उसको खेती

कविता

ऊ खुर्सानी रोप्छ
र गोलभेडाको आशा गर्छ
ऊ धानको फूल लाही ठान्छ
फूल सोत्तर बनाउँछ
र भकारी भर्ने सपना फुलाउँछ

 

ऊ दिनमा म्यारिज नारिरहन्छ
गोरु भोकै राख्छ
हलो तान्न सक्तैनन् बिचरा गोरुहरू
बेस्कन पिटिरहन्छ
ऊ कहिल्यै हाल्दैन पानी
पीपलका रुखहरूमा
र छहारी खोजिरहन्छ

 

ऊ नाच्न जान्दैन
र आँगनलाई दोष दिइरहन्छ
ऊ हिड्न जान्दैन
र बाटोलाई गाली गरिरहन्छ
ऊ रोप्न जान्दैन
र माटोलाई दोष दिइरहन्छ

 

ऊ हावापानी चिन्दैन
र अन्न नफलेको झोंकमा
घाम र पानीलाई आँखा तरिरहन्छ
मौसमलाई एकोहोरो सरापिरहन्छ
ऊ बेमौसमी खेती गर्छ
र मौसमी फल खोजिरहन्छ
ऊ टेक्न जान्दैन
र लौरो भाँचिरहन्छ
ऊ बोल्न जान्दैन
र जिब्रोलाई गाली गरिरहन्छ

 

ऊ एक रात राँको बाल्छ
र दिन उसैले बनाएको ठानीरहन्छ
बस्
ऊ नगर्ने काम गरिरहन्छ
गर्ने काममा अल्मलिरहन्छ
घोरताप्रे खेती गरेर
बकुलाको आशा गरिरहन्छ
बिरबलको खिचडी पकाई रहन्छ
बस् दुनियाँ हँसाई रहन्छ
बस् दुनियाँ हँसाई रहन्छ !!

Facebook Comments