सिङ्गो मधेसमै रोपाइँ निकै पछि परेको छ । चन्द्रमासले असार सकिएर साउन लागिसक्दासम्म मधेसमा धान रोपाइँ २५ प्रतिशत कटेको छैन । अझ महोत्तरीको धान रोपाइँ त १० प्रतिशत पनि पुगेको छैन । मधेसका आठ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ भएको महोत्तरी नै हो । जम्मा ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ हजार हेक्टर (प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अभिलेखमा ४२ हजार ५०० हेक्टर उल्लेख छ) धानखेतीको क्षेत्र मानिन्छ । जसमध्ये हालसम्म चार हजार हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । रोपाइँ भएको खेतमा पनि लामो खडेरीले धजा फाटेर धानका बोट पहेँलिएका छन् ।

मधेसमा तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल धानखेतीका लागि योग्य मानिन्छ । तर यहाँ अहिलेसम्म करिब ९३ हजार हेक्टरमा मात्र धान रोपाइँ भएको छ । रोपाइँ भएका खेत पनि महोत्तरीका जस्तै धजा फाटेका प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ

हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसक्नुभएको छ । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गर्नुभएका उहाँले पानी नपरेपछि धान रोप्न पाउनुभएको छैन ।

“असारको पहिलो हप्तातिर हल्का मात्र पानी परेको थियो”, उहाँले भन्नुभयो । “तर, यस वर्ष धानको ब्याड राख्ने समयमा पनि पानीले साथ नदिएपछि ढिलो भयो ।” सुक्खामा राखेका बीउ राम्रोसँग नबढेपछि पर्खिँदापर्खिँदै समय घर्किन लागेको उहाँको गुनासो छ ।

सिँचाइको व्यवस्था नभएको एक बिघा खेतमा उहाँले अकासे पानीका भरमा धान रोप्दै आउनुभएको छ । यसरी अकासे पानीका भरमा खेती गर्न केही समययता साह्रै सकस हुन थालेको उहाँले सुनाउनुभयो । “यस वर्ष धानको बीउ राख्ने समय पनि खडेरीमै गयो”, उहाँले भन्नुभयो, “पानीको पर्खाइमा बीउ ढिलो भयो, अहिले धान रोप्न उस्तै समस्या छ ।”

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । तर मधेसका जिल्लामा खडेरी बढ्दै गएको किसान बताउँछन् । असारको दिनमा समेत पानी नपरेपछि धान लगाउन ठिक्क पारेका खेत अहिले बाँझै बसेका छन्भने केही स्थानमा समयमै रोप्न नपाउँदा धानको बीउ छिप्पिन थालिसकेको छ ।

पटकपटक मौसम बदली हुँदै टर्दै गर्न थालेपछि यस वर्ष धान रोप्न नपाइने चिन्ताले सताएको जिल्लाको लालबन्दी नगरपालिका–५ जब्दीका दीपक घिमिरेको भनाइ छ । “पानी बन्दै पर्न छाड्यो”, उहाँले भन्नुभयो, “खेतमा पटाउन नहर कुलोको सुविधा छैन । आकाशको पानीको भर हो । यस वर्ष यस्तै होला जस्तो छ ।” झण्डै डेढ बिघा खेतमा वर्षामा अकासे पानी र हिउँदमा डिपबोरिङको भरमा उहाँले खेती गर्दै आउनुभएको छ ।

“डिपबोरिङले सुक्खा समयमा खेतमा पानी भरेर धान रोप्न सकिँदैन”, घिमिरेले भन्नुभयो, “सामान्य तरकारी वा अन्य बालीको जराजरामा हाल्नमात्र पुग्छ ।” समयमै वर्षात् नहुँदा बीउ राख्न नपाएका किसान फेरि धान रोप्ने समयमा पानी नपर्दा समस्यामा छन् । यसरी समय घर्किएर रोपेको धानले राम्रो उत्पादन दिनेमा समेत किसानहरूलाई शङ्का छ ।

गत वर्ष यही समयमा ८० प्रतिशत धान रोपाइँ सकिएको सर्लाहीमा यस वर्ष मुस्किलले ३५ प्रतिशत पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताउनुभयो । धान रोपाइँ ढिलो हुनुमा सिँचाइ प्रमुख कारण रहेको उहाँको भनाइ छ । “अर्कातर्फ धेरै किसानले समयमा बीउ राख्न पाएनन्”, उहाँले भन्नुभयो, “राखेको बीउ धेरैको खडेरीले खायो, फेरि राखेको तयार हुन बाँकी छ ।”

यसले धानको उत्पादनमा समेत ह्रास आउने उहाँले बताउनुभयो । जिल्लाको बागमती, बरहथवा, धन्कौल, हरिवन, लालबन्दी, हरिपुरलगायत सिँचाइ सुविधा भएका केही क्षेत्रमा मात्र रोपाइँ भएको प्रमुख कुशवाहाको भनाइ छ । सिँचाइ सुविधा नभएका स्थानका किसान पानी नभएको भन्दै छट्पटाइरहेका छन् । यस क्षेत्रमा बागमती, सोती, मनुसमारालगायतको सिँचाइको व्यवस्था छ ।

छयालीस हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा झण्डै आधा ५० प्रतिशत भूभागमा सिँचाइको सुविधा पुगेको छैन । यस क्षेत्रका किसान सधैँ अकासे पानीका भरमा खेती गर्छन् । इनार, डिपट्युबेल, रोअलपम्पबाट अन्य खेती गर्ने गरेका भए पनि धान रोप्न सम्भावना नरहेको किसानको भनाइ छ । मानो रोपेर मुरी फलाउने र वर्षभरिको अन्नको गर्जो टार्ने योजना तुहिने चिन्ता रहेको बागमती नगरपालिका–११ का किसान शङ्कर सापकोटाको भनाइ छ ।

यसैबीच यस वर्ष प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुक्खाग्रस्त क्षेत्र घोषणासँगै सङ्घ सरकारसँग सोहीअनुसारको राहत माग गर्ने निर्णय प्रदेशस्तरको मन्त्रिस्तरीय बैठकले गरेको छ । किसान भने सुक्खाग्रस्त क्षेत्र घोषणाले के हुन्छ भन्ने कुरामा अन्योलमा देखिएका छन् ।

जैमिनी बाढीः तीन सय रोपनी खेत बन्यो बगर

बागलुङ-जैमिनी नगरपालिका–४ निवासी डम्मरबहादुर सार्कीको जैमिनी नगरपालिका–१० सहेला फाँटमा रहेको नौ रोपनी धान लगाइएको खेत बाढी पसेर बगर बन्यो ।

भर्खरै रोपेको धानसहितको खेत बाढीका कारण सखाप भएपछि सार्कीको निद्रा छैन । खेतमा कालुङखोला पसेपछि खेत बगरमा पणित भएको उहाँको भनाइ छ । असार २४ गते राति कालुङ्खोलाको जलविद्युत् बगाउने गरी आएको बाढीले भर्खर धान रोपेको खेत कटान गर्नुका साथै बगर बनेको सार्कीको भनाइ छ ।

सार्कीको मात्र होइन, कालुङखोला र ठेउलेखोलाको क्षेत्र नगरपालिका वडा नं १०, वडा नं ९ र वडा नं ४ मा रहेको भर्खर धान लगाइएको खेत बगर बनेको हो । जैमिनी नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति जैमिनी नगरपालिका–९ पैयुथन्थापमा भएको छ ।

पैयुथन्थापमा मात्र एक सय ५० रोपनी धानखेत बगर बनेको जैमिनी नगरपालिका कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार अहिले नगरपालिकाको कृषि प्राविधिक, इञ्जिनियर र जनप्रतिनिधिको सक्रियतामा तथ्याङ्क सङ्कलन भएको छ ।

उहाँले नगरपालिकाभर तीन सय रोपनी धान लगाइएको खेत बाढीले क्षति पुर्याएको अनुमान गरिएको बताउँदै अहिले सम्म एक सय ५० रोपनी धानखेतको क्षति भएको तथ्याङ्क सङ्कलन गरिएको छ । अहिले जैमिनी नगरपालिका–९ मा मात्र एक सय ५० रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको र ५० रोपनी जग्गा पुनः खेतमा फर्काउनै नसक्ने गरी नदीले कटान गरेको सापकोटाले बताउनुभयो ।

अविरल बर्षाका कारण असार २४ गते मङ्गलबार राति आएको बाढीले जैमिनी नगरपालिकाको कालुङखोला र ठेउलेखोला आसपासको धानखेत बगरमा परिणत गरेको र रु एक अर्बभन्दा बढीको क्षति पुर्याएको हो । कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको छ ।

एउटा जलविद्युत्गृह बगाएको, झण्डै तीन सय रोपनी खेतमा क्षति पुर्याएको र नौवटा सिँचाइ कुलोमा क्षति पुर्याएको जैमिनी नगरपालिकाले जनाएको छ । जलविद्युत् आयोजना बाढीले बगाउँदा पैयुथन्थापका एक सय २२ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । जैमिनी नगरपालिकाले क्षतिको विवरण सङ्कलन गरिरहेको बताउँदै क्षतिको मूल्याङ्कनका आधारमा राहत दिने नगरप्रमुख नरबहादुर पुनले जानकारी दिनुभयो ।

“तत्कालका लागि धान रोप्न लाग्ने लागत किसानलाई दिनेगरी नगरपालिकाले तयारी गरेको छ, रोपनीका हिसाबले किसानलाई राहत दिने, कुलो मर्मत गर्ने कार्य तत्कालै गर्दछौँ”, नगरप्रमुख पुनले भन्नुभयो, “किसानको खेतको क्षतिपूर्ति दिन त नगरपालिकाले नसक्ला तर यसपटक धान उब्जनीमा हुने गिरावटलाई ध्यानमा राखेर राहत दिने तयारीमा छौँ, सिँचाइ कुलो मर्मतमा नगरपालिकाको ध्यान जान्छ ।”

Facebook Comments