एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर/यहाँको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै गरेको वा प्र ०३००१ ह १५०७ नं अटोबाट १२१ किलो ४६६ मिलिग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मकवानपुरको कैलाश गाउँपालिका–५ बस्ने वर्ष २१ का सानु कान्छा थिङ र अटो चालक थाहानगरपालिका–४ बस्ने वर्ष २९ को घनश्याम वल लामालाई प्रहरीको विशेष टोलीले अटोसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता बोगटीका अनुसार पालुङ र चित्लाङबाट खटिएको संयुक्त टोलीले अटोभित्र रहेको १२ वटा रबरको डिब्बाभित्र लुकाई ल्याएको चरेस फेला पारेको हो ।

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने
काठमाडौँ/काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारणसभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ ।

ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यस अघि निर्देशन दिइसकेको छ । कामपा सहकारी विभाग प्रमुख महेशकुमार काफ्लेका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खोरेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भएको हो ।

खारेजीको प्रक्रियामा आउने कुनैपनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि एकीन हुनुपर्ने जनाइएको छ । कामपाले दुई महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनीसमेत दिइसकेको छ । हाल कामपामा करिब एक हजार नौ सय सहकारी सञ्चालनमा छन् ।

Facebook Comments